काठमाडौं– सत्तारुढ गठबन्धनको बैठकले मन्त्रिपरिषद्लाई चाँडोभन्दा चाँडो पूर्णता दिने निष्कर्ष निकालेको छ। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मन्त्रिपरिषद्लाई जतिसक्दो चाँडो पूर्णता दिनुपर्ने निष्कर्ष निकालेको हो।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अनुसार बैठकमा मन्त्रालयको भागवण्डा टुंगो लगाउने र मन्त्रिपरिषद्लाई पूर्णता दिन नेताहरुबीच सहमति जुटेको छ।
गठबन्धनका नेताहरुले दार्चुला घटनामा सरकारले अडान प्रष्ट बनाउनुपर्नेमा जोड दिएका छन्। छानविन समितिले प्रतिवेदन बुझाउन ढिलाइ गरेकोमा असन्तुष्टि जनाउँदै उनीहरुले प्रतिवेदन ल्याएर सरकारले अडान प्रष्ट बनाउनुपर्ने बताएका हुन्।
जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दार्चुला घटनामा सरकारले अडान प्रष्ट नबनाएकोप्रति असन्तुष्टि जनाएका थिए।
गत साउन १५ गते महाकाली नदीमा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले तार खुस्काइदिँदा जयसिंह धामी महाकाली नदीमा खसेका थिए। घटनाबारे छानविन गर्न भन्दै सरकारले बनाएको समितिले हालसम्म प्रतिवेदन बुझाएको छैन।