काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया आज शुक्रबारदेखि शुरु भएको छ। महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा वडा अविधेशन हुनुपर्नेमा शुक्रबार ३५ जिल्लामा मात्रै अधिवेशन भएको छ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार ५६ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिएकोमा बाँकीमा २३ गतेभित्र वडा अधिवेशन हुने गरी मिति तय गरिएको छ। क्रियाशील सदस्यता सार्वजनिक भएका २१ जिल्लाको वडा अधिवेशन भदौ २३ भित्र हुने निर्वाचन समितिले जनाएको छ।
२१ जिल्लाको क्रियाशील सदस्यता अझै टुंगिएको छैन। ती जिल्लाका वडा अधिवेशन कहिले गर्ने भन्नेमा अन्यौलता कायमै रहेको निर्वाचन समितिले जनाएको छ। केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुने गरी कांग्रेस केन्द्रीय कार्यसमितिको साउन ३० को बैठकले कार्यतालिका सार्वजनिक गरेको हो।
नेपाली कांग्रेसको आशन्न महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटको पेशी आइतबारलाई तोकिएको छ।
कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिटमा तोकियो पेसी
बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले दायर गरेको रिट निवेदन दर्ता भएर पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ। कोरोना संक्रमणका कारण महाधिवेशन गर्न नहुने र कानुनी रूपमा कांग्रेसको वैधता २०७९ साल जेठ ३० गतेसम्म कायम रहने तर्कसहित वैद्य सर्वोच्च अदालत पुगेका हुन्।
कांग्रेसको महाधिवेशनले कोरोना नफैलाओस्, कोरोना व्यवस्थापन भइसकेपछि सबै नेपालीले भ्याक्सिन लगाइसकेपछि अनि भव्यताका साथ नेपाली कांग्रेसको महाधिवेशन गरौं भनेर सर्वोच्चमा रिट हालेको वैद्यले बताए। एमाले र माओवादीको महाधिवेशन नभएको पनि धेरै समय भएकाले कांग्रेसमात्रै अवैध हुन्छ भन्न नमिल्ने तर्क उनले रिट निवेदनमा गरेका छन्। कांग्रेसको वर्तमान कार्यसमिति ०७३ मंसिर ३० गतेदेखि गणना हुने वैद्यको जिकिर छ। ५ वर्ष नाघेको कुरा व्यवहारिक भएको उनको भनाइ छ।
एमाले पुन सरकारमा फर्कने प्रदीप ज्ञवालीको दाबी
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले आगामी निर्वाचनपछि आफ्नो पार्टी फेरी सरकारमा फर्कने दावी गरेका छन्। तत्कालका लागि परमादेशबाट आफूहरु सरकारबाट हटनु परेको उल्लेख गर्दै ज्ञवालीले जनादेशको माध्यामबाट फेरी आफनो पार्टी सरकारमा फर्कने बताएका हुन।
नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीले शुक्रबार लगनखेलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले स्थानीय तहको निर्वाचन, प्रदेश तहको निर्वाचन र संघीय तहको निर्वाचनको तयारीमा जुट्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे।
प्रवक्ता ज्ञवालीले भूमि सम्बन्धि आयोग विघटन गरेको, दल फुटाउनेजस्ता लोकतन्त्र विरोधी गतिविधि गरेको, मन्त्रीपरिषदलाई अझै पूर्णता दिन नसकेको भन्दै सरकारको चर्को आलोचना गरे। उनले लिपुलेक नेपाली भूमिलाई समस्याको रुपमा चित्रण गरेर न्यूनतम साझा कार्यक्रम ल्याएको भन्दै सत्तारुढ दलहरुप्रति पनि आक्रोश व्यक्त गरेका छन्।
निर्दोष दुई सैनिक रिहा
सर्ट मेसिन गन (एसएमजी) चोरीको झुटो आरोपमा साढे दुई वर्षदेखि जेल सजाय काटिरहेका दुई सैनिक रिहा भएका छन्। सर्ट मेसिन गन (एसएमजी) चोरीको झुठो अभियोगमा जेल सजाय काटिरहेका सैनिक अमल्दार लबकुमार गुरुङ र सिपाही सरोज तामाङलाई निर्दोष ठहर गर्दै सैनिक विशेष अदालतले रिहा गर्न आदेश दिएसँगै उनीहरु रिहा भएका हुन्।
जेलमुक्त भएपछि सैनिकद्वयलाई चितवनको भरतपुर कारागारबाट सेनाको गाडीमा राखेर कारागारबाट गण लगिएको छ। सैनिक परिवारले भने आफ्ना परिवारका सदस्यलाई झुटो आरोप लगाइएर साढे दुई वर्ष जेलमा राखेपछि पनि तीन वर्ष बढुवा रोक्का गर्ने फैसला गरिएकाको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
सैनिक विशेष अदालतको पाटन उच्च अदालतका न्यायाधीश सैनिक विशेष अदालतका अध्यक्ष लोहितचन्द्र शाह, नेपाली सेनाका कानुन विभाग प्रमुख उपरथी रत्नप्रकाश थापा र रक्षासचिव बेगेन्द्रराज शर्माको बिहीबार बसेको संयुक्त इजलासले उनीहरुलाई रिहा गर्न आदेश दिएको थियो।
पहिरोले पर्वतमा १० को मृत्यु
अविरल वर्षाका कारण आएको पहिरोमा पुरिएर पर्वतमा १० जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेमा एकै परिवारका ५ जना रहेका छन्। बिहीबार राति २ बजे गएको पहिरोमा पुरिएर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार कुश्मा नगरपालिका–३ दुर्लुङमा गएको पहिरोले माधव शर्माको घर पुरिँदा परिवारकै ५ जनाको मृत्यु भएको हो।
उनकी ७५ वर्षकी आमा कौशिला पौडेल, श्रीमती ३५ वर्षकी भगवती, दुई छोरीहरु १६ वर्षकी विमला, ११ वर्षकी विनिता र ९ वर्षीय छोरा विनोदको मृत्यु भएको छ। यसैगरी कुश्मा–११ पकुवा ताल्चेमा शुक्रबार बिहान ९ बजेतिर आएको पहिरोले घर पुर्दा ४० वर्षीया मायाकुमारी पौडेल र उनका ३ वर्षका छोरा प्रयुशको मृत्यु भएको छ।
प्रहरीका अनुसार मायाकुमारीकी सासू ७० वर्षकी डल्लीपाध्या पौडेल पहिरोमा बेपत्ता भएकी छन्। साथै पर्वतकै मोदी गाउँपालिका–५ आम्बोटमा पहिरोले पुरिएर ५० वर्षकी फूलमाया थापाको मृत्यु भएको छ। यस्तै कुश्मा–११ सिल्मीमा मनिलाल पौडेलको घरमा पहिरो आउँदा पाहुना आएकी पर्वतकै मोदी गाउँपालिका–७ की ३८ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेशको पनि मृत्यु भएको छ।
सडक आयोजनामा नयाँ ठेक्का लगाउन रोक
सरकारले पूर्वतयारी नभएको र स्रोत पनि सुनिश्चित नभएका झण्डै २ हजारभन्दा बढी सडक आयोजनाको नयाँ ठेक्का लगाउन रोक लगाएको छ।
केपी शर्मा ओली नेतृत्वको सरकारले पूर्वतयारी नगरी ठूलो आर्थिक दायित्व सिर्जना हुने गरी आयोजना अघि बढाएको अर्थ मन्त्रालयको निष्कर्ष छ। मन्त्रालयका अनुसार २२ साउनमै पुनर्प्राथिमिकीकरण गर्नुपर्ने भन्दै पूर्वतयारी नसकिएका आयोजनाहरु रोक्ने निर्णय गरेको थियो।
त्यसका आधारमा सडक विभाग र स्थानीय पूर्वाधार विभाग मातहत प्रस्ताव गरिएका २ हजारभन्दा बढी सडक आयोजनाहरुको नयाँ ठेक्का लगाउन नसकिने भएको हो। अर्थ मन्त्रालयको निर्देशनअनुसार सडक पूर्वाधार विकास कार्यक्रम र तराई–मधेस सडक विशेष कार्यक्रमका १४१० वटा सडक आयोजनामा तत्काल नयाँ ठेक्का नलाग्ने सडक विभागको भनाई छ।
भूमिहीनलाई जग्गा वितरण चुनौतीपूर्ण
संवैधानिक व्यवस्था अनुसार भूमिहिनलाई राज्यले एकपटकको लागि जग्गा दिने विषय कार्यान्वयनका लागि चुनौतीपूर्ण रहेको सांसदहरुले बताएका छन्। शुक्रबार विधायन व्यवस्थापन समितिको बैठकमा दलित समुदाय र भुमि अधिकारको सम्बन्धमा रहेका कानूनी प्रावधानहरुको विषयमा छलफल गर्दै सांसदहरुले भूमिहीनलाई राज्यले जग्गा दिने विषय चुनौतीपूर्ण रहेको बताए।
बैठकमा बोल्दै सांसद डा. विमला राई पौड्यालले भुमि दिने विषय प्राविधिक भन्दापनि राजनीतिक विषय भएकाले धेरै आयोगहरु बन्ने र खारेज हुने गर्नाले भुमि सम्बन्धी समस्या तत्कालै समाधान हुन नसक्ने बताए।
सांसद बेदुराम भुसालले राज्यले जमिन बाड्ने मात्रै कुरा गरेको र जमिन कहाँबाट ल्याउने भन्ने कुरा स्पष्ट नभएको उल्लेख गर्नुभयो। जनसंख्या बढीरहेको तर जमिन भने नबढ्ने भन्दै उनले जमिन बाँडने कुरा चुनौतीपूर्ण रहेको बताए।
समिति सभापति परशु राम मेघी गुरुङले विधायन व्यवस्थापन समितिमा भूमिहिनलाई एकपटक राज्यले जमिन उपलब्ध गराउने भन्ने व्यवस्था अनुरुप कानून पनि बनिसकेको अवस्थामा सो कानूनको कार्यान्वयन र कार्यान्वयनको समस्याको सम्बन्धमा समितिमा छलफल भएको जानकारी दिदैँ आगामी दिनमा थप अध्ययन गरेर समितिको तर्फबाट सरकारलाई आवश्यक सिफारिस गर्ने बताए।
२३ संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट १ हजार ३५७ जना र एन्टिजेन परीक्षणबाट ३९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। २४ घण्टामा जम्मा १४ हजार ३३४ परीक्षण भएको छ मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार २७४ जना कोरोना संक्रमणमुक्त भएका छन्।
कोरोनाबाट २३ जनाको मृत्यु भएको छ। बिहीबार देशभर ३३ हजार ६ जना सक्रिय संक्रमित छन्। हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख २३ हजार ४५६ पुगेको छ भने मृत्यु हुनेको संख्या १० हजार ८०९ पुगेको छ।
तुइन घटनाको विरोधमा मोदीको पुतला दहन
दार्चुला घटनाको विरोधमा नेकपा एकीकृत समाजवादीसम्वद्ध विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन्। विद्यार्थीहरुले शुक्रबार रत्न राज्य क्याम्पस, प्रदर्शनीमार्गमा प्रदर्शन गर्दै मोदीको पुत्ला जनाएका हुन्। उनीहरुले जयसिंह धामीलाई न्याय दे, सीमा अतिक्रमण बन्द गर्, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाएका थिए।
१५ साउनमा भारतीय सीमा सुरक्षा बल –एसएसबी)ले तुनइको तार काटिदिँदा दार्चुलाको ब्याँस गाउँपालिका– २ का जयसिंह धामी महाकाली नदीमा खसेका थिए। घटनाबारे छानविन गर्न बनाएको समितिले हालै बुझाएको प्रतिवेदनमा पनि एसएसबीको उपस्थितिमा घटना भएको उल्लेख छ।
तीजमा पशुपति खुल्ने
तीजमा पशुपतिनाथको दर्शन गर्न पाइने भएको छ। कोरोना भाइरस महामारीका कारण बन्द रहेको पशुपतिनाथ मन्दिरमा नियमित दर्शन एवं पूजा खुला गर्ने तयारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति क्षेत्र विकास कोषलाई आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर मन्दिरमा पूजा खुला गर्न सकिने जनाएको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्ति जारी गरी स्वास्थ्य मापदण्ड अपनाएर मन्दिरमा पूजाआजा गर्न सकिने जनाएको हो।
यस्तै भोलि शनिबारबाट चन्द्रगिरी केबुलकार सञ्चालनमा आउने भएको छ भने मनकामना केवुलकार आइतबारबाट सञ्चालमा आउने भएको छ।
अब अन्तर्राष्ट्रिय समाचार
अमेरिकाको न्यूयोर्क र न्यूजर्सीमा आएको शक्तिशाली इडा आँधीबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ। उत्तर पूर्वी अमेरिकी राज्यहरुमा अहिलेसम्मकै ठूलो वर्षाका कारण लाखौँ मानिस प्रभावित भएका छन् भने सडक र बस्ती जलमग्न भएका छन्। न्यूजर्सीका गभर्नर फिल मर्फीका अनुसार न्यूजर्सीमा मात्रै कम्तीमा २३ जनाको मृत्यु भएको छ। न्यूयोर्क शहरमा दुई वर्षको बच्चासहित कम्तीमा १४ जनाले ज्यान गुमाएका छन्।
आँधीसँगै भइरहेको भीषण वर्षाका कारण न्यूजर्सीका सबै २१ वटै काउन्टीमा आपतकाल घोषणा गरिएको छ। मौसम विभागले बाढीबाट हुने क्षति अझै बढ्न सक्ने चेतावनी दिएको छ। यसैबीच राष्ट्रपति जो बाइडेनले जलवायु संकटबाट जोगिनका लागि ऐतिहासिक लगानी आवश्यक रहेको बताएका छन्। देशभरी जलवायुसँग सम्बन्धित विनाश देखिएको भन्दै बाइडेनले यसबाट मुक्ति पाउनु ‘जीवन र मृत्युसँग जोडिएको विषय भएको उल्लेख गरेका छन्।