मंगलबार, असोज २०, २०८३

'टाढा टाढा जानु छ साथी' गाएर स्टेजबाट ओर्लिने जेबी दाइ

कार्यक्रम सकेपछि प्रायः बच्चु कैलाशको गीत गाउनुहुन्थ्यो– टाढा टाढा जानु छ साथी...। एउटा ठाउँबाट अर्को ठाउँमा जानु टाढै हुन्थ्यो, नौलै हुन्थ्यो। त्यसैले प्रायः उहाँ यही गीतबाट सबैसँग बिदा माग्नुहुन्थ्यो।
 |  शनिबार, भदौ १२, २०७८

माधव प्रधान

माधव प्रधान

शनिबार, भदौ १२, २०७८

२०३४ सालतिर। काठमाडौंको ठहिटीमा सात तला माथिको कोठामा जनताका गायक रामेश दाइ डेरा लिएर बस्नु हुन्थ्यो। रामेश दाइको त्यो कोठा प्रगतिशिल स्रष्टाहरु मन्जुल दाइ, श्याम टमोट, सुन्दर जोशी, रघुजी पन्त, मोहन श्रेष्ठको भेटघाट गर्ने थलो पनि थियो। 

म त्रि–चन्द्र कलेजमा पढ्थें। २० वर्षको थिएँ। रामेश दाइ र मन्जुल दाइसँग मिलेर प्रगतिशिल धारका गीत गुनगुनाउने गर्थें। एउटा सिकाइको चरण थियो। त्यसो हुनाले पनि म रामेश दाइको कोठामा आउनेजाने गर्थे। 

एक दिन, ०३४ सालको मंसिर महिना। अघिपछिझैं म र एकजना संगीतकार–गायक साथी प्रमोद हमाल भएर रामेश दाइको कोठामा पुग्दा नयाँ मान्छे देखें। 

उनी थिए जेबी टुहुरे दाइ। मलाई रामेश दाइ र मन्जुल दाइले चिनजान गराइदिएका थिए। 

जेबी दाइको गीत रेडियोमा सुनेको कुरा सुनाएँ। दाइसँग भेट भएको दिन नै उहाँको गीत प्रत्यक्ष सुन्न पाएँ। चिनजान गरेको केही छिनपछि जेबी दाइले आफूले संकलन गरेका केही नयाँ गीतहरु सुनाउनुभयो। पहिलोपटक दाइको गीत नजिक बसेर सुनें। उहाँको गीत र स्वरले मुग्ध बनायो। 

त्यो बेला दाइ काठमाडौंमा आफ्नो निजी कामले आउनु भएको थियो। रामेश दाइको कोठामा भएको चिनजानले सधैं निरन्तरता पायो। त्यसपछि जेबी दाइको काठमाडौं बिराटनगर आउजाउ हुन थाल्यो। त्यो भन्दा अगाडि पनि जेबी दाइ काठमाडौं आउनेजाने गर्नुहुन्थ्यो। 

२०२७ सालतिर। मैले देख्न नपाएको एउटा कार्यक्रम। तर सुन्न पाएँ। त्रिभुवन विश्वविद्यालयको अडिटोरियम भित्र स्ववियूले एउटा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो। त्यस कार्यक्रमको संयोजक सीताराम मास्केले गरेका थिए। त्यो प्रतिबन्धित जस्तो कार्यक्रममा मास्केले जेबी दाइलाई बिराटनगरबाट बोलाएका थिए। त्यो कार्यक्रममा उहाँले पहिलोपटक क्रान्तिकारी गीत गाउनु भएको टुहुरे दाइले उहाँको छोटो परिचय लेखनमा बताउनु भएको थियो। 

किसानको मुटु छामेर हेर क्रान्तिको ज्वाला दन्केकै छ। 

मजदुरको मुटु छामेर हेर ज्वाला त यहाँ रन्केकै छ। 

होसियार सामन्तीहरु हो।

त्यसताका काठमाडौंबाट विद्यार्थीहरुको सचेत समूहहरु पूर्वको झापातिर राजनैतिक संगठन गर्न जाने क्रममा जेबी टुहुरे पनि झापाको ‘रमाइलो झोडा’मा भएको ‘झोडा काण्ड’को नजिक रहेर धामी गीत गाए। 

धामी बस्दा ढ्याङग्रो ठोकेर वा थाल ठोकेर फलाक्ने भाकालाई जेबी दाइले संकलन गरेर बनाएको गीतः

हे नि बालाउ,

विर्खे साहुको वारी नि..

तितेपो घारी ए हो साइलाउ ....

च्यान्टे र भुन्टे नि बाघैको मुखमा परे ....

यही भाकामा जेबी दाइले क्रान्तिकारी शब्द राखेर गाउनु हुन्थ्यो। 

‘गरिब गुरवाहरु उठ उठ है अब चुप लागेर बस्नु हुँदैन। 

तिमीले सामन्तीका विरुद्ध नउठे यो देश त बन्दै बन्दैन।’

यो गीत गाउँमा खुबै चर्चित भयो यो गीत। उनको गीत सुन्न गाउँगाउँका मान्छे भेला हुन्थे। जनतामा जेबी टुहुरेले गाउने भनेपछि झुम्मिन्थे। स्वर मिठो थियो। लोक पारामा गाउनुहुन्थ्यो। 

यो गीत कम्युनिष्ट भावनाभित्र आबद्ध भएर भूमिगत, अर्धभूमिगत गायक भएर जेबी दाइ सक्रिय हुन थालेका थिए। 

एक वर्ष जति पछि त उहाँको संगत मनमोहन अधिकारी, भरतमोहन अधिकारीजस्ता नेताहरुसँग हुन थाल्यो। भरतमोहन अधिकारी त साथीजस्तै थिए।

२०२२–०२३ सालतिर जेबी दाइले रेडियोमा गीत गाएर रेडियो गायक जुठबहादुर भनेर परिचय बनाइसकेका थिए। धरानमा एल पी जोशी, नविन किशोर राई, दिप श्रेष्ठहरुको कार्यक्रममा उनी गाउँथे। रेडियोमा गीत गाएर चर्चा बटुलेपछि बिराटनगर धरानतिरका प्रगतिशिल भावना भएका साथीहरुसँग जेबी दाइको संगत बाक्लियो। २०२४ सालतिर दाइले जनतामाथि हुने अन्याय अत्याचारको विरुद्धमा गीत बनाउने, गाउने र गाउगाउका जनतालाई जागरण गाउ पस्न थाले। 

एक वर्ष जतिपछि त उहाँको संगत मनमोहन अधिकारी, भरतमोहन अधिकारीजस्ता नेताहरुसँग हुन थाल्यो। भरतमोहन अधिकारी त साथीजस्तै थिए।

त्यो समय पूर्वको नेपाल कम्युनिष्ट पार्टी ‘मेचीकोसी प्रान्तीय कमिटी’ को जिम्मेवारीभित्र टुहुरे दाइ पनि हुनुुहन्थ्यो। टुहुरेले नै ‘सांस्कृतिक जागरण अभियान’ पनि सञ्चालन गर्ने कुरा गरेका थिए। ०२८ सालको छेउछाउमा धरानमा ‘नयाँ लहर’ भन्ने सांस्कृतिक टोली बनाए। नयाँ लहरमा क्रान्तिकारी गीतहरु गाउन थाले। त्यही बेला टुहुरे दाइले धरानमा एउटा गीत गाएः 

‘जान्न म त नि गोर्खा भर्ती मलाया छाउनीमा, पापी मोरो कुहिरोको देशैमा ....

यो गीत गाएर धरानको बृटिश क्याम्पबाट लाहुरे हुन जाने नेपाली युवाहरुको अवस्थालाई जनताको माझमा गीतबाटै सन्देश दिन थाले। उहाँको मिल्ने साथी लव प्रधानले रचना गरेको गीत– बसाइ हिँड्नेको ताँतीले .। जस्तो गीत त प्रत्येक गोप्य भेला, बन्द–सत्र तथा सभाहरुमा जेबी टुहुरेको प्रस्तुति रहन्थ्यो। यहाँसम्म आइपुग्दा जेबी दाइ सांस्कृतिक नेता अझै बन्न सक्नु भएको थिएन।

धेरै प्रगतिशिल गीतहरु गाउँदै हिँड्ने क्रममा २०३३ सालमा एकदेव ग्वालीले रचना गरेको गीत गाउनु भयो। 

आमा दिदी बैनी हो कति बस्छौं दासी भई सुखको सधैं प्यासी बनेर..

यही गीत मैले २०३४ सालमा रामेश दाइको कोठामा सुन्न पाएँ जेबी दाइबाट।

२०३५–३६ सालको विद्यार्थी आन्दोलनको सफलतापछि नेपालमा दुईवटा चर्चित सांस्कृतिक आन्दोलन चलेको थियो। एउटा बेदना र अर्को संकल्प। संकल्पको नेतृत्व रामेश, मन्जुलहरुले गरेका थिए। त्यही क्रममा जेबी दाइ संकल्पसँग जोडिनु भयो। 

त्यसपछि जेबी टुहुरेका गीतहरु निकै कालजयी भए। जसलाई जनबादी गायक, जनताका गायक भनियो। 


जेबी टुहुरेसँग लेखक प्रधान (बायाँ)

नयाँ लहर कार्यक्रमसँगै जेबी दाइ २०३३ सालतिर पूर्व नेकपा (माले) कोअर्डिनेशन कमिटी’भित्रको सांस्कृतिक संगठनको मूक्ति मोर्चा सम्पर्कभित्र रहनु भयो।  

जननेता मदन भण्डारी, जीवराज आश्रित र मोदनाथ प्रश्रितहरुले चलाएको पार्टीको मुक्ति मोर्चाको नजिकमा रहनुभएको थियो दाइ। त्यहीबेला नेकपा माले बन्नुभन्दा अगाडि ‘कोअर्डिनेशन कमिटी’नेकपा भन्ने थियो। जसमा सिपि मैनाली, माधव नेपाल, केपी ओलीहरु थिए। ओलीचाहिँ जेलभित्र थिए। 

२०३५–३६ सालको विद्यार्थी आन्दोलनको सफलतापछि नेपालमा दुईवटा चर्चित सांस्कृतिक आन्दोलन चलेको थियो। एउटा बेदना र अर्को संकल्प। संकल्पको नेतृत्व रामेश, मन्जुलहरुले गरेका थिए। त्यही क्रममा जेबी दाइ संकल्पसँग जोडिनु भयो। 

पार्टी चलाउने सम्बन्धमा नेकपा मालेमा भने जेबी दाइ पनि भण्डारी, आश्रित, प्रश्रितहरुको बिचमा कलाकार साहित्यकारका रुपमा आबद्ध हुनु भएको थियो। 

प्रश्रित सांस्कृतिक मोर्चाका अध्यक्ष थिए। जेबी दाइ केन्द्रीय सदस्य हुनुहुन्थ्यो भने हामीचाहिँ केन्द्रीय सचिवालय सदस्य थियौं। जेबी दाइको संगीत फाँटमा जिम्मेवारी भएको हुनाले उहाँको निर्देशनमा नाच्ने गाउने बजाउने र गाउने गथ्र्यौं। 

हामी जेबी दाइको गीतको कोरस तथा बाद्यवादनमा साथ दिन्थ्यौं। कहिलेकाहिँ कार्यक्रममा गीत पनि गाउन पाइन्थ्यो। आफ्नो प्रस्तुति दिन पाउने अवसर पनि दाइले नै जुराइदिनुहुन्थ्यो। 

संगठनमा जोडिएपछि बिराटनगर आउजाउ बाक्लै हुन थाल्यो। जबजब विराटनगरमा पुग्थ्यौं, दाइको सितल लज होटलमा बस्थ्यौं। त्यतैबाट २०३७, ३८, ३९ सालतिर त प्रगतिशिल कलाकार टोली कलकत्ता, बनारस, दार्जिलिङ, राँचीदेखि काठमाडौैंसम्म जेबी दाइको नेतृृत्वमा हिँडियो। 

२०४६ सम्मै ‘हाम्रो गीत हाम्रो आवाज’ व्यानरमा धरान र विराटनगरका प्रगतिशिल कलाकारको टोली काठमाडौं आउने कार्यक्रम गर्ने गरेका थिए। हामीलाई पनि उक्त कार्यक्रममा दाइले सहभागि गराउनु भएको थियो। 

२०४६ को आन्दोलनपछि जेबी दाइ काठमाडौं नै बस्ने गरी आउनु भयो। 

‘मेचीकाली अभियान’ नाम दिएर नेतृत्व गर्नुको अभियानलाई उहाँले देशैभरि लिएर हिँड्नु भयो। गाउँगाउँका जनतालाई जागरण गीत सुनाउनु भयो। जनतालाई जागरुक गराउनु भयो। उहाँका गीत सुनेर धेरै मानिसहरु जागरणमा सहभागि भए। आन्दोलनमा हौसिए। जनवादी गीतसंगीत रोजे। क्रान्तिकारी हुन उहाँका गीतले धेरै प्रभावित पार्थ्यो। 

कयौपटक गीत गाउँदा गाउँदै प्रहरीले स्टेजबाटै समाउँथ्यो। तैपनि जेबी दाइ कहिल्यै आफ्ना गीतलाई रोक्नु भएन। तीस वर्षीय निर्दलीय व्यवस्थाको विरुद्ध आफ्नो स्वरले क्रान्तिकारी गीत गाउनु सहज थिएन। 

उहाँले भारतको विभिन्न प्रान्तमा हुने कार्यक्रममा लिएर जानुभयो। उहाँले हङकङमा हुने कार्यक्रममा पनि कलाकार लिएर जानुभयो। हङकङमा दुईपटक पुग्नुभयो। हङकङमा त एकल साँझ र सामूहिक सांगीतिक साँझ गर्नु भएको थियो। 

कयौपटक गीत गाउँदा गाउँदै प्रहरीले स्टेजबाटै समाउँथ्यो। तैपनि जेबी दाइ कहिल्यै आफ्ना गीतलाई रोक्नु भएन। तीस वर्षीय निर्दलीय व्यवस्थाको विरुद्ध आफ्नो स्वरले क्रान्तिकारी गीत गाउनु सहज थिएन। 

२०४९ सालमाबाँबरी मस्जिद आक्रमण गरेको कार्यक्रममा म जान पाइनँ। त्यो समय दाइले कलाकारको निकै ख्याल राख्नु भएको चर्चा पछि सुनेको थिएँ। उहाँको बानी कलाकारलाई आफ्नै सन्तानजस्तो गर्नुहुन्थ्यो। अनुशासनको कुरामा भने निकै कडा हुनुुहुन्थ्यो। बुटवल र नेपालगन्जको केही कलाकारलाई अनुशासनमा बसेनन् भने निष्कासन नै गर्नु भएको थियो। 

कलाकारलाई घडी हेरेर परिचालित गर्नुहुन्थ्यो। आफ्नो विचार र समयसँग सधै इमान्दार हुनुभयो। 

२०५० जेठ ३ गते, जननेता मदन भण्डारी र जीवराज आश्रितको दुर्घटनामा मुत्यु भएपछि शवयात्रा रंगशालाबाट निस्किन लागेको थियो। त्यो बेला अनिल पौडेलले रचेको जेबी दाइको संगीत गरेको गीत उहाँले गाउँदा सारा मलामीलाई रुवाएको थियो– मुत्यु पनि मान्छेपिच्छे फरक पर्दोरहेछ ...।

उहाँको संगतले मैले पनि शब्द कोर्न सिकें। २०५२ सालमा उहाँले मेरो ३ वटा गीत गाइदिनु पनि भयो।

मधु गुरुङ र जेबी दाइले गाइदिनाले म पनि चिनिएँ। मेरा शब्दलाई गोपाल योन्जनसँग मिलेर रेकर्ड गर्नु भएको थियो।

०००

दाइको एउटा बानीचाहिँ निकै याद आउँछ। उहाँ मासुको तरकारी बिना भात खानुुहुन्न थियो। जहाँ कार्यक्रममा पुगेपनि खानामा के तरकारी छ भनेर सोध्ने गर्नुहुन्थ्यो। साकाहारी होटलमा पनि उहाँलाई मासुको जोहो गर्नुपर्थ्यो। 

‘मासु बिनाको भात के खाने’ खाना खान बस्यो भने भनिहाल्नुहुन्थ्यो। एक टुक्रा मासु भएपनि हुनुपर्थ्यो। पछिपछि ललितपुरको नखिपोट छेउछाउ दाइ र म प्रायः धराने बुँगुरको सेकुवा खाना गइरहन्थ्यौं।

उहाँ ६५ वर्ष हुँदासम्म गइन्थ्यो सेकुवा खान। त्यो बेला प्रेसर र सुगर थियो उहाँलाई। डाक्टरले मुख बार्न भनेका थिए। बारी राखेको छु भन्नुहुन्थ्यो। 

मदिरा पिउने आदत भने कमै थियो। सकेसम्म कार्यक्रम सकेर कहिलेकाहिँ पिउनुहुन्थ्यो हामीसँगै रमाइलो मानेर। पिउँदा पनि गीतसंगीतकै कुरा गर्नुहुन्थ्यो। तर रिहर्सलमा भने आफ्नो गीतको लागि दाइ त्यति गम्भीर भएको देखिन। लोकगीत संकलन आफै भएकोले गाउन सकिन्छ भन्ने विश्वास थियो उहाँलाई। हामीले मरिमेटेर अभ्यास गर्थ्यौं तर दाइ त्यति गम्भीर भएको देख्थिन।

उहाँ ६५ वर्ष हुँदासम्म गइन्थ्यो सेकुवा खान। त्यो बेला प्रेसर र सुगर थियो उहाँलाई। डाक्टरले मुख बार्न भनेका थिए। बारी राखेको छु भन्नुहुन्थ्यो। 

‘लोकगीत हो स्टेजमा मिलाइहालिन्छ’ भन्नुहुन्थ्यो। तर स्टेजमा दर्शकले जोशमा बजाएको तालीले हाम्रो गीतको लयलाई बिथोलिदिन्थ्यो। त्यतिखेर दाइ जोशिएर गाइदिनुहुन्थ्यो। वाद्यवादकहरु सब अलमल पर्थे। 

उहाँले गीत गाउँदा गीत लेखेको कागज अगाडि हातमा या स्टेन्डमा हुन्थ्यो। छुट्थेन। बिर्सिने बानी त होइन। तर सजिलो महशुस गर्नुहुन्थ्यो। 

कार्यक्रम सकेपछि प्रायः बच्चु कैलाशको गीत गाउनुहुन्थ्यो– टाढा टाढा जानु छ साथी....

एउटा ठाउँबाट अर्को ठाउँमा जानु टाढै हुन्थ्यो। नौलो हुन्थ्यो। त्यसैले प्रायः उहाँ यही गीतबाट सबैलाई थाहा दिनुहुन्थ्यो।  

जीवनको ५० वर्ष एमालेमा बिताएका जेबी दाइले रातारात पार्टी छोड्नुभयो। यतिसम्म कि रातदिन उहाँसँग गीत गाउँदै हिडेका गायक कलाकार साथीलाई समेत थाहा नदिई २०६६ सालमा माओवादीमा प्रवेश गर्नुभयो। माओवादीबाट सभासद हुनुभयो। सांस्कृतिक संगठनमै सल्लाहकार भएर काम गर्नुभयो।

पार्टी परिवर्तन गरे पनि जेबी दाइ कहिल्यै टाढा हुनु भएन। भेटघाट भइरहन्थ्यो। २००१ सालमा धरानमा जन्मिएका जेबी दाइ बाल्यकालदेखि नै नाचगान रुचाउनु हुन्थ्यो। के सुनेको थिएँ भने दाइ सानोमा केटी भएर पनि नाच्ने गर्नुहुन्थ्यो रे। 

बिराटनगर, धरानको कुनै पनि स्टेज बाँकी छैन होला उहाँ नउक्लिएको। पारिजात कला पुरस्कार २०६२ का लागि उहाँको परिचय मैले नै लेख्ने अवसर पाएको थिएँ। कक्षा नौसम्म पढेर शिक्षण पेशामा समेत लागेका जेबी दाइले गीतसंगीतमै निरन्तर लाग्नुभयो। आफ्नो सातवटा दशक नेपाली जागरण गीत गाएरै बिताइदिनुभयो, 

बसाइँ हिँड्नेको ताँतीले 

बस्नेको मन रुवाउँछ 

लाखौंको लागि उजाड यो दिल 

मुठीभरलाई त स्वर्ग छ। 

मुठीभरलाई त स्वर्ग छ। 

(नेपाल समयका राज सरगमसँगको कुराकानीमा आधारित) 

प्रकाशित: Aug 28, 2021| 16:25 शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।