काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
नेपाली सेनाको वेबसाइटमा मंगलबार उनको सम्पत्ति विवरण अपलोड गरिएको छ। मंगलबार नै जंगी अड्डामा आयोजित एक समारोहकाबीच थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेको जानकारी पनि दिएका थिए।
विवरण अनुसार काठमाडौं, लमजुङ र नवलपरासीका ६ ठाउँमा उनको जग्गा छ। काठमाडौमा रहेको घर–जग्गा थापाले आमाबाट बकसपत्र मार्फत प्राप्त भएको उल्लेख गरेका छन्। काठमाडौंको वडा नम्बर २६ मा रहेको अर्को ६७.५७ वर्गमिटर जग्गा भने उनकी श्रीमतीले माइतीबाट प्राप्त गरेको उल्लेख छ ।
काठमाडौंकै वडा नं. ५ मा रहेको २४१६.५२ वर्गमीटर जग्गा भने उनी संयुक्त राष्ट्रसंघीय मिसनमा जाँदा खरिद गरेको विवरणमा जनाइएको छ। मिसनकै बेला थापाले नवलपरासीको कोल्हुवामा पनि जग्गा खरिद गरेका छन्।
लम्जुङ्गको बेसीसहरमा भने थापाको पैतृक सम्पति रहेको विवरणमा देखाइएको छ। प्रधानसेनापति थापाकी श्रीमती दीपा थापाको भने शेयर बजारमा लगानी रहेको देखिन्छ।
थापाको सम्पति विवरणमा विभिन्न ६ थरी कम्पनीको शेयर श्रीमतिको नाममा रहेको उल्लेख गरिएको छ। थापासँग ५५ तोला सुन, ५९० तोला चाँदीलगायतको चल सम्पति पनि छ।


