काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आशन्न चौधौं महाधिवेशनमा पदाधिकारीको सेटमा नै साझा सहमति जुटाउने भएको छ। मंगलबार पौडेल निवास बोहोराटारमा बसेको बैठकले सभापतिदेखि पादधिकारीको सेटमा सहमति जुटाउने निष्कर्ष निकालेको हो।
सभापतिको साझा उम्मेदवार चयन गर्न भनेर बसेको बैठकले सभापतिसहित पदाधिकारीको सेटमा नै सहमति गरेर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको हो। ‘सभापतिको साझा उम्मेदवार चयन गर्न भनेर हामी छलफलमा जुटेका थियौं। साझा सभापतिको उम्मेदवार चयन गर्नुपर्छ भन्नेमा हाम्रो प्रयास थियो,’ नेता बलबहादुर केसीले भने, ‘आकांक्षीहरुले आ–आफ्ना दावी पेश गरिरहनुभएकै छ। तर, यसमा केही लचकता भने देखिएको छ। अब पदाधिकारीको साझा सेट टुंगो लगाएर अघि बढ्नुपर्छ भन्नेमा पुगेका छौं। भोलि पुनः बस्छौं।’
उनले सभापतिका आकांक्षीहरु टिमवर्क र पावर सेयरिङका आधारमा अघि बढ्नुपर्नेमा एकमत रहेको तर कसको नेतृत्वमा जाने भन्नेमा आ–आफ्नै अडानमा रहेको जानकारी दिए।
बैठकमा वरिष्ठ नेता पौडेलले शेखर कोइरालालाई पदाधिकारी लड्न सुझाव दिएका छन्। सभापति शेरबहादुर देउवालाई पराजित गर्न मिलेर अघि बढ्नुपर्ने आवश्यकता रहेको भन्दै सभापतिका आकांक्षी कोइरालालाई पदाधिकारी लड्न पौडेलले सुझाव दिएका हुन्। ‘शेरबहादुरलाई पराजित गर्नु छ। मिलेर अघि बढौं। मलाई सघाएर तपाईं पदाधिकारी लड्नुुस्, तपाईं र म सल्लाह गरौंला,’ पौडेलले भनेका थिए। तर, कोइरालाले पौडेललाई कुनै जवाफ नदिएको एक नेताले जानकारी दिए।
नेताहरु रामशरण महत, बलबहादुर केसी र अर्जुननरसिंह केसीले भने पौडेल सिनियर भएकाले उनकै नेतृत्वमा अघि बढ्नुपर्ने राय राखेका थिए। ‘उहाँ (पौडेल) सिनियर हो। त्यसैले उहाँको नेतृत्वमा जाँदा सहमति जुट्छ। होइन भने हामी पनि लड्छौं। आ–आफ्नै हिसाबले लडौं,’ उनीहरुले भनेका थिए।