काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले भदौ १८ गते वडा तहको अधिवेशन प्रारम्भ हुने भएकाले भ्रममा नपर्न आग्रह गरेका छन्। शनिबार राति ट्विट गर्दै उनले महाधिवेशनरूपी महायज्ञमा जुट्न आग्रह गरेका हुन्।
‘अब कहीं कतै भ्रम नरहोस्। अन्योल र अलमलमा नपरौं। भाद्र१८ गतेदेखि वडा अधिवेशन प्रारम्भ हुन्छ,’ उनले भनेका छन्, ‘पार्टीका सबै तहका नेता, पार्टी सदस्यहरू, शुभचिन्तकहरु हामी सबै पार्टीको महाधिवेशनरुपी महायज्ञमा जुटौं।’
नेपाली कांग्रेसको पछिल्लो केन्द्रीय समिति बैठकको निर्णयअनुसार गठन भएको कृष्णप्रसाद सिटौला, डा मीनेन्द्र रिजाल र रमेश लेखक रहेको कार्यदलले क्रियाशील विवाद टुंग्याएपछि महाधिवेशनका प्रक्रिया अघि बढ्न थालेका छन्।
यता कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूले विभिन्न माग राख्दै पार्टी केन्द्रीय कार्यालयमा सुरु गरेको रिले अनशन पनि कार्यदलले शनिबार तोडाएको छ।