काठमाडौं- नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले पार्टीको नेतृत्व लिन युवा पुस्ता सक्षम भइसकेको बताएका छन्। कांग्रेसको १४औँ महाधिवेशनका लागि आफ्नो उम्मेदवारी घोषणा गर्दै नेता गुरुङले यस्तो बताएका हुन्।
‘युवाहरु आएर नेतृत्व गर्न किन डराइरहेका छन्? किन युवाहरुबाट नेतृत्व आउँदैन? के हामी सक्षम छैनौँ त? हामी योग्य छैनौँ त? भन्ने दबाव देशभरबाट आउन थालेपछि मैले सल्लाह प्रारम्भ गरेको थिएँ। म देश घुम्न थालेँ। म जिल्ला जिल्ला घुम्न थालेँ। जिल्ला घुम्दा गाउँगाउँका विभिन्न साथीहरुसँग भेट भयो। त्यहाँ नयाँ पुस्ताले नेतृत्व गर्नुपर्छ भन्ने आवाज आयो,' उनले भने, 'पत्रकार साथीहरुको बीचमा म औपचारिक रुपले घोषणा गर्दछु कि नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा अब नयाँ पुस्ता सक्षम भइसकेको छ। नयाँ पुस्ता योग्य भइसकेको छ। नयाँ पुस्ता पार्टीको नेतृत्व गर्न पनि सक्षम छ। योग्य छ। देशको नेतृत्व गर्न पनि सक्षम छ। नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा म कल्याणकुमार गुरुङ केन्द्रीय सभापतिको उम्मेद्वारीको घोषणा गर्न चाहन्छु।’
केन्द्रीय सदस्य गुरुङले सभापतिमा निर्वाचित भएपछि किसान, दलित जनजाती, आदिवासी, मुस्लिम संघ, थारु संघ सबै समुदायलाई समेटेर नेपाली काँग्रेसलाई समावेशी पार्टी बनाउने बताए। उनले नेपाली कांग्रेस भित्र सबैले न्यायको अनुभूति, न्याय, राजनीतिक सुरक्षा प्राप्त गर्ने पार्टीको रुपमा वातावरण सिर्जना गर्ने बताए। पार्टीको सभापति बनेमा नेपाली काँग्रेसबाट समानुपातिक सांसद एकपटकको लागि मात्र हुने वैधानिक व्यवस्था गर्ने र देशको संविधानमा पनि दुई पटक मात्रै मन्त्री र प्रधानमन्त्री हुने पहल गर्ने पनि उनले बताए।
‘पार्टीमा आउने नेविसंघ, आदिवासी, जनजाती, मुस्लिम संघका साथीहरु, थारु संघका साथीहरु, जतिपनि हुनुहुन्छ, खस, आर्य, लगायत पिछडीएको क्षेत्र, सबै समुदायलाई म समेटेर नेपाली काँग्रेसलाई समावेशी पार्टी बनाउँछु। नेपाली काँग्रेस भित्र न्यायको अनुभूति कसरी गर्न सक्छन्, कसैले अवसर पाएको पाइ छ, कसैले पुस्तौँ पुस्तादेखि लागेर पनि कुनै अवसर पाएका छैनन्। म नेपाली काँग्रेसको सभापति भएँ भने नेपाली काँग्रेसमा सबैले न्याय प्राप्त गर्ने, सबैले राजनीतिक सुरक्षा प्राप्त गर्ने वातावरण, त्यो प्रकारको नीतिहरु निर्माण गर्दछु। त्यो प्रकारको वैधानिक व्यवस्था गर्दछु। नेपाली काँग्रेसबाट समानुपातिक सभासद जो बन्नुहुन्छ। त्यो एकपटकको लागि मात्रै हुने वैधानिक व्यवस्था गर्दछु। नेपाली काँग्रेसको विधानमा मात्रै होइन,' उनले भने, 'देशको संविधानमा नै समानुपातिकबाट सांसद हुने व्यक्ति एकपटक मात्रै हुन पाउनुपर्छ त्यो किसिमको संवैधानिक व्यवस्था गर्न म नेपाली काँग्रेसको सभापति भइसकेपछि म पहल गर्छु, दुई पटक मात्रै मन्त्री र दुई पटक मात्रै प्रधानमन्त्री हुने संविधानमा व्यवस्था गर्दछु।’
केन्द्रीय सदस्य गुरुङले अहिले ६० वर्ष र त्यो भन्दा कम उमेरको केन्द्रीय सभापतिको दाबी गर्ने आफू मात्रै भएको भन्दै अन्य साथीहरुले पनि केन्द्रीय सभापतिको दाबी गरे आफू खुशी हुने बताए। उनले नेपाली काँग्रेसको केन्द्रीय सभापति भनेको भोलि देशको वैकल्पिक प्रधानमन्त्री भएकोले सभापतिको दाबी गर्दा यसलाई मनन गरेर मात्रै दाबी गर्नुपर्ने उल्लेख गरे।