वासिङ्टन : अमेरिकी नेतृत्वको सेनाले विमानमार्फत अझै हजारौँको उद्धार बाँकी रहेको बताइरहँदा अफगानिस्तानको काबुल विमानस्थलबाहिर ठूलो विस्फोट भएको अमेरिकी सेनाले बिहीबार पुष्टि गरेको छ।
अमेरिकी नेतृत्वको पश्चिमी सेनाले विमानस्थल परिसरमा पुगेका हजारौँ मानिसको दैनिक उद्धार गरिरहेका समय विमानस्थल छोड्न तालिवान समूहले चेतावनी दिएको बताइएको छ। विमानस्थलमा एसियाली मुलुकका नागरिक पनि उद्धारको पर्खाइमा रहेका हुनसक्ने अनुमान गरिएको छ।
पेन्टागनका प्रवक्ता जोन कर्बीले भने, “काबुल विमानस्थलबाहिर ठूलो विस्फोट भएको छ । यतिबेला विस्फोटबाट भएको हताहतबारे स्पष्ट जानकारी प्राप्त भएको छैन।”
आत्मघाती बम आक्रमणकारीले विमानस्थलमा आक्रमण गर्ने धम्की दिँदै आएको अमेरिकी र सम्बद्ध अधिकारीहरूले गोप्य सूचना पाएको बताएका छन्।
अमेरिकी सेनाले छिट्टै विमानस्थल छोड्ने अफवाह फैलिएपछि यसअघि कर्बीले एक ट्विटमार्फत् सम्प्रेषित सन्देशमा ‘काबुलमा उद्धार कार्य ३६ घण्टामा पूरा नहुने र मिशनको अन्त्य नभएसम्म हामी सकेसम्म धेरै मानिसहरूलाई उद्धार गरिरहनेछौं’ भनेका थिए। एएफपी