काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्माले दुवै पदबाट राजीनाामा दिएका छन्। दलित समुदायमाथि कांग्रेसको निर्वाचन निर्देशिकाले अन्याय गरेकाले आफूले राजीनामा दिएको उनले बताएका छन्।
'अन्याय भएपछि कसैको घर घेर्न र ढुंगामुडा गर्न मिलेन। अन्याय सहेर बस्न पनि सकिएन। त्यसैले राजीनामा दिने निष्कर्षमा पुगेको हुँ,' नेपाल समयसँग उनले भने, 'पार्टीका मुख्य सचिव र सचिवहरू कामका शिलशिलामा कार्यालय बाहिर हुनुहुन्छ। कार्यालका कर्मचारी कृष्ण रिजाललाई राजीनामा बुझाएको छु। सभापति र प्रवक्तालाई जानकारी दिएको छु। हामी धर्नामा बसेका छौं।'
यस्तो छ विश्वकर्माको राजीनामा
नेपाली कांग्रेस पार्टीले स्थापना कालदेखि अभ्यास गर्दै आएको जातीय, क्षेत्रीय, लिङ्गीय समावेशीतालाई नबौं महाधिवेशनदेखि क्रमशः स्थानीय बडा तहदेखि केन्द्रीय तहसम्म प्रयोग गर्दै आई एघारौं, बाढौ र तेह्रौ महाधिवेशनमा विधान बमोजीमनै प्रत्येक वडाबाट न्यूनतम ५ मा १,७ मा १ र ९ मा १ जना र प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ११ मा १ जना दलित महाधिवेशन प्रतिनिधि हुने सुनिश्चित प्रावधान गरेको थियो । जसको आधारमा कम्तीमा जम्मा जनसंख्याको ८.५ प्रतिशत दलित प्रतिनिधित्व हुँदै आएको थियो ।
वर्तमान विधानको गलत व्याख्या गर्दै वनाइएको असमावेशी निर्वाचन निर्देशिकाका अतिरिक्त जालझेल पूर्ण तरिकाबाट बिना छलफल लागु गरिएको भनिएको निर्वाचन निर्देशिकाले उपत्यका लगायत मुलुकभरका दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा पूर्णतः निशेध गर्ने देखिएको छ।
तर पार्टीमा सधै बर्चश्व रहेको जाती, वर्ग, समुदायको सहभागिता र प्रतिनिधित्वको दर भने वृद्धि भएको देखिन्छ । एघारौं महाधिवेशन सम्माननीय सभापतिज्यू आफैले प्रारम्भ गर्नु भएको 'कदमजम' सिद्धान्तको खिल्ली उडाएको छ। यसरी षड्यन्त्र मुलक ढंगबाट दलित समुदायलाई अपमान र अन्याय हुनेगरि लागु गरिने निर्वाचन निर्देशिका नेपाल दलित संघका लागि मान्य हुन सक्दैन। यो प्रवृत्तिले नेपाली कांग्रेस पार्टीमा दलित समुदायको सहभागिता केही समय पश्चात नै शुन्य हुने देख्दा देख्दै पनि यस पार्टीको म एक जिम्मेबार सदस्य र यसै पार्टीको सम्बन्धित समुदायलाई संगठित गर्ने भात संस्था नेपाल दलित संघको केन्द्रीय अध्यक्ष हनको नाताले यस्तो त्रुटिपूर्ण, अव्यवहारिक एवं अन्यायपूर्ण नीति नियम लागु हुंदा टुलुटुलु हेरेर बस्न नैतिक रुपले नमिल्ने र नसक्ने भएकोले आजैका मिति देखि लागु हुनेगरि उल्लेखित दुवै पदबाट राजीनामा गरेको छु।
साथै, पार्टीको सिद्धान्त, नीति र आदर्श प्रति प्रतिवद्धरहि न्याय, समानता र स्वतन्त्रताकालागि सधैव लडी रहने प्रण गर्दछु । जयनेपाल !