काठमाडौं- कालीगण्डकी बचाऔं अभियानले ‘नदी सप्तक’ शृङ्खलाका लागि कविता पठाउन आग्रह गरेको छ। 'कालीगण्डकी नदी हाम्रो जीवन हो, प्रकृति हो, सम्पदा हो र आस्था हो' भन्ने मूल मर्मका साथ अभियानले कविता पठाउन आह्वान गरेको हो।
मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, गुल्मी, स्याङ्जा, पाल्पा, तनहूँ क्षेत्र हुँदै बग्ने कालीगण्डकी नदी नेपालको पुरानो सभ्यता मध्येको एक सभ्यता बोकेको नदी हो। 'कालीगण्डकी हाम्रो सामाजिक, आर्थिक, सांस्कृतिक, ज्ञान, भाषा, मूल्य, चलन, एकता, जिविका, सांस्कृतिक विस्तार, मनोरन्जन, सुखदुःखको साझेदार नदी हो', अभियानले भनेको छ।
दुर्लभ शालिग्राम पाइने विश्वकै एकमात्र नदी पनि नदी सप्तकनै भएको अभियानले ज नाएको छ। हिन्दु धर्मालम्बीका लागि अत्यन्तै ठूलो सांस्कृतिक महत्व बोकेको नदी क्षेत्र नित्य स्नानदेखि पूजा पाठ, दाहसंस्कार, तर्पण र श्राद्ध गर्न अत्यन्तै पवित्र रहेको बताइएको छ। नदी किनारामा मुक्तिनाथदेखि देवघाटसम्मका दर्जनौ पवित्र धार्मिक स्थल छन्।
'तिब्बतको सीमादेखि बग्दै आउने कालीगण्डकी केवल समुन्द्र छुनको लागि बग्दैन। आफू बग्दै गर्दा तल्लो तटिय क्षेत्रको पर्यावरणलाई सन्तुलित गर्ने, मध्यतराईलाई सुख्खा हुनबाट बचाउने, कालिगण्डकीमै आश्रय लिएर हजारौं वर्षदेखि बाँचिरहेका तटीय क्षेत्रका लाखौं जीवनलाई बाँच्न सहज बनाउने जिम्मेवारीसमेत बोकेर बग्दछ', अभियानले भएको छ।
केही वर्षयता पर्यावरणीय सन्तुलन नै खलबलिने गरी नदीको तिब्र दोहन भइरहेको भन्दै उसले चिन्ता व्यक्त गरेको छ। सरकारले यसलाई नदेखे झै गरिरहेकोमा अब नदीको पानी नै अर्कोतिर मोड्ने परियोजना अघि सारेकोप्रति उसको आपत्ति छ। 'सरकारलाई केवल सुरुङ खन्नु छ, पानीको प्राकृतिक बाटोलाई बिथोल्नु छ, पारिस्थितिक प्रणालीलाई बिगार्नु छ', अभियानले भनेको छ।
कालिगण्डकीको मर्म, आस्था र सभ्यतालाई जोगाउन, प्राकृतिक प्रणाली रक्षा गर्न र नदीलाई आफ्नै बाटोमा बग्न दिन अब कवि/लेखकले आफ्नो कलममार्फत शाशकलाई झक्झकाउनु पर्ने बेला आएको अभियानको ठहर छ। 'यसकारण 'कालिगण्डकी संरक्षण अभियान'मा यहाँले कालीगण्डकीले ओगटेका विविध शीर्षकमा आफ्नो छोटो कविता (१५ देखि २० लाइन) मार्फत एक्यवद्धता जनाइदिनुहुन् अनुरोध गर्दछौं', अभियानले भनेको छ।
कविता हप्ता दिनभित्र savekaligandakiriver@gmail.com मा पठाउन आग्रह गरिएको छ। प्राप्त कविता मध्ये उत्कृष्ट कवितालाई पछि 'नदी सप्तक' कवितासङ्ग्रहमा प्रकाशित गरिने अभियानले जनाएको छ।