काठमाडौं- नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालले भदौं २३ गते अघि मन्त्रिपरिषद विस्तार हुने सम्भावना नरहेको बताएका छन्।
अध्यक्ष नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट भएपनि त्यसबारे छलफल नभएको बताएका थिए। नेपाल र प्रचण्डबीच बिहीबार बिहान भेटवार्ता भएको थियो।
सिंहदबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्ने क्रममा उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा २३ गतेसम्म त मन्त्रिपरिषद विस्तारका बारेमा कसैले चुइक्क पनि नबोल्ने उल्लेख गरे।
सत्तारुढ दलभित्रको विवादका कारण मन्त्रिपरिषदले पूर्णता पाउन नसकेको चर्चा भईरहँदा अध्यक्ष नेताले मन्त्रिपरिषद विस्तारका विषयमा उपयुक्त समयमा मात्रै सत्तारुढ दलहरुबीच छलफल हुने प्रतिक्रिया समेत दिए।
‘मन्त्रिपरिषद् विस्तारका विषयमा २२/२३ गतेसम्म त कसैले पनि चुईक्क बोल्दैन। त्यस बारेमा अहिले केही चर्चा हुँदैछ। हामी त्यसका लागि पनि उपयुक्त समयमा छलफल गर्नेछौं,’ उनले भने।
अध्यक्ष नेपालले केपी ओलीको भ्रममा नपर्न पनि पार्टीका प्रदेश सभाका सांसदसहितका जनप्रतिनिधिहरुलाई आह्वान गरे। केपी ओली र उहाँका मान्छेहरुले दश बूँदे सहमतीको भ्रमपूर्ण व्याख्या गरिरहेको उल्लेख गर्दै उनले त्यसको भ्रममा नपरी आफ्नो पार्टीमा आउन पनि एमालेका नेता, कार्यकर्तालाई आग्रह गरेका थिए।
अध्यक्ष नेपालले आफ्नो पार्टीले माओवादी केन्द्रसँग एकता नगर्ने पनि दोहोर्याएका थिए। क्रान्तिकारी विचारको आधारमा निर्माण भएको आफ्नो पार्टी माओवादी केन्द्रसँग विलिन हुने भ्रम नछर्न पनि सचेत गराए।