काठमाडौं- ह्वीप उल्लंघनको आरोपमा नेकपा एमालेले निष्कासनको कारबाही गरेका १४ सांसदको पद नजाने भएको छ। एमालेले कारबाही गरी उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा जानकारी गराए पनि संसद सचिवालयले उनीहरु अर्कै दल दर्ता गरी आएकाले कारबाही गर्नु नपर्ने निर्णय गरेको छ। आयोगको यो निर्णयसँगै उनीहरुको पद सुरक्षित भएको हो।
नेकपा एमालेले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिई ह्वीप उल्लंघन गरेको भन्दै माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेर संसदलाई भदौ १ गते नै जानकारी गराएको थियो। तर संसद सचिवालयले कारबाही गर्न ढिलाइ गर्दै आएको थियो। यसबीचमा निर्वाचन आयोगले माधवकुमार नेपालको अध्यक्षतामा छुट्टै दल दर्ता गरेपछि संसद सचिवालयले ती सांसदलाई कारबाही गर्न नपर्ने भनी निर्णय गरेको हो।
यता, निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गतेसम्म समय दिएको छ।
सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि एमाले फुटेर नेकपा एकीकृत समाजवादी र जसपा फुटेर लोकतान्त्रिक समाजवादी पार्टी बनेका छन्। दुवै दलले ९ भदौमा मान्यता पाएका थिए। अध्यादेशमा प्रदेश र स्थानीय तहका जनप्रतिनिलाई २१ दिनभित्र दल रोज्न दिने व्यवस्था समेत छ। आयोगको आइतबार बसेको बैठकले २२ गतेसम्म दल रोज्न दिने निर्णय गरेको हो।
अब एमालेबाट निर्वाचित भएका प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न चाहेमा २२ गतेभित्र सनाखत गर्नुपर्छ। यस्तै जसपाबाट प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुले लोसपा प्रवेश गर्न चाहेमा पनि सनाखत गर्नुपर्नेछ। प्रदेशसभा सदस्यहरुले प्रदेश निर्वाचन कार्यालय र स्थानीय जनप्रतिनिधिहरुले जिल्ला निर्वाचन कार्यालयमा गएर सनाखत गर्नुपर्छ।
दल विभाजनकै विषयमा नेकपा(एकीकृत समाजवादी) पार्टीले संसदीय दलको नेतामा पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई चयन गरेको छ। पार्टीको आइतवार बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ। त्यस्तै बैठकले राष्ट्रिय सभाको संसदीय दलको नेतामा बेदुराम भुसाललाई चयन गरेको नेकपा(एकीकृत समाजवादी)का नेता बिरोध खतिवडाले जानकारी दिए। संसदीय दलको बैठकले दलको विधान निर्माण गर्नका लागि भवानी खापुङ, शेरबहादुर कुँवर, निरा जैरु, ठगेन्द्र पुरी र लक्ष्मी चौधरी रहेको विधान मस्यौदा कमिटी पनि गठन गरेको उहाँले बताउनुभयो। बैठकले पार्टीको तर्फबाट मन्त्रि छान्ने जिम्मा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपाललाई दिएको पनि नेता खतिवडाले जानकारी दिए।
आइतबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिदैँ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले मन्त्रिपरिषद् चाडै विस्तार हुने बताए। त्यसका लागि पार्टीहरु भित्र छलफल र परामर्श चलिरहेको भन्दै अबको एक दुइ दिनमै छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन्। अध्यक्ष नेपालले कोही महाधिवेशन तयारीमा जुट्नु परेको र कोही पार्टी निर्माण र विस्तारकै क्रममा रहेकोले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको उल्लेख गरे। नेकपा (एकीकृत समाजवादी) ले मन्त्री छान्ने जिम्मा अध्यक्ष नेपाललाई दिएको छ।
000
पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई सरकारले दिएको उपचार खर्च फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। आइतबार विद्यार्थी संगठन अखिल छैठौंका अध्यक्ष तथा अधिवक्ता विमल पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र झलनाथ खनाललाई विपक्षी बनाई रिट दायर गरेका हुन्।
खनालले आफ्ना स्वास्थ्य उपचार विदेशमा गरेको हुनाले उपचारको खर्च सरकारले व्यहोर्नु गैरकानुनी हुने भन्दै सरकारले दिएको उपचार खर्च फिर्ता गर्न रिटमा माग गरिएको छ। त्यस्तै उपचार खर्च व्यहोर्ने भनी सरकारले गरेको निर्णय खारेज गर्न पनि उनले माग गरेका छन्।
मिर्गौला रोगबाट पीडित पूर्वप्रधानमन्त्री खनाल हाल भारतको एपोलो अस्पतालमा उपचाररत छन्। उनको उपचारका लागि तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ३१ लाख रुपैयाँ दिएको थियो। यो रिटमा भदौ १५ गतेका लागि पेशी तोकिएको निवेदक पोखरेलले बताए।
000
राष्ट्रियसभाका सांसदहरुले राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन तथा मूल्यांकनको काम आवश्यक्ता अनुसार गर्न पाउने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समितिको आईतबारको बैठकमा ‘अनुगमन तथा मूल्यांकनका सम्बन्धमा व्यवस्था गर्न विधेयक’ माथि सुझाव दिँदै समितिका सभापति परशुराम मेघी गुरुङ र सदस्य जितेन्द्र नारायण देवले यस्तो माग गरेका हुन्। सदस्य देवले कम्तिमा ६ महिनामा एकचोटी राष्ट्रिय गौरवको आयोजनाहरुको अनुगमन तथा मूल्यांकन हुनेगरी कानुनी व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए। उनले अनुगमनको अभावमा आयोजनाहरु लथालिंग भएको समेत दाबी गरे।
समितिका सभापति परशुराम मेघी गुरुङले राष्ट्रिय गौरवका आयोजनाहरुको कामलाई प्रभावकारी बनाउने गरी अनुगमन, मूल्यांकन तथा परीक्षणको कामलाई अघि बढाउन सरकारलाई सचेत गराए। उनले आयोजनाहरुको कामलाई अघि बढाउने सवालमा दोषी देखिएका निकायमाथि कडा कारबाही हुने गरी कानुनी व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन्।
बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदका सचिव धनराज ज्ञवालीले आयोजनाहरुको अनुगमन तथा मूल्यांकनको काम वर्षमा एक पटक वा आवश्यक्ता अनुसार गर्न सकिने व्यवस्था राख्दा फरक नपर्ने समितिलाई सुझाव दिए। उनले आयोजनाहरुको कामलाई प्रभावकारी बनाउन आवश्यक्ता अनुसार मूल्यांकन तथा अनुमगन गर्न सकिने गरी कानुन निर्माण गर्न सो विधेयक ल्याइएको पनि स्पष्ट पारे।
बैठकमा आयोजनाहरुको काममा गल्ती गर्ने निकायमाथि हुने दण्ड, जरिवानाका विषयमा केन्द्रित भएर सो विधेयकमाथि छलफल हुने सभापति गुरुङले जानकारी दिए।
संसद्कै अर्को प्रसंगमा दिगो विकास तथा सुशासन समितिले दिगो विकास लक्ष्यसँग सम्बन्धित सूचकहरुलाई उच्च प्राथमिकता दिइ कार्य गर्न सरकारलाई निर्देशन दिएको छ।
संघीय संसद, राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिले सम्बन्धीत विज्ञहरुसंगको छलफल र परामर्श पछि दिगो विकास लक्ष्यसँग सम्बन्धित सूचकहरुलाई उच्च प्राथमिकता दिइ कार्य गर्न सरकारलाई निर्देशन दिएको हो। आईतवार सिंहदरवारमा बसेको समितिको बैठकमासभापति तारादेवी भट्टले तीनै तहका सरकारसंग समन्वय गरी सबै प्रदेशका एसडीजी च्याम्पियन सांसदहरुलाई धुलिखेल घोषणा पत्रको कार्यान्वयन तर्फ सक्रिय बनाउँदै विकासको लक्ष्य प्राप्तिका लागि पहल गर्ने बताइन्।
पूर्व सचिव जनकराज जोशीले दिगो विकास तथा सुशासन समितिले धुलिखेल घोषणा पत्र मार्फत् प्रदेश र स्थानीय तहलाई समेट्ने काम गरेको भएपनि प्रतिवद्धता अनुसार दिगो विकासको स्थानीयकरण हुननसकेको बताए। उनले प्रदेश र स्थानीय तहहरुसंग समन्वय गरि फोकल एजेन्सीको रुपमा रहेका निकायसंग समितिले प्रगती विवरण बारे निरन्तर छलफल बहस चलाउनुपर्नेमा जोड दिए।
समितिले प्रदेशको बजेट विनियोजन तथा विकासका कार्यक्रमलाई दिगो विकास लक्ष्य प्राप्तिमा जोड्ने गरि भूमिका निर्वाह गर्न सबै प्रदेशमा एस.डी.जी. च्याम्पियन सांसदहरुको समुह बनाएको छ। साथै दिगो विकास लक्ष्य कार्यान्वयनमा संसदीय निगरानी सम्बन्धी परीक्षण सूची तयार पारी प्रदेश सांसदहरुलाई सोही अनुसार विकासका कार्यमा निगरानी पूर्ण भूमिका निर्वाह गर्नका लागि समन्वयनकारी भूमिका निर्वाह गर्दे आएको छ।
000
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा पहिरो गएको छ।
आइतबार बजार परिसूचक (नेप्से) ४९.१८ अंकले ओरालो लागेर ३०४४.८७ अंकमा अडिएको छ। बजार ओरालो लागेसँगै कारोबारमा पनि भारी गिरावट आएको छ। यस दिनको कारोबार रकम १५ अर्ब ६५ करोड रुपैयाँमा सिमित भएको छ। ओरालो लागेको बजारमा पनि आइतबार नारायणी विकास बैंक र खानीखोला हाइड्रोपावर कम्पनीको सेयरमा भने सकारात्मक सर्किट लागेको छ।
२८ कम्पनीको सेयर उकालो लागेको आइतबार १५७ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ। एउटा कम्पनीको सेयर मूल्य भने परिवर्तन भएको छैन। बिहान ११ बजे कारोबार सुरु भएदेखि नै घट्न थालेको बजार २ बजेर २८ मिनेट जाँदा ३०४१ अंकसम्म आइपुगेको थियो। अन्तिम समयमा केही बढ्न थालेपछि पुनः ओरालो लागेर बजार बन्द भएको छ।
000
सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन भएको छ। केही दिन यता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव आज यस वर्षकै उच्च विन्दुमापुगेको हो। कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसारपछिल्लो मापन अनुसार सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेकप्रतिसेकेण्ड वहाव पुगेको छ। नदीको बहाव बढेसँगको कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन। साउन ३२ गते कोशीमा यस वर्षकै बढी २ लाख ५६हजार २० क्यूसेक प्रतिसेकेण्ड वहाव मापन गरिएको थियो। पहिल्लो मापनले सोरेकर्डलाई समेत उछिनेको छ।
यसैबिच निरन्तरको वर्षासँगै कोशीको वहावमा निकैनै उतारचढाव देखिदा श्रीलंका टापु क्षेत्रमा नदीले कटान थालेको छ। नदीमाआएको उतार चढावका कारण यस अघिका सातामै कटान लागेको सो क्षेत्रको कतिपय स्थानमापूनः कटान सुरु भएको छ।
000
पछिल्लो २४ घण्टामा देशभर १ हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ जना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट १ हजार २१४ जना र एन्टिजेन परीक्षणबाट १७४ जनामा संक्रमण पुष्टि भएको हो। २४ घण्टामा १० हजार २९७ परीक्षण भएको छ। मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार २६० जना कोरोनामुक्त भएका छन्। आइतबार देशभर ३५ हजार ७९६ जना सक्रिय संक्रमित छन्।
अब अन्तर्राष्ट्रिय समाचार
अफगानिस्तानमा लामो समयदेखि बैक बन्द हुँदा त्यहाँको बैंकिङ प्रणाली नै ‘कोल्याप्स’ हुने र आर्थिक तथा मानवीय दुर्घटना हुने जोखिम बढेको छ।
तालिवानले दुई साताअघि काबुल नियन्त्रणमा लिएपछि बन्द भएका बैंक अझै सुचारु हुन सकेका छैनन्। आक्कलझुक्कल खुलेका एक दुईवटा बैंकमा मानिसहरुको भीड थामिनसक्नु छ। अनावश्यक भीड गरेको भन्दै तालिवानले पैसा झिक्न पुगेका मानिसहरुलाई ढुंगा र भाटाले हिकाउन थालेका छन्। जुन दृश्य र भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।
तालिवानले बैंकिङ सेवा खोल्न निर्देशन दिए पनि पैसा नभएका कारण अधिकांश बैंकहरु बन्द भएको अफगानिस्तानका बैंकहरुले जनाएका छन्। अफगान अर्थतन्त्र मुख्यतः विदेशी मुद्रा र अन्तर्राष्ट्रिय सहयोगमा निर्भर छ। अफगानिस्तानमा आर्थिक तथा मानवीय संकट आउन सक्ने चिन्ता प्रतिवेदनमा जनाइएको छ।