काठमाडौं- अफगानिस्तानबाट हालसम्म ८६० नेपालीको उद्धार गरिएको छ। बिहीबार राति दुई र शुक्रबार एक जना काठमाडौँ आइपुगेपछि उद्धार गरिएका नेपालीको संख्या ८६० पुगेको हो।
काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेकाहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि उक्त मन्त्रालयले बताएको छ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार प्रक्रिया पूरा गरी उनीहरूको व्यवस्थापन गरिएको छ। अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको ‘अनलाइन पोर्टल’ तथा विभाग, परराष्ट्र मन्त्रालय, मन्त्रालयको ‘सिचुएशन रुम’ र नयाँदिल्लीस्थित नेपाली दूतावासमा आफ्नो नामसहितको विवरण दर्ता गराउन पनि मन्त्रालयले अनुरोध गरिएको छ। -रासस