तनहुँ- तनहुँबाट बाघको छालासहित तीनजना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले शनिबार साँझ ६ बजे व्यास नगरपालिका-५ पतेनीबाट बाघको छालासहित तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा व्यास नगरपालिका-६ सिरुवारीका ३९ वर्षीय अर्जुन श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका-१ ओखल्दीका ४० वर्षीय सञ्जित गुरुङ र शुक्लागण्डकी नगरपालिका-१ रतनपुरका ३२ वर्षीय सन्तोष गुरुङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी निरीक्षक शिवराज क्षेत्रीका अनुसार बाख्रेतर्फ जाने चोकमा शंकास्पद गतिविधि गरिरहेका उनीहरूलाई नियन्त्रणमा लिइएको थियो। उनीहरूलाई चेकजाँच गर्दा बाघको छाला, दाँत, हड्डी, खप्परलगायत फेला परेको क्षेत्रीले बताए।
उनीहरूले प्रयोग गरेको दुईवटा पल्सर मोटरसाइकल, एउटा डियो स्कुटर, तीनवटा मोबाइल सेट र पाँच हजार तीन सय ८५ रुपैयाँ पनि बरामद गरिएको छ। तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालयमा पठाएको प्रहरीले जनाएको छ।