काठमाडौं– माओवादी अध्यक्ष पुष्पकमल दाहालले माओवादीसँग अनावश्यक खेल खेलेका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको र प्रदेश सरकार पनि त्यस्तै अवस्थामा पुगेको दाबी गरेका छन्। उनले भने, ‘मैले माओवादी आगो हो, आगोसँग नखेल भनेर सावधान गराए पनि नटर्नेहरू पछारिए।’
पार्टी सम्बद्ध सर्लाही–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनमा आवश्यक छलफल गरी मन्त्रिपरिषद् विस्तारबारे निष्कर्ष निकालिने बताए। दाहालले आफ्नो पार्टीलाई एक नम्बरको नहुँदासम्म देशमा स्थायित्व र विकाससमेत नहुने दाबी गरे। दाहालले भने, ‘तराई मधेस माओवादीमय नहुँदासम्म मधेसी जनताको हित र मुक्ति सम्भव छैन। माओवादीबाहेक अरू कसैलाई मत दिँदा परिणाम के हुँदोरहेछ भन्ने हामीले गएको तीन वर्षमा भोगिसकेका छौं।’
उनले केपी ओलीलाई प्रधानमन्त्री बनाउँदा अहिलेसम्म राजनीतिक लडाइँ लडेर प्राप्त गरेको सबै उपलब्धि झन्डै गुमेको बताए। उनले भने, ‘ओलीलाई प्रधानमन्त्री बनाउँदा झन्डै सङ्घीयता जाने अवस्थामा पुग्यो गणतन्त्र झन्डै फेल हुने अवस्थामा पुग्यो।’
तराई मधेसमा माओवादी आन्दोलनका कारण जागरण पैदा भएको दाबी उनले गरे। दाहालले भने, ‘पहिचान र अधिकारको लडाइँ हामीले लड्ने तर काम गर्ने कालु मकै खाने भालु भने जस्तै भयो।'