काठमाडौं– सत्ता गठबन्धनका तीन दलबीच आइतबार भएको छलफलमा पनि मन्त्रिपरिषद् विस्तार गर्ने विषय टुंगोमा पुग्न सकेन। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल मन्त्रिपरिषद्स विस्तारबारे टुंगोमा पुग्न नसकेका हुन्। तीन नेताबीच सोमबार बिहान पनि छलफल हुने बताइएको छ।
नेताहरुबीच पाँच दलीय गठबन्धनलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ सरकार विस्तार र गठबन्धनलाई थप मजबुत बनाउने विषयमा शीर्षस्थ नेताहरूबीच छलफल भएको माओवादी केन्द्रका अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।
उनका अनुसार छलफलका आधारमा सोमबार बिहान गठबन्धनको बैठक बोलाइएको छ। सोमबारको बैठकमा सरकार विस्तार लगायतका विषयमा छलफल हुनेछ। तीन नेताबीच आइतबार बिहान पनि सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको थियो।
नेकपा (एकीकृत समाजवादी) ले मन्त्री चयनका बारेमा निर्णय गर्न अध्यक्ष नेपाललाई जिम्मा दिएको छ। जनता समाजवादी पार्टीले पनि सरकारमा जाने विषयमा आवश्यक छलफल गरी निर्णय गरिसकेको छ।
गत असार २९ गते प्रधानमन्त्री पदको शपथ लिनुभएका देउवा नेतृत्वको मन्त्रिमण्डलमा एक राज्यमन्त्रीसहित नेपाली कांग्रेसका तीन, माओवादी केन्द्रका दुई मन्त्रीले जिम्मेवारी सम्हाल्दै आएका छन्।