काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले दैनिक उपभोग्य वस्तुहरूको उत्पादन गर्ने उद्योगको स्थापना तथा सञ्चालनमा अन्तर्राष्ट्रिय वित्त निमग (आइएफसी) सँग सहकार्य गर्न चाहेको बताएका छन्।
बिहीबार आइएफसीसँग भएको भर्चुअल बैठकमा उनले वर्तमान सरकार नेपालको अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने दिशातिर अग्रसर भएकाले यस्ता कुरामा लगानी बढाउन आग्रह गरेका हुन्।
दैनिक उपभोग्य वस्तुको स्वदेशमै उत्पादन गरेर आयातलाई घटाउने सरकारको मुख्य लक्ष्य रहेको बताउँदै उनले त्यस्ता उद्योग सञ्चालनका लागि आइएफसीसँग सहकार्य गर्न सकिने बताए।
‘दैनिक उपभोग्य वस्तुहरूको उत्पादन गर्ने उद्योगमा हाम्रो प्राथमिकता छ,’ मन्त्री शर्माले भने, ‘यस्ता उत्पादनबाट आयातलाई घटाउनु हाम्रो मुख्य उद्देश्य रहेको छ।’
मन्त्री शर्माले सकारको ध्यान कोभिड–१९ महामारीपछि अर्थतन्त्रको पुनरुत्थानमै रहेकाले यसमा आवश्यक सहयोग गर्न आइएफसीलाई आग्रह गरे। आइएफसीको ज्ञान र अनुभव नेपालमा साना तथा मझौला उद्योग स्थापनाका लागि फलदायी हुने उनको धारणा थियो।