बुधबार, असोज ७, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • प्रधानन्यायाधीशले छाडे संवैधानिक इजलास, निधि भन्छन्- मेरो उम्मेदवारी कसैलाई रिटायर गर्न होइन [२०७८-५-११]

प्रधानन्यायाधीशले छाडे संवैधानिक इजलास, निधि भन्छन्- मेरो उम्मेदवारी कसैलाई रिटायर गर्न होइन [२०७८-५-११]

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध बहस हुने संवैधानिक इजलासबाट बाहिरिने निर्णय गरेका छन्।
 |  शुक्रबार, भदौ ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ११, २०७८

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध बहस हुने संवैधानिक इजलासबाट बाहिरिने निर्णय गरेका छन्। 

राणालाई नै विपक्षी बनाएर दायर गरिएको रिटमा प्रधानन्यायाधीश नै सहभागी हुने संवैधानिक इजलासमा सुनुवाइ हुँदा मुद्दा प्रभावित हुने भन्दै कानुन व्यवसायीले प्रश्न उठाएपछि राणाले इजलासबाट बाहिरिने निर्णय गरेका हुन्। शुक्रबार पेसी तोकिएलगत्तै सुनुवाइका लागि बहस सुरु हुने क्रममा नै रिट निवेदक कानुन व्यवसायी ओमप्रकाश अर्यालले प्रधानन्यायाधीशको इजलासमा सहभागिताबारे प्रश्न उठाएका थिए। 

त्यसपछि छलफलमा जुटेका प्रधानन्यायाधीश राणाले इजलासबाट बाहिरिने निर्णय लिएको सर्वोच्च अदालत स्रोतले जनाएको छ। स्रोतका अनुसार अब प्रधानन्यायाधीश रााणा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सम्बन्धि रिटको पेसी तोक्ने र फैसला हुने दिनमा अनुपस्थित रहने छन्। प्रधानन्यायाधीश राणाको अनुपस्थितिमा पेसी तोक्ने र इजलासको नेतृत्व गर्ने काम वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले गर्नेछन्। संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर भएका रिटमाथिको सुनुवाइ आगामी शुक्रबार हुनेछ। 

000

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्। 

शुक्रबार नयाँ बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै निधिले आगामी निर्वाचनपछि नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि आफूले महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिन लागेको बताएका हुन्। उनले आफूले कसैलाई पराजित गर्न र कसैलाई असक्षम घोषित गर्नका लागि सभापतिको उम्मेदवार बन्न नखोजेको पनि स्पष्ट परेका छन्। आफू कसैलाई रिटायर्ड गराउनका लागि सभापतिको उम्मेदवार नभएको उल्लेख गर्दै उनले कांग्रेसलाई मजबुत बनाउँदै रुख छापलाई हिमाल, पहाड, मधेशमा स्थापित गराउन र मतदाता र जनतासँग जोड्न आफ्नो उम्मेदवारी रहेको बताए।

उपसभापति निधीले नेपाली कांग्रेसको दूरदर्शिताका कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै वर्तमान प्रणाली र संविधानको स्वामित्व नेपाली कांग्रेसले लिनुपर्ने बताए। आफूहरु संघीयता र संविधानको सफल कार्यान्वयनको पक्षमा रहेको कुरा जनतालाई बुझाउन प्रष्ट र वैचारिक रुपमा शसक्त ढंगले प्रस्तुत हुनुपर्ने बताए। 

महाधिवेशनको तयारीका लागि निधिले सम्पर्क कार्यालय खोलेका हुन्। सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा कांग्रेसका नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो। कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराका जिल्ला सभापति कर्ण मल्लसहितका एक दर्जन जिल्ला सभापति पनि उपस्थित थिए।

000

निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी र  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता भएको जानकारी संघीय संसद सचिवालयमा पठाएको छ। 

माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा ३० र लोसपामा १४ संघीय सांसद रहेको विवरण आयोगले संसद सचिवालयलाई पठाएको हो। एमालेबाट निर्वाचित थप चार सांसदले पनि एकीकृत समाजवादीमा रहन चाहेको निवेदन दिएको पनि आयोगले संसद सचिवालयलाई जानकारी गराएको छ। नयाँ दल दर्ताका लागि निवेदन दिँदा हस्ताक्षर नगरेका सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र शारदादेवी भट्टले भदौ ९ गते सनाखत गर्न पाउँ भन्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए। 

सरकारले २० प्रतिशत संघीय संसद वा केन्द्रीय समितिमा पर्याएर दल विभाजन गर्न पाउने गरी अध्यादेश ल्याएपछि एमाले फुटेर नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी फुटेर लोकतान्त्रिक समाजवादी पार्टी बनेको हो। दुबै दललाई निर्वाचन आयोगले ९ भदौमा मान्यता दिएको थियो।

000

प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारमा जाने विषयमा कुनै पनि छलफल नभएको नवगठित लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले जनाएको छ। 

प्रधानमन्त्री देउवाले मन्त्रीपरिषदलाई पूर्णता दिने तयारी गरिरहेका बेला नवगठित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारमा जाने विषयमा आफ्नो पार्टीसँग कुनै छलफल नभएको प्रष्टयाउनु भएको हो। 

शुक्रबार बबरमहलस्थित आफ्नै पार्टीको केन्द्रिय कार्यालयमा संञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले पार्टी दर्ता नै भर्खर भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सोधे मात्रै सरकारमा जाने विषयमा आफूहरुले आवश्यक निर्णय गर्ने पनि स्पष्ट पारे। 

अध्यक्ष ठाकुरले सत्तारुढ गठबन्धनसँग चुनावी तालमेल गर्ने वा नगर्ने विषयमा पनि पार्टीले धारणा तय गरि नसकेको स्पष्ट पारे। 

000

दुई दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानहरु डुवानमा परेका छन्। लगातारको वर्षासँगै आएको वर्षासँगै आएको बाढीका कारण महोत्तरीमा रातु नदीको बाँध भत्किदा सयौँ घर डुबानमा परेको छन्। बलबा नगरपालिका वडा नम्बर ४ स्थित तिलगढमा बाँध भत्किँदा वस्ती नै डुबानमा परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बाढी बस्तीमा पुग्दा झण्डै ९ सय घर डुबानमा परेको छ।

यस्तै भारी वर्षाका कारण नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार डुबानमा परेको छ। परासी हुँदै बगेको झरही नदीमा पानी ओभर फ्लो हुँदा बाढी बजारमा पसेको हो। बाढी पसेर बजारको अधिकांश स्थान जलमग्न भएको छ। सयौं घरमा बाढी पसेर खाद्यान्न, लत्ताकपडा, फर्निचरका सामानलगायतमा क्षति पुगेको छ।

त्यस्तै अविरल वर्षाका कारण रुपन्देहीका विभिन्न क्षेत्र पनि डुबानमा परेका छन्।  जिल्लाका दक्षिणी क्षेत्र लुम्बिनी, मर्चवारलगायतका धेरै ठाउँमा वर्षाले बढी असर गरेको प्रहरीले जनाएको छ। वर्षाका कारण भैरहवा, ओमसतिया, तिलोत्तमा, रुद्रपुरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। यसैगरी बाँकेको नेपालगञ्ज आसपासको क्षेत्र पनि जलमग्न भएको छ। निरन्तर परिरहेको वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका अधिकांश क्षेत्र डुबानमा परेको हो।

बाढीपहिरोकै अर्को प्रसंगमा अविरल वर्षाका कारण आएको बाढीले बगाउँदा नवलपरासीमा दुई जनाको मृत्यु भएको छ। बाढीले बगाएर एक जना बेपत्ता भएका छन्।

मृत्यु हुनेमा रामग्राम नगरपालिका–१८ बञ्जरियाका ३७ वर्षीय विनोद प्यासी र उनका छोरा १३ वर्षीय प्रदीप रहेका जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायब उपरीक्षक राजु लामाले बताए। सुनवल नगरपालिका–१४ की एलिसा तामाङ बेपत्ता भएकी हुन्। घरमा बाढी पसेपछि ज्यान बचाउन निस्किँदा खेतमा डुबेर उनीहरूको मृत्यु भएको लामाले जानकारी दिए। उनीहरूको शव केही तल खेतमा फेला परेको थियो।

तामाङको अवस्था भने अहिलेसम्म अज्ञात रहेको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक कृष्ण धितालले जानकारी दिए। उनलाई पनि बाढीले बगाएको प्रहरीको अनुमान छ। रातिदेखिको भीषण वर्षाले नवलपरासी सदरमुकाम परासी बजार डुबानमा परेको छ। 

यता गृहमन्त्री बालकृष्ण खाँडले बाढी पहिरो प्रभावित क्षेत्रमा उद्दार र राहतमा सक्रिय हुन सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

गृहमन्त्रालयमा शुक्रबार बसेको विपत्त ब्यावस्थापन समितिको बैठकमा गृहमन्त्रीले तत्काल प्रभावित क्षेत्रमा उद्दारका लागि खटिन निर्देशन दिएका हुन्। गृहमन्त्रीले देशभर बाढीपहिरो र त्यसले पुर्‍याएको क्षतिको बारेमा जानकारी समेत लिएका छन। बैठकमा अबरुद्ध राजमार्गमा सवारी साधन सञ्चालनको लागि अन्य बैकल्पिक उपाय अपनाउन पनि भनिएको छ।

बाढीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत  बुटवल नारायण खण्ड तुरिया र घोडाहा खोलामा रहेको दुई पुल भत्किएको र सडक अबरुद्ध  भएको भन्दै त्यस स्थानमा तत्काल बेलिबृज बनाउन पनि सम्बन्धीत निकायलाई निर्देशन दिइएको छ। प्रभावित क्षेत्रमा बासिन्दालाई सरकारी कार्यालय र विद्यालयमा सिविर बनाएर बस्ने व्यवस्था मिलाउन पनि गृहमन्त्री खाँडले निर्देशन दिएका छन्। 

000

नेपालमा पछिल्लो २४ घण्टामा थप २०६५ जनामा कोरोना भाइरस संक्रमण भएको छ। कोरोना भाइरस संक्रमणबाट शुक्रबार २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको छ। योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६६३ पुगेको छ। पछिल्लो २४ घण्टामा २३३७ जना संक्रमित कोरोना मुक्त भएका छन्। 

अहिलेसम्म सात लाख आठ हजार २३० जना निको भएका छन्। निको हुने दर ९३.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। यस्तै आज नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ५९९ रहेको छ।

अब अन्तर्राष्ट्रिय समाचार

काबुल विमानस्थलमा बिहीबार भएको आक्रमणको जिम्मा ‘आईएसआईएस–के’ समूहले लिएको छ। बिहीबार बेलुका भएको विस्फोटमा कम्तीमा ९० जनाको मृत्यु भएको छ भने सयौं घाइते घाइते भएका छन्। आक्रमणको जिम्मा लिने ‘आईएसआईएस–के’ को पूरा नाम इस्लामिक स्टेट खोरासन प्रोभिन्स हो। जो अफगानिस्तान र पाकिस्तानमा सक्रिय चर्चित आईएस समूहको क्षेत्रीय सहयोगी हो।

अफगानिस्तानमा रहेका विद्रोही समूहमध्ये यसलाई सबैभन्दा अतिवादी र हिंसात्मक समूह मानिन्छ। इराक र सिरियामा आईएस सबैभन्दा शक्तिशाली रहेका बेला सन् २०१५ को  यो खडा भएको हो। आईएसआईएस केमा धेरै सदस्य तालिबानका पूर्वलडाकुहरू छन्। आईएसआईएस–केलाई कन्या विद्यालय, अस्पताल र प्रसूति वार्डमा गरिएका हिंसात्मक आक्रमणका लागि जिम्मेवार मानिएको छ। एउटा आक्रमणमा उनीहरूले गर्भवती महिला र नर्सहरूको समेत हत्या गरेका थिए।


प्रकाशित: Aug 27, 2021| 20:10 शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।