काठमाडौं– संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर भएका रिटमाथिको सुनुवाइ आगामी शुक्रबारका लागि तोकिएको छ। रिटमाथि प्रारम्भिक सुनुवाइका लागि शुक्रबारका लागि पेसी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
अदालतका अनुसार रिटमाथिको प्रारम्भिक सुनुवाइ र अन्तिम सुनुवाइको दिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा अदालतमा अनुपस्थित हुने भएका छन्। राणा अनुपस्थित हुने दिन वरिष्ठतम न्यायाधीशका रुपमा कामु प्रधानन्यायाधीश तोकिने न्यायाधीशले मुद्दाको पेसी तोक्ने जनाइएको छ।
उनले नै आगामी शुक्रबार रिटको सुनुवाइका लागि गठन हुने संवैधानिक इजलासको नेतृत्व गर्नेछन्। अहिले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश राणापछि वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की छन्। २०७७ मंसिर ३० गते र त्यसपछि जारी भएका अध्यादेशविरुद्ध संवैधानिक इजलासमा चलिरहेको मुद्दामा विपक्षी बनाइएका प्रधानन्यायाधीश राणा सुनुवाइमा संलग्न हुन नपाउने भनेर प्रश्न उठेपछि शुक्रबार उनले आफू इजलासबाट अलग हुने निर्णय गरेका हुन्।
९ महिनाअघि दायर भएको रिटमा अहिलेसम्म सुनुवाइ हुन सकेको थिएन। आज मुद्दाको रिटमा सुनुवाइ तोकिएको थियो। तर, रिट निवेदक अधिवक्ता ओमप्रकाश अर्यालले शुक्रबार बहसका क्रममा विपक्षी रहेका प्रधानन्यायाधीश राणा इजलासबाट अलग हुनुपर्ने माग राखेका थिए।