बुटवल- मन्त्रीका आकाक्षी धेरै भएपछि लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या बढाउने निर्णय गरेको छ। चारदलीय गठबन्धनबाट मुख्यमन्त्री भएका कुलप्रसाद केसीले सबै दललाई मन्त्रालयको भाग पुर्याउन ४ मन्त्रालय थप गरी मन्त्रालयको संख्या १३ मा पुर्याउने निर्णय गरेका हुन्।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले १३ मन्त्रालयको संख्या बनाउने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए। प्रदेश सरकारले विभिन्न मन्त्रालयलाई विभाजन समेत गरेको छ।
लुम्बिनीमा अब मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला तथा सहकारी मन्त्रालय, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा, जलश्रोत तथा सिचाइ मन्त्रालय, कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय छन्।
यस्तै कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय रहने छन्।
प्रवक्ता खड्काले मन्त्रालय विभाजन लगत्तै यही हप्ताभित्र मन्त्रिमण्डल विस्तार गर्ने बताए। नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रमा मन्त्रीका आकांक्षी धेरै भएपछि मन्त्रालय वृद्धि गर्नुपरेको हो। जसपाका तीनै जना मन्त्री भएका छन्। लुम्बिनीमा १३ मन्त्री र २ राज्यमन्त्री गरी १५ सदस्यीय मन्त्रीमण्डल बनाउने सरकारको योजना छ।