काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिलाई कुबाटोमा हिडाउन खोजेको आरोप लगाएका छन्।
नेकपा (एमाले) झापा–काठमाडौं सम्पर्क समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको सी डिभिजन छनोट खेलिरहेका खेलाडीसँग छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटा राजनीतिको राजमार्गबाट नहिँडी कान्ला–कान्ला र भीरबाट हिँडेको बताएका हुन्। उनले निर्वाचन आयोग पनि संविधान र कानुनको राजमार्गमा हिड्न छाडेको आरोप लगाए। ओली अदालतप्रति पनि खनिएका थिए।
‘राजनीतिलाई कुबाटोबाट हिँडाउन खोजिएको छ। राजमार्गबाट सभामुख हिड्न मान्दैनन्। बाटाबाट हिँड्न मान्दैनन्। कान्ला-कान्ला, भीर-भीर कुद्छन्। निर्वाचन आयोग संविधान र कानुनको राजमार्ग छोडेर भित्तातिर ठोक्किन जान्छ,' सभामुख, आयोग र अदालतप्रति खनिएका ओलीले भने, 'सम्मानित अदालतको कुरै नगरौँ। त्यहाँ बसेपछि त जे गर्दापनि हुन्छ। त्यही भइरहेको छ। हामी ती कुराहरुलाई स्वीकारेर, मानेर लोकतन्त्रप्रति चिन्ता गरिरहेका छौँ। चिन्ता लोकतन्त्रको भविष्यप्रति गरिरहेका छौँ। किनभने लोकतन्त्रको भविष्य हाम्रो बलिदानसँग जोडिएको छ।’
अध्यक्ष ओलीले वर्तमान सत्ता गठबन्धनले अलोकतान्त्रिक अभ्यास गरिरहेको भन्दै आगामी चुनावमा वर्तमान सत्तारुढ गठबन्धन भत्किने बताए। ‘अहिले सबभन्दा बढी समाजका लागि चिन्ता भएको, राजनीतिमा चिन्ता भएको कुरो के भने अलोकतान्त्रिक अभ्यास भइरहेको छ, त्यो चिन्ताको विषय हो। अहिले सरकारमा को रह्यो, को रहेन, को गयो, जालझेल, षडयन्त्र गरेर, तिगड्म गरेर, स्वार्थहरुका पोकाहरु एक ठाउँ भेला भएर, उद्देश्य नभएका मान्छेहरुको झुन्ड गयो होला सरकारमा। यो चिन्ताको विषय होइन। चुनावमा गए सब ठिकठाक भैहाल्छ।’
उनले खेल क्षेत्रलाई महत्व दिनुपर्ने तथा प्रोत्साहन गर्नुपर्ने पनि बताए। खेलले मानिसलाई चुस्त, दुरुस्त, सक्षम र अनुशासित बनाउने पनि उनको भनाइ छ। अनुशासित भएर खेल्न सके सफलता प्राप्त गर्न सकिने भन्दै अध्यक्ष ओलीले खेलाडीहरुलाई अनुशासित भएर खेल्न सुझाव दिएका थिए।