काठमाडौं– कांग्रेस युवा नेता गगन थापाले १४ औं महाधिवेशनमा पनि महामन्त्रीमा उम्मेदवार बन्ने बताएका छन्।
आफ्नै निर्वाचन क्षेत्र काठमाडौं-४ मा पर्ने काठमाडाैं महानगरपालिका वडा नम्बर ३० मा आयोजित कार्यक्रममा थापाले ‘यसअघि पनि आफू सोही पदमा उम्मेदवार बनेको र १४औं महाधिवेशनमा पनि सोही पदमा उम्मेदवारी दिने’ घोषणा गरेका हुन्।
‘हो, मैले फेरि महामन्त्रीमा उम्मेदवारी दिने हो’, नेता थापाले भने, ‘यसबारे मैले तपाईंहरुलाई औपचारिक कार्यक्रम नै गरेर विस्तृत जानकारी दिनेछु।’
१३ औं महाधिवेशनमा थापाले तेस्रो समूहका रुपमा कृष्णप्रसाद सिटौलाको पक्षबाट महामन्त्रीमा उम्मेदवारी दिएका थिए । तर, यसपटक सोही समूहबाट उम्मेदवारी दिने वा अर्को समूह बनाउने भन्ने उनले केही खुलाएका छैनन्।
थापाले भने, 'मेरा लागि यो भन्दा पवित्र ठाउँ अरु हुँदैन। आज म मेरो वडा जसले मलाई राजनीति सिकायो। आधार र ठूलो भरोसा दियो। मेरो वडा र अग्रजहरुका बीचमा बडो गौरवका साथमा १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गर्छु।’
महामन्त्रीका लागि तयारी गरिरहेका नेता थापाले अघिल्लो पटक शसांक कोइराला आफ्नै ससुरा अर्जुनरसिंह केसीसँग श्पर्धा गरेका थिए। अघिल्लो पटक थापा र केसीलाई हराउँदै कोइराला विजयी भएका थिए। कोइरालाले १४ सय १७ मत ल्याएर विजयी हुँदा केसीले १ हजार १७ र थापाले ५ सय ८४ ल्याएका थिए। तर यसपटक दुई जना महामन्त्री निर्वाचित हुने भएकाले उनको रणनीति अलिक फरक हुनसक्ने अनुमान गरिएको छ। महाधिवेशन आगामी मंसिर ९ देखि १३ सम्म हुँदैछ।