काठमाडौं- नेपाली यू-१९ क्रिकेट टोली टेस्ट राष्ट्र बंगलादेशसँग पराजित भएको छ। आइतबार भएको आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसँग ६ विकेटले पराजित भएको हो।
नेपालले दिएको २ सय ६१ रनको लक्ष्य पछ्याएको बंगलादेशले ४९.२ ओभरका विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टायो। बंगलादेशका लागि अक्बर अली र तोहीड ह्रिदोयले अर्धशतकीय पारी खेले। अक्बरले ७४ बलमा १३ चौका प्रहार गर्दै ९० रनको उत्कृष्ट अविजित अर्धशतकीय पारी खेलेका हुन्।
तोहीडले ८८ बलमा ३ चौका प्रहार गर्दै ६० रनको अर्धशतकीय पारी खेलेका थिए। त्यस्तै महमुदुल हसनले ५६ बलमा ३ चौकाको मद्दतमा ४० रन जोडे। शामीम होसाइन ३८ रनमा अविजित रहे।
नेपालका लागि कमल सिंह ऐरीले दुई तथा राशिद खान र हरी चौहानले एक एक विकेट लिए।
यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६१ रन जोडेको थियो। नेपालका लागि पवन सर्राफ र सन्दीप जोराले अर्धशतकीय पारी खेले। पवनले १०९ बलमा ८ चौका र १ छक्काको मद्दतमा ८१ रनको उत्कष्ट अर्धशतकीय पारी खेलको हुन्।
त्यस्तै विस्फोटक ब्याटिङ गरेका सन्दीपले ३७ बलमा ३ चौका र ३ छक्कासहित ५६ रन जोडे। रित गौतमले ५३ बलमा तीन चौका र एक छक्कासहित ३२ रन जोडे। ३३ बल खेलेका कुशल मल्लले एक चौका र ३ छक्काको मद्दतमा २८ रन जोडे। त्यस्तै भिम सार्कीले २१ र कप्तान रोहित पौडेलले १४ रन जोडे।
बंगलादेशका लागि तान्जिम हसन शकिब र साहिन आलमले समान दुई दुई तथा मृतुन्जय चौधुरी, राकिबुल हसन, मिन्हाजुर रहमन र तोहीड ह्रिदोयले एक एक विकेट लिए।
यस पराजयसँगै नेपालले दोस्रो चरणको यात्रा कठिन बनेको छ। यसअघि आफ्नो पहिलो खेलमा नेपाल आयोजक श्रीलंकासंग डीएल पद्वतीका आधारमा ५ विकेटले पराजित भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४