काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदातलको फैसला प्रभावित पार्नकै लागि मात्र १० बुँदे समझदारी आएको टिप्पणी गरेका छन्।
तत्कालीन प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार २८ गते सर्वोच्च अदालतले फैसला सुनाउने मिति तोकेपछि २७ गते राती १० बजे १० बुँदे समझदारीका नाममा भ्रम फैलाउन खोजिएको बताएका हुन्।
एकीकृत समाजवादी संसदीय दलको नेताका रूपमा पदभार ग्रहणका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले १० बुँदे समझदारीको भ्रममा नपर्न प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि, र कार्यकर्तालाई आग्रह गरेका थिए।
'२७ गते राति १० बजे त्यति राति १० बुँदे सम्झौता गर्न केको बाध्यता थियो? त्यो २८ गतेको सर्वोच्च अदालतले गर्न लागेको फैसला प्रभावित पार्ने कुनियत मात्र थियो,' उनले भने। १० बुँदे समझदारीको प्रस्ताव अधुरो भएको सबैले बताए पनि रातिराति आफू निकटका नेताहरूले समझदारी गरेको उनको भनाइ थियो।
'प्रदेश सांसद, जनप्रतिनिधि र कार्यकर्तालाई १० बुँदेको भ्रममा नपर्न आह्वान गर्न चाहन्छु। यो ओलीको हुर्मत लिने योजना हो। त्याँ (एमालेमा) छिराउने र हुर्मत लिने,' नेता नेपालले भने, 'ओलीमा गल्ती गरेको स्वीकारोक्ति छैन। ओली सुध्रने लक्षण देखिन्न। त्यसको भ्रममा नपर्न आह्वान गर्छु।'
उनले आफूहरू माओवादीसँग पार्टी एकता गर्ने भ्रम फैलाइएको समेत आरोप लगाएका थिए। यस्तै नेता वामदेव गौतसमसँग पनि कुराकानी भइरहेको उनले बताए।