शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसमा मन्त्रालयको भागवण्डा मिल्यो, तीन गुटलाई एक–एक मन्त्रालय

कांग्रेसमा मन्त्रालयको भागवण्डा मिल्यो, तीन गुटलाई एक–एक मन्त्रालय

सत्तारुढ गठबन्धनभित्र मन्त्रालय बाँडफाँडमा सहमति जुटेको छ। सहमति अनुसार कांग्रेसले सात मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ।
 |  सोमबार, भदौ १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १४, २०७८

काठमाडौं– सत्तारुढ गठबन्धनभित्र मन्त्रालय बाँडफाँडमा सहमति जुटेको छ। सहमति अनुसार कांग्रेसले सात मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। 

माओवादीले ६ मन्त्री पाउँदा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समान ५–५ मन्त्री र एक राज्यमन्त्री पाउने गरी सहमति जुटेको एक नेताले जानकारी दिए। ‘मन्त्रालयको बाँडफाँडमा सहमति जुटिसकेको छ। कसले कुन मन्त्रालय पाउने भन्नेमा पनि सहमति जुटेको छ,’ ती नेताले भने, ‘अब मन्त्रिपरिषद्लाई पूर्णता दिने विषय बुधबार भन्दा पर जाँदैन।’

मन्त्रालयको बाँडफाँडमा सहमति जुटेसँगै दलहरु मन्त्री छान्न केन्द्रित बनेका छन्। यसअघि कांग्रेसले २ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरिसकेको छ। कांग्रेसबाट बालकृष्ण खाँड गृह, ज्ञानेन्द्रबहादुर कार्की कानुन मन्त्री बनेका छन् भने उमेश श्रेष्ठले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाइसकेका छन्। माओवादी केन्द्रले जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई उर्जामन्त्री बनाइसकेको छ। अब कांग्रेसले ५ मन्त्री बनाउन पाउनेछ भने माओवादीले चार मन्त्री बनाउन पाउनेछ।  

प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा मन्त्रालयको भागबण्डामा समेत करिब सहमति जुटाएका छन्। एक नेताका अनुसार देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला र नेता कृष्ण प्रसाद सिटौलालाई एक–एक मन्त्री दिने तयारी गरेका छन्। ‘वरिष्ठ नेता, महामन्त्री र पूर्वमहामन्त्रीलाई एक–एक मन्त्री दिने तयारी भएको छ। यस विषयमा पनि करिब सहमति जुटिसकेको छ,’ देउवाको कोर टिममा रहेका ती नेताले भने।

यसअघि दुई मन्त्री र एक राज्यमन्त्री बनाइसकेका देउवाले आफ्नो समूहबाट थप दुई जनालाई मन्त्री बनाउने तयारी गरेका छन्। त्यसमध्ये पुष्पा भुसाल मन्त्री बन्ने पक्का जस्तै छ। तर, थप एक जनाको बारेमा भने टुंगो लाग्न सकेको छैन। ‘मन्त्रीपरिषद् समावेशी पनि बनाउनुपर्ने छ। पुष्पा भुसालको सम्भावना धेरै छ। मधेसी, जनजाति र दलितलाई समेट्नुपर्ने भएकाले एक जना चाहिँ टुंगो लाग्न सकेको छैन,’ उनले भने। 

वरिष्ठ नेता पौडेलले भने दिलेन्द्रप्रसाद बडुलाई मन्त्री बनाउने तयारी गरेका छन्। तर, पौडेलले भौतिक पूर्वाधार मन्त्रालय मागेको स्रोतको दाबी छ। कोइरालाको कोटाबाट सुजाता कोइराला र मिनेन्द्र रिजालको चर्चा छ। तर, देउवाले आफ्नो क्याविनेटमा उपप्रधानमन्त्री नबनाउने अडान लिएका छन्। जसका कारण रिजालको मन्त्री बन्ने सम्भावना धेरै छ। नेता सिटौलाले भने उमाकान्त चौधरीलाई मन्त्री बनाउने तयारी गरेका छन्।

प्रकाशित: Aug 30, 2021| 17:08 सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...