काठमाडौं- नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले परिस्थिति आए आगामी महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने संकेत गरेका छन्। बसुन्धरामा सोमबार पत्रकारसँग कुराकानी गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्।
'अबको नेतृत्वमा मैले कुनै पनि पदिय रूपमा जिम्मेवारी लिन सक्छु भन्ने कुरो मैले अहिलेसम्म गरेको कामले देखिएको छ। परिस्थिति आए र कार्यकर्ताले पनि साथ दिए म 'डिजर्ब' गर्न सक्छु,' उनले भने।
कार्यकर्ताको भावना र आवश्यकताका साथै परिस्थिति हेरेर आफू अघि बढ्ने उनको भनाइ छ। एमालेले मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ।
नेपालको राजनीति अहिले दुईवटा पोलमा केन्द्रित भएर अघि बढेको उनको भनाइ छ। केपि ओलीले एउटा पोलको नेतृत्व गरेको र अर्को त्यसविरुद्ध बनेको गठबन्धन भएको उनको भनाइ थियो। गठबन्धन टालाटुली बटुली भएको आरोप लगाउन उनले ओलीका शब्द सापटी लिएका थिए।