काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। बुधबार पत्रकार सम्मेलन गरेर नेता गुरुङले आसन्न १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने घोषणा गरेका हुन्। गुरुङ नेविसंघका पूर्वअध्यक्षसमेत हुन्। पार्टीमा उनी रामचन्द्र पौडेल समूहमा छन्।
पत्रकार सम्मेलनमा गुरुङले नेता कार्यकर्ताको मागअनुसार उम्मेदवारी दिएको र चाँडै आफ्नो टिम सार्वजनिक गर्ने बताए। यसअघि कांग्रेस सभापतिमा उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी घाेषणा गरिसकेका छन्। उनले सम्पर्क कार्यालयसमेत खोलिसकेका छन्। महामन्त्रीमा गगन थापाले उम्मेदवारी घोषणा गरेका छन्।
वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एकपटक नेतृत्वमा दोहोरिने इच्छा देखाएका छन्। महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसमा धमाधम उम्मेदवारी घोषणा हुन थालेको छ।
कांग्रेस केन्द्रीय महाधिवेशन ९-१३ मंसिरसम्म हुनेछ। भदौ १८ गते कांंग्रेसको वडास्तरीय अधिवेशन सुरु हुँदैछ।