शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विवेकशील साझामा पनि किचलो, अध्यक्ष र संयोजकले बोलाए छुट्टाछुट्टै केन्द्रीय समिति बैठक

विवेकशील साझामा पनि किचलो, अध्यक्ष र संयोजकले बोलाए छुट्टाछुट्टै केन्द्रीय समिति बैठक

विवेकशील साझा पार्टीका अध्यक्ष र संयोजकले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बोलाएका छन्। अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले बेग्लाबेग्लै बैठक बोलाएका हुन्।
 |  मंगलबार, भदौ १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १५, २०७८

काठमाडौं– विवेकशील साझा पार्टीका अध्यक्ष र संयोजकले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बोलाएका छन्। अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले बेग्लाबेग्लै बैठक बोलाएका हुन्। 

सुरुमा अध्यक्ष मिश्रले बिहीबारका लागि बैठक बोलाएका थिए। त्यसपछि संयोजक पाण्डेले पनि छुट्टै बैठक डाकेका छन्। 

मिश्रले मंंगलबार केन्द्रीय सदस्यहरुलाई इमेल गरेर बैठक बोलाइएको जानकारी गराएका थिए। एक केन्द्रीय सदस्यका अनुसार इमेलमा ‘पार्टीभित्र उत्पन्न परिस्थितिबारे छलफल गर्न’ बैठक बोलाइएको उल्लेख थियो। 

लगत्तै संयोजक पाण्डेले मिश्रले बोलाएको बैठक एकीकरणको सम्झौता विपरीत भएको भन्दै रोक्न माग गरे। र, केन्द्रीय सदस्यहरुलाई पत्र पठाउँदै बिहीबार नै बैठक बोलाए।

पाण्डेले पठाएको पत्रमा भनिएको छ, ‘विवेकशील साझा पार्टीको विधान दफा २० (१०) अनुरुप यसअघि केन्द्रीय अध्यक्ष र केन्द्रीय संयोजकको सहमतिमा बैठक बोलाउने एवं एजेण्डा तय गरिने गरिएको व्यहोरा यहाँहरु सबैलाई अवगतै छ। यसपटक पनि उक्त अभ्यास अनुरुप एजेण्डामा सहमति कायम गर्न गरिएको हरसम्भव प्रयास सफल हुन नसकेको र पार्टीको अध्यक्षले उहाँकै शब्दमा मार्ग परिवर्तन गर्नुभएका कारण पार्टीलाई लामो समय अनिर्णयको बन्दी बनाउनु उचित नदेखिएको हुँदा पार्टी विधानकै दफा ६१ (३) ले केन्द्रीय संयोजकलाई दिएको अधिकार प्रयोग गरी बैठक आह्वान गरेको छु।’

बैठक सञ्चालन कार्यविधि पारित गर्ने, न्याय तथा सुशासन आयोग गठन गर्ने, वैकल्पिक पाठशाला (स्कुल अफ अल्टरनेटिभ पोलिटिक्स) को स्थापना, पार्टीमा देखिएको वैचारिक विचलन र आगामी कार्यदिशा लगायत एजेण्डामा बैठकमा छलफल हुने पत्रमा उल्लेख छ।

अध्यक्ष मिश्रले पठाएको इमेलमा भने बैठकको एजेन्डा उल्लेख छैन। ‘पार्टीभित्र उत्पन्न परिस्थितिबारे छलफल गर्न’ बैठक बोलाइएको उल्लेख छ।

रवीन्द्र मिश्रले राजसंस्थाको वकालत गर्दै संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव अघि सारेपछि पार्टीको औपचारिक बैठक र छलफल ठप्पप्रायः छ। मिश्रले १३ साउनमा सार्वजनिक गरेको प्रस्तावलाई व्यक्तिगत मत भने पनि यसलाई लिएर विवेकशील साझा पार्टी दुई धारमा विभाजित भएको छ। नेता–कार्यकर्तामा पार्टीको लाइन राजतन्त्रवादी हुने कि गणतन्त्रवादी भन्ने बहस चर्किएको छ। 

मिश्र र पाण्डे दुवैले समानान्तर गतिविधि भने गरिरहेका छन्। दुवैले समानान्तर विचार समूह गठन गरेका छन्। पाण्डे पक्षका नेताहरुले ‘स्कुल अफ अल्टरनेटिभ पोलिटिक्स’ नाम दिएका छन् भने मिश्र पक्षका नेताहरुले ‘इन्स्टिच्युट अफ अल्टरनेटिभ पोलिटिक्स’ भन्ने छुट्टै विचार समूह बनाएका छन्। 

प्रकाशित: Aug 31, 2021| 11:26 मंगलबार, भदौ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...