आइतबार, वैशाख २३, २०८१

दुई निर्दोष सैनिकलाई न्यायको बाटो, फाइल झिकाउन अदालतको आदेश

सैनिकद्वय अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङको सम्पत्ति कसुरसम्बन्धी मुद्दामा सैनिक विशेष अदालतले फाइल झिकाउन आदेश दिएको छ।
 |  बिहीबार, भदौ १०, २०७८

अनिल यादव

अनिल यादव

बिहीबार, भदौ १०, २०७८

काठमाडौं– सैनिकद्वय अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङको सम्पत्ति कसुरसम्बन्धी मुद्दामा सैनिक विशेष अदालतले फाइल झिकाउन आदेश दिएको छ। 

triton college

एसएमजी ‘गन’ चोरी गरेको झुटो अभियोगमा साढे दुई वर्षदेखि जेल सजाय काटिरहेका गुरुङ र तामाङको मुद्दामाथि बिहीबार अग्राधिकारमा राखेर तोकिएको पेशीले यही मुद्दासँग सम्बन्ध रहेका गंगाधर ढकाल, तारा तामाङ र टाइचिन भनिने पवन गुरुङको फाइल झिकाउन आदेश दिएको हो। 

‘जुन हतियार चोरी गरेको अभियोगमा साढे दुई वर्षअघि लवकुमार र सरोजलाई सजाय दिइएको थियो, अहिले त्यही हतियार चितवनमा भएको भरत गुरुङको हत्यामा संलग्न गंगाधर ढकालको साथबाट भेटिएपछि सेनाले उनीहरुविरुद्ध हतियार चोरी गरेको अभियोगमा अभियोगपत्र (चार्ज सिट) दर्ता गरेको छ। आजको इजलासले त्यही फाइल मगाउन आदेश दिएको हो,’ लवकुमार र सरोजको तर्फबाट बहस गरेका अधिवक्ता अरुण पौडेलले जानकारी दिए। उनी नेपाल बार एसोसिएसनका पूर्व केन्द्रीय सदस्यसमेत हुन्। उनीसँगै अधिवक्ता सोमनाथ ढुंगानाले पनि पीडित दुई सैनिकको तर्फबाट बहस गरेका थिए। 

योसँगै लवकुमारकी जेठी सासू तारा तामाङ र भाइ टाइचिन भनिने पवन गुरुङले पाएको सफाइको फाइल पनि अदालतले मगाएको अधिवक्ता पौडेलले बताए। 

जतिबेला लवकुमार र सरोजलाई हतियार चोरेको अभियोगमा ‘निगरानी’ भन्दै सैनिक हिरासतमा राखेर यातना दिइएको थियो, त्यतिबेला सेनाको टोली हतियार खोज्न उदयपुरस्थित लवकुमारको घरसम्म पुगेको थियो। लवकुमारकी जेठी सासू तारा र भाइ पवनलाई प्रहरी हिरासतमै राखेर यातना दिइएको यसअघिकै श्रृंखलामा हामीले प्रकाशित गरिसकेका छौं। 

corrent noodles
Metro Mart

त्यतिमात्रै होइन, हराएको भनिएको हतियार सरोजमार्फत लवकुमार र लवकुमारमार्फत तारा र तारामार्फत पवनसम्म पुगेको अभियोग लगाइएको थियो। त्यसपछि यही हतियार किनेको आरोपमा लवकुमारका भाइ टाइचिन भनिने उदयपुर चौदण्डीगढी–१ का पवन गुरुङ र जेठीसासू त्रियुगा–४ की तारा तामाङविरुद्ध चितवन जिल्ला अदालतमा २०७५ चैत १८ गते मुद्दा हातहतियारसम्बन्धी मुद्दा दर्ता भएको थियो । त्यतिबेला लवकुमारलाई हतियार चोरी घटनाको मुख्य योजनाकारका रुपमा प्रस्तुत गरिएको थियो भने सरोजलाई सहयोगी। 

अदालतमा मुद्दा परेपछि तारा र पवनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको थियो। ९ महिना थुनामा बिताएपछि जिल्ला अदालतले प्रमाण नपुगेको भन्दै उनीहरुलाई ०७६ मंसिर २० को फैसलामार्फत सफाइ दिएकोे थियो।  

त्यसपछि यो फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटन, हेटौंडा इजलासमा पुनरावेदन दर्ता गरेको थियो। तर, उच्च अदालतले पनि ०७७ चैत १२ मा जिल्ला अदालतकै फैसला सदर गर्यो। ‘अदालतले तारा र पवनको फैसला सदर भएको फाइल पनि झिकाउन आदेश दिएको छ,’ अधिवक्ता सोमनाथ ढुंगानाले जानकारी दिए। 

पाटन उच्च अदालतका न्यायाधिश सैनिक विशेष अदालतका अध्यक्ष लोहितचन्द्र शाह, नेपाली सेनाका कानुन विभाग प्रमुख उपरथी रत्नप्रकाश थापा र रक्षा सचिव बेगेन्द्रराज शर्मा सम्मिलत तीन सदस्यीय इजलासले यस्तो आदेश दिएको हो। 

साढे दुई वर्षअघि जुन गन हराएको अभियोगमा लवकुमार र सरोजलाई मुद्दा चलाइएको थियो, आज त्यही गन चोरेको अभियोगमा सेनाको अभियोजन शाखाले गंगाधर ढकालविरुद्ध मुद्दा चलाउनु र त्यही फाइल अदालतले मगाउनु भनेको दुई निर्दोष सैनिकका लागि न्यायको बाटो भएको बताउँछन्, अधिवक्ता पौडेल। ‘गंगाधरमाथि लगाइएको अभियोगपत्र र तारा–पवनले पाएको सफाइ सदरको फाइल लवकुमार र सरोजले न्याय पाउने बलिया प्रमाण हुन्। अदालतले ती फाइल मगाउनु भनेको पीडितले न्याय पाउने कुरामा बल पुग्नु नै हो,’ अधिवक्ता पौडेल भन्छन्, ‘फाइल आइपुगेपछि चाँडै अर्को पेशी तोकिने बताइएको छ। सम्भवतः त्यही इजलासले यो मुद्दाको टुंगो लाग्नेछ।’

यता इजलासमा सहभागी भएकी सिपाही सरोज तामाङकी आमा माया तामाङले न्याय पाउनेमा आशावादी भएको बताइन्। ‘गन अर्कै व्यक्तिले चोरेको स्वीकारिसकेको छ। अब त पक्कै न्यायाधिशहरुले न्याय दिनुहुनेछ भन्ने लागेको छ,’ उनी आशावादी सुनिइन्। 

०००

साउन ०७ गते चितवनमा भएको नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्यामा संलग्न गंगाधर ढकालको साथबाट बरामद भएको एसएमजी ‘गन’ र  लवकुमार तथा सरोजले कालीबहादुर गणबाट चोरेको भनिएको ‘गन’को बडी नम्बर एउटै रहेको पुष्टि भएपछि यो मुद्दालाई सैनिक मुख्यालयले विशेष चासोका साथ हेर्न सुरु गरेको थियो।  

त्यही कारण सामान्यतयाः ६ महिनाभित्र मुद्दाको टुंगो लगाउनु पर्ने भए पनि सैनिक विशेष अदालतले २८ महिनादेखि अल्झाएर राखेको लवकुमार र सरोजको मुद्दामाथि अकस्मात् बिहीबारलाई पेशी तोकिएको थियो। जबकी समरी जनरल सैनिक अदालतमा यही मुद्दासँग सम्बन्धित गंगाधर ढकालको मुद्दामा कोर्ट मार्सल चलिरहेको छ। अदालतमा बहसकै क्रममा न्यायाधिशमध्ये एक प्रा.ड. विभागका प्रमुख प्रमुख उपरथी रत्नप्रकाश थापा यो मुद्दालाई सेनाले ‘फास्ट ट्र्याक’मा हेरिरहेकाले फैसला हुन धेरै समय नलाग्ने बताएका थिए। 

स्मरण रहोस्, झुटो अभियोगमा दुई सैनिकले जेल सजाय भोगिरहेको बारे नेपाल समयले ‘गन’ले अन्याय ‘गन’ले न्याय शीर्षकमा शृंखलाबद्ध रिपोर्टिङ गरेपछि सैनिक मुख्यालयले हतियार प्रकारणबारे अनुसन्धान गर्न एक छानबिन टोली चितवन पठाएको थियो। छानबिन टोलीको प्रतिवेदन समेत सैनिक मुख्यालयमा आइसकेको बुझिएको छ। 

हाल जिल्ला कारागार चितवनमा रहेका सैनिकद्वय लवकुमार र सरोजलाई ०७५ चैत २५ गते कालीबहादुर गणमै मुकाम भएको समरी जनरल सैनिक अदालतले कैद सजाय सुनाएको थियो।

त्यतिबेला सैनिक ऐन, २०६३ को दफा ४९ को खण्ड (क) र दफा ५२ को खण्ड (६) बमोजिम दोषी ठहर गरी लवकुमारलाई १० वर्ष र मोरङ सुन्दरहरैँचाका सैनिक जवान सरोज तामाङलाई ७ वर्षको कैद सजाय सुनाइएको थियो। त्यतिबेला सैनिक अदालतका अध्यक्ष सहायक रथी सहदेव खड्का थिए। 

हामीले यसअघि शृंखलाको दोश्रो भागमा कारागारमै रहेका सरोज तामाङसँगको कुराकानी प्रकाशित गरेका थियौँ, जहाँ उनले आफूहरूलाई अदालतबाट फैसला हुनुअघि हतियार चारेको हो भनेर कबुल गराउन आफूहरुलाई सैनिक हिरासतमा राखेर चार महिना चरम यातना दिइएको बताएका थिए। 

जब समरी जनरल अदालतले चोरी ठहर गर्दै कैद फैसला सुनायो, त्यसको केही दिनपपछि ०७६ वैशाख ०६ मा नै गुरूङ र तामाङ फैसलाविरुद्ध सैनिक विशेष अदालतमा पुनरावेदन गर्न पुगेका थिए।  

तर, कुनै सुनुवाइ हुन सकेको थिए। यही क्रममा जब उनीहरुले चोरेको हतियार गंगाधर ढकालको साथमा भेटियो, जब गंगाधरले चितवन प्रहरी र जिल्ला अदालत चितवनसामु उक्त गन ०७५ साल जाडोको महिनामा कालिबहादुर गणमा गएर आफू एक्लैले ‘गन’ चोरेको बयान दिए, त्यसपछि सैनिकवृत्तमा हलचल मच्चियो। 

‘म काठमाडौंबाट घरमा छुट्टीमा चितवन आएको थिएँ। सो समयमा भरतपुरस्थित सेनाको ब्यारेकको चौबिस कोठीतिरको तारबाट रातको करिब १० बजेतिर छिरेर करिब २ घण्टाजति झाडीमा लुकेर बसेको थिएँ। करिब रातको १२ बजेपछि ड्युटीमा सेनाहरु अगाडि ढोकामा बसेको समयमा म पछाडिको झ्यालबाट हतियार राखेको ठाउँमा गएर उक्त बरामद भएको हतियार चोरेर लगेको हुँ,’ गंगाधरले बयानकै क्रममा जब यो रहस्य खुलाए, त्यसपछि सैनिक नेतृत्व जेल सजाय काटिरहेका दुई निर्दोष सैनिक जतिसक्दो चाँडो छुटाउने पक्षमा नै रहेको सैनिक उच्च श्रोतको दाबी छ। 

(हामी निरन्तर फलोअपमै छौं। अर्को शृंखलाका लागि नेपाल समय हेर्दै गर्नुहोला)

शृंखलाको नवौं भाग

दुई निर्दोष सेनाको मुद्दालाई सैनिक विशेष अदालतको अग्राधिकार, रिहा होलान् त?

एसएमजी गन चोरी गरेको झुठो अभियोगमा साढे दुई वर्षदेखि जेल सजाय भोगिरहेका सैनिकद्वय अमल्दार लबकुमार गुरुङ र सिपाही सरोज तामाङको मुद्दालाई सैनिक विशेष अदालतले अग्राधिकारमा राख्दै बिहीबारका लागि पेसी तोकेको छ। गुरुङ र तामाङले चोरेको भनिएको गन अर्कैले चोरेको पुष्टि भएपछि २८ महिनाअघि दिइएको पुनरावेदनमाथि बिहीबार बहस हुने भएको हो।...

शृंखलाको आठौँ भाग

दुई निर्दोष सैनिकका लागि न्यायको ढोका खोल्ने चाबी बन्दैछ गंगाधरको यो बयान

मैले भरत गुरुङलाई गोली प्रहार गरी हत्या गर्न प्रयोग गरेको हतियार मैले कालीबहादुर गण भरतपुर ब्यारेक चितवनको कोतबाट चोरी गरी निकालेको हुँ। उक्त हतियार कालीबहादुर गणबाट चोरी गर्ने कार्यमा म बाहेक अन्य कोही कसैको संलग्नता छैन। उल्लेखित टाइचिन भन्ने पवन गुरुङ र तारा तामाङसँग मेरो कुनै नाता सम्बन्ध छैन, मैले निजहरुलाई चिन्दिनँ। के कुन आधारबाट निजहरु उपर हातहतियार मुद्दा दताई भई सम्मानित चितवन जिल्ला अदालतमा पेश भएको मलाई थाहा भएन। (गंगाधर ढकालको बयान)…

शृंखलाको सातौं भाग

जेलमा रहेका 'निर्दोष' सैनिकका परिवार न्याय खोज्दै काठमाडौंमा, के भन्छ सेना?

जुन गनको प्रयोग गरेर गंगाधरले आफ्नै सहकर्मीको हत्या गरे, त्यही गन चोरी गरेको अभियोगमा सैनिक अमल्दार लबकुमार गुरुङ र सैनिक जवान सरोज तामाङ साढे दुई वर्षयता जिल्ला कारागार चितवनमा सजाय काटिरहेका छन्।...

शृंखलाको छैटौँ भाग

यस्तो छ 'एसएमजी चोर' सैनिकको बयान

करिब रातको १२ बजेपछि ड्युटीमा सेनाहरु अगाडि ढोकामा बसेको समयमा म पछाडिको झ्यालबाट हतियार राखेको ठाउँमा गएर उक्त बरामद भएको हतियार चोरेर लगेको हुँ। उक्त हतियार चोरेर घरको टौवामुनि लुकाएर राखेको थिएँ। मैले टौवा फेर्ने बेलामा अर्को ठाउँमा लुकाएर राख्ने गरेको र फेरि टौवा बनेपछि सोही स्थानमा लुकाएर राख्ने गरेको थिएँ। उक्त चोरी गरेको हतियार लुकाएको घरमा कसैलाई थाहा थिएन। …

शृंखलाको पाँचौं भाग

निर्दोष कैदीका परिवारलाई समेत सेनाले यसरी दियो महिनौं यातना

०७५ साल माघ २६ गते। उदयपुरस्थित त्रियुगामा रहेको आफ्नै घरमा थिइन्, तारा तामाङ। बहिनी प्रमिला पनि त्यहीँ आएकी थिइन्। बिहान भर्खर कुखुरा बास्न थालेका थिए। बेडमा मस्त सुतिरहेका थिए, तारा र प्रमिला। ...

शृंखलाको चौथो भाग

एसएमजी चोरी स्वीकारेका ढकाललाई अदालतबाट सेनाले लग्यो, पीडित परिवार भन्छ– बयानमा हेराफेरी नहोस्

सैनिक भरत गुरुङको हत्या मुद्दालाई सैनिक अदालत पठाउन चितवन जिल्ला अदालतले आदेश जारी गरेको छ। जिल्ला न्यायाधीश हेमन्त रावलको एकल इजलासले गुरुङको हत्या मुद्दासम्बन्धी सबै फाइल सैनिक अदालत पठाउने आदेश गरेको हो।...

शृंखलाको तेस्रो भाग: 

उता सैनिक श्रीमानलाई यातना, यता सुत्केरी श्रीमतीलाई सास्ती

आफू सुत्केरी भएका बेला निर्दोष श्रीमान् जेलमा पर्दा उर्मिलाले खुब दुःख पाएकी छिन्। घरमा कमाउने कोही नभएपछि ९ महिनाको नानी छाडेर उनी सुबिसु इन्टरनेटको अफिसमा काम गर्न जान्थिन्।…

शृंखलाको दोस्रो भाग:

जेलबाट सैनिक सरोजले भने- निर्दोष छौं, अब न्याय पाइएला कि!

एकपटक त हामीलाई आँखामा पट्टी, हातमा हतकडी लगाएर जंगलमा लगियो। फायरिङ गरियो। अनि भनियो– ‘तेरो साथी लबकुमार मर्‍यो।’ त्यसपछि बन्दुक कहाँ छ, अब तँ भन्, नत्र तलाई पनि मार्दिन्छु भन्दै मलाई धम्क्याइयो। त्यतिमात्रै होइन, तेरो श्रीमतीलाई दिल्ली लगेर बेच्दिन्छु, छोराछोरी बेच्दिन्छु, अनेक भनेर तर्साइयो। ...

शृंखलाको पहिलो भाग:

जेलभित्र रहेका दुई सैनिक निर्दोष, हराएको हतियार अर्कैले चोरेको ‘पुष्टि

दुई वर्षदेखि जेलमा रहेका दुई  सैनिक जवानमाथि लगाएको अभियोग मिथ्या सावित भएको छ। चितवनस्थित नेपाली सेनाको कालीबहादुर गणको गणबाट १००७९२ नम्बरको सर्ट मेसिन गन ( एसएमजी ) चोरीको आरोपमा जेल परेका ती दुई सैनिक जवानहरु सोही नम्बरको हतियार अर्को व्यक्तिले चोरेको स्विकारेपछि उनीहरुमाथिको अभियोग बनावटी रहेको तथ्य बाहिर आएको हो।…

सम्पादकीय

जेल जीवन बिताइरहेका निर्दोष सैनिकबारे सबै बोलौं

देश र जनताको सुरक्षामा खटिने प्रण लिएर सैनिक सेवामा जीवन अर्पण गरेका सरोज तामाङ र लबकुमार गुरुङले आफ्नै संगठनभित्र पाएको यातना मानवीय कानुन, मानव अधिकार र सैनिक ऐनका दृष्टिकोणबाट आपत्तिजनक छ। हतियार चोरीको अभियोगमा जेलमा राखिएका उनीहरू निर्दोष देखिएसँगै नेपाली सेनाभित्रको अपराध अनुसन्धान प्रक्रिया कति फितलो रहेछ भन्ने पनि पुष्टि भएको छ। ‍‍‍...

प्रकाशित: Aug 26, 2021| 16:16 बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्