बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कतार जहाँ नेपाली श्रमिक मरिरहन्छन्- न छानबिन हुन्छ न परिवारलाई क्षतिपूर्ति

कतार जहाँ नेपाली श्रमिक मरिरहन्छन्- न छानबिन हुन्छ न परिवारलाई क्षतिपूर्ति

'उहाँको अचानक मृत्युको खबर सुन्दा पत्याउनै गाह्रो भयो...मेरो श्रीमानलाई आगो लगायो।आफू तेलमा जलिरहेको जस्तो मलाई लाग्छ।'
 |  शुक्रबार, भदौ ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ११, २०७८

काठमाडौं-४० वर्षीय मन्जुर खाँ पठान ट्रक चालकका रूपमा दैनिक १२ देखि १३ घण्टा काम गर्थे। आफ्नो क्याबिनमा एयर कन्डिसनिङ खराब भएको गुनासो उनको थियो।सन् २०२१ फेब्रुअरी ९ मा आफ्नो बस्ने ठाउँमा ढले र एम्बुलेन्स आउनुअघि नै उनको मृत्यु भयो।

३२ वर्षीय सुजन मियाँ मरुभूमिको एउटा परियोजनामा पाइप फिटर थिए। सहकर्मीहरूले उनलाई सन् २०२० सेप्टेम्बर ९ को बिहान ओछ्यानमा मृत अवस्थामा फेला पारेका थिए।सुजन मियाँको मृत्युको चार दिनअघि तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी थियो।

३४ वर्षीय तुलबहादुर घर्ती निर्माण कार्यमा संलग्न थिए।३९ डिग्री सेल्सियससम्मको तापक्रममा दस घण्टा काम गरेपछि सन् २०२० मेई २८ का दिन सुतेको बेलामा उनको मृत्यु भएको थियो।

३४ वर्षीय सुमन मियाँ निर्माणकार्यमा संलग्न थिए।३८ डिग्री सेल्सियससम्मको तापक्रममा लामो समय काम गरेपछि सन् २०२० फेब्रुअरी २२ का दिन उनको निधन भएको थियो।

३४ वर्षीय यमबहादुर राना विमानस्थल सुरक्षा गार्डका रूपमा काम गर्थे।यो काममा घाममा बाहिर लामो समय बसेर काम गर्नुपर्थ्यो।सन् २०२० फेब्रुअरी २२ का दिन कामको क्रममा उनको निधन भएको थियो।

३४ वर्षीय मोहम्मद काओचर खान प्लास्टर गर्थे।सन् २०२० नोभेम्बर १५ का दिन आफ्नो ओछ्यानमा मृत अवस्थामा भेटिएका थिए।

कतारमा पछिल्ला दिनमा मृत्यु भएका यी छ आप्रवासी श्रमिक हुन्। चारजना निर्माण कार्यमा संलग्न श्रमिक, एकजना सुरक्षाकर्मी र एकजना ट्रक चालक यी पुरुषमध्ये कसैलाई पनि स्वास्थ्यसँग सम्बन्धित समस्या थिएन। कतार जानुअघि सबैजनाले अनिवार्य चिकित्सा परीक्षण गरेका थिए।

यमबहादुर रानाकी पत्नी भुमिसाराले भनिन्, "मेरो श्रीमान् लामो समयसम्म घाममा बस्नैपर्थ्यो। सुख्खापना र गर्मीले गर्दा उहाँलाई हृदयाघात भएको जस्तो मलाई लाग्छ किनभने उहाँ बिरामी हुनुहुन्छ भनेर मलाई थाहै थिएन।" 

काम गर्ने वातावरण असुरक्षित हुँदा कतारमा बर्सेनि श्रमिकहरुको ज्यान जाने गरेको छ। तर उनीहरुको मृत्युका सम्बन्धमा अनुसन्धान गर्न कतारी अधिकारीहरू असफल  छन्। यमबहादुर रानाकी पत्नी भुमिसाराले भनिन्, "मेरो श्रीमान् लामो समयसम्म घाममा बस्नैपर्थ्यो। सुख्खापना र गर्मीले गर्दा उहाँलाई हृदयाघात भएको जस्तो मलाई लाग्छ किनभने उहाँ बिरामी हुनुहुन्छ भनेर मलाई थाहै थिएन।"

तुलबहादुर घर्तीकी पत्नी बिपना पनि पतिलाई लागेको रोगबारे अनभिज्ञ छिन्। उनले भनिन्, 'आफूलाई कुनै पनि रोग भएको कुरा उहाँले भनेको मैले कहिल्यै सुनेकी थिइनँ...उहाँको अचानक मृत्युको खबर सुन्दा पत्याउनै गाह्रो भयो...मेरो श्रीमानलाई आगो लगायो।आफू तेलमा जलिरहेको जस्तो मलाई लाग्छ।"


सप्तरीको बेल्ही गाउँका बालकिसुन मण्डलको शवको बाकसअघि भेला भएका आफन्त। कतारमा काम गर्न गएका उनको सुतेको ठाउँमा निधन भएको थियो। तस्बिर : एम्नेस्टी इन्टरनेसनल

कतारले पर्याप्त अनुसन्धान नै नगरी यस्ता मृत्युहरू "प्राकृतिक कारण" वा अस्पष्ट रूपमा परिभाषित हृदयाघातको कारणले भएको जनाउँदै मृत्युका प्रमाणपत्रहरू जारी गरिरहेको एम्नेस्टीको इन द प्राइम अफ दियर लाइभ्समा उल्लेख छ।

यसरी जारी गरिएका प्रमाणपत्रहरूले पीडित परिवारले क्षतिपूर्ति पाउने सम्भावना हुँदैन। परिवारको कमाउने मुख्य जिम्मेवार व्यक्ति गुमाएपछि पीडित परिवारले आर्थिक कठिनाइको सामना गरिरहेको एम्नेस्टीले जनाएको छ।  

शारीरिक रूपमा निकै श्रम गर्नुपर्ने कार्य समयसँगै कतारको चरम तापक्रमका कारण श्रमिकमाथि उच्च जोखिम रहेको प्रतिवेदनमा औँल्याइएको छ।प्रतिवेदनमा उल्लेख छ, 'कतारले श्रमिकहरूका लागि केही नयाँ सुरक्षाहरू शुरुवात गरेको थियो तर मुख्य जोखिम अझै विद्यमान छन् र अधिकारीहरूले गर्मीसँग सम्बन्धित मृत्युको अनुसन्धान गर्न खासै प्रयास गरेका छैनन्।' 

एम्नेस्टीले प्रमुख चिकित्सा विशेषज्ञहरूसँग परामर्श,  १८ वटा मृत्यु प्रमाणपत्रहरूको विश्लेषण गर्नुका साथै  ३० देखि ४० वर्ष उमेरको बीचमा मृत्यु भएका ६ जना पुरुष श्रमिकको परिवारसँग अन्तर्वार्ता गरी उक्त प्रतिवेदन जारी गरेको हो।

आप्रवासी  श्रमिकहरूको मृत्युको मुख्य कारण छानबिन गर्न असफल हुनु भनेको कतारी अधिकारीहरूले केही महत्त्वपूर्ण सङ्केतहरूलाई बेवास्ता गरिरहेका छन् जसलाई सम्बोधन गरेको खण्डमा श्रमिकहरूको ज्यान जोगिन सक्दछ

"अत्यधिक गर्मीमा लामो समय काम गरेपछि जवान र स्वस्थ पुरुषहरूको अचानक मृत्यु हुँदा यसले कतारमा काम गर्ने अवस्थाको सुरक्षाबारे गम्भीर प्रश्न खडा गरेको छ। आप्रवासी  श्रमिकहरूको मृत्युको मुख्य कारण छानबिन गर्न असफल हुनु भनेको कतारी अधिकारीहरूले केही महत्त्वपूर्ण सङ्केतहरूलाई बेवास्ता गरिरहेका छन् जसलाई सम्बोधन गरेको खण्डमा श्रमिकहरूको ज्यान जोगिन सक्दछ”, एम्नेस्टी इन्टरनेसनलका आर्थिक तथा सामाजिक न्याय प्रमुख स्टिभ ककबर्नले भने।

यसरी  कतारी अधिकारीहरुले बाँच्न पाउने अधिकारको उल्लङ्घन गरेको ठहर एम्नेस्टीको छ। पीडित परिवारहरूको कानुनीउपचारको अधिकारलाई पनि अस्वीकार गरिरहेको प्रतिवेदनमा जनाइएको छ।

उनले भने, "आप्रवासी श्रमिकहरूको मृत्युको पूर्ण छानबिन गर्न हामी कतारी अधिकारीहरूसँग आग्रह गर्दैछौं। श्रमिकहरू अत्यधिक गर्मी जस्ता खतरनाक अवस्थाको सामना गर्दै आएका छन् र मृत्युको अन्य कुनै कारण स्थापित गर्न सकिँदैन भने कतारले पीडित परिवारहरूलाई पर्याप्त क्षतिपूर्ति दिनुपर्दछ।' 



कतारको दोहास्थित लुसाइल रंगशाला निर्माणमा खटिएका श्रमिक।  

एम्नेस्टी इन्टरनेसनलले सन् २०१७ देखि २०२१ को बीचमा कतारले जारी गरेको आप्रवासी श्रमिकका लागि १८ जनाको मृत्यु प्रमाणपत्रको अध्ययन गरेको थियो। तीमध्ये १५ वटाले मृत्युको मुख्य कारणबारे कुनै जानकारी प्रदान गरेको थिएन।

मृत्यु प्रमाणपत्रसम्बन्धी प्रमुख प्याथोलोजिस्ट तथा विश्व स्वास्थ्य संगठनको कार्य समूहका सदस्य डा. डेभिड बेलीले भने, "मुख्य कारण जनाउने थप व्यहोरा बिना यी वाक्यांशहरूलाई मृत्यु प्रमाणपत्रमा समावेश गर्नु हुँदैन। श्वासप्रश्वास वा मुटुको विफलताले गर्दा नै सबै जनाको मृत्यु हुन्छ र मृत्युको कारण नखुलाइएको वाक्यांशहरू अर्थहीन हुन्छन्।"

कतारी तथ्याङ्कले देखाएअनुसार सन् २०१० देखि सन् २०१९ को बीचमा सबै उमेर र पेसा समूहका १५,०२१ भन्दा बढी गैर-कतारीको मृत्यु भएको छ।

गार्जियनले गरेको एक अनुसन्धानमा समेत सन् २०१० देखि २०२० को बीचमा भारतीय, नेपाली र बंगलादेशी श्रमिकहरूको ६९ प्रतिशत  मृत्यु प्राकृतिक कारणले भएको कुरा जनाएको थियो।

कार्डियोलोजी नामक जर्नलमा प्रकाशित सन् २०१९ मा गरिएको एक अध्ययनले कतारमा नेपाली श्रमिकको गर्मी र मृत्युबीचको सम्बन्ध रहेको कुरा पत्ता लगाएको थियो। सन् २००९-२०१७ को अवधिमा भएको ५७१ [नेपाली अप्रवासी श्रमिकहरूको] मुटुको समस्याको कारणले भएका मृत्युहरूमध्ये २०० जति मृत्युलाई रोक्न सकिन्थ्यो भन्ने उक्त अध्ययनले निष्कर्ष निकालेको थियो। 

प्रकाशित: Aug 27, 2021| 06:15 शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।