वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिका–२२ मा रहेको सर्वोत्तम स्टिल प्रालिको भट्टीमा विस्फोट भएको छ। बिहीबार भएको विस्फोटमा परी १५ कामदार घाइते भएको पर्सा प्रहरीले जानकारी दिएको छ। घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले उद्योगमा रहेको फलाम पगाल्ने भट्टीमा ग्यास चुहिँदा विस्फोट भई उद्योगमा आगलागी भएको बताए। घाइतेमध्ये १ जना नेपाली नागरिक हुन् भने बाँकी भारतीय हुन्।
घाइते हुनेमा नेपाली नागरिकमा बारा जिल्ला छातापिपराका २२ वर्षीय टिङ्कु दास छन्। घाइते भारतीय नागरिकमा भारत युपी लखनउका ५२ वर्षीय सन्तोष कुशवाह, २० वर्षीय सुशील कुमार, ३७ वर्षीय मानसा परिदा, ३० वर्षीय रामपुकार यादव, युपीकै ३८ वर्षीय चिङ्कु दास, १८ वर्षीय अमरनाथ सहनी, गगन नायक, खुशीनगरका ३५ वर्षीय धिरु सहनी, सिवानका ३० वर्षीय अरुण कुमार, बिहारका ५२ वर्षीय विनोद पाण्डे, २१ वर्षीय दीपक कुमार, दरभङ्गाका १८ वर्षीय रविकुमार दास, छपराका २२ वर्षीय अवधेशकुमार यादव र २२ वर्षीय निकुकुमार यादव रहेका छन्।
घाइतेमध्ये रामपुकार यादव, टिङ्कु दास, विनोद पाण्डे, सन्तोष कुशवाह, गगन नायक, मानसा परिदा र सुशील कुमारको अवस्था चिन्ताजनक रहेको प्रहरी नायब उपरीक्षक खनालले बताए।
गम्भीर घाइते भएकाको टाउको र शरीरको अधिकांश भाग जलेको र वीरगञ्जको गण्डकस्थित नारायणी वयोधा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
वीरगञ्ज महानगरपालिकाको वारुणयन्त्र, वडाप्रहरी कार्यालय श्रीपुर, जिल्ला प्रहरी कार्यालयका प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको प्रयासमा आगो निभाइएको थियो। सो आगलागीबाट उद्योगमा के–कति क्षति भयो भन्नेबारे यकिन विवरण आउन नसकेको पर्सा प्रहरीले जनाएको छ। रासस