काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटिको बैठक आज बस्दैछ। एमाले केन्द्रीय सदस्य एवं पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले मध्यान्ह १२ बजे केन्द्रीय कमिटी बैठक बस्न लागेको जानकारी दिएका छन्।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा एमालेको केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो। पार्टीभित्रको लामो अन्तरसंघर्षलाई स्थायी समिति बैठकमार्फत सहमतिको मिलनबिन्दूमा पुर्याएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा माधव नेपाल समूहमा रहेर अहिले पार्टी विभाजनमा नलागेका नेताहरु पनि सहभागी हुने भएका छन्।
आजको केन्द्रीय कमिटी बैठकले मंगलबार बसेको स्थायी कमिटी बैठकले गरेका निर्णयलाई कार्यान्वयन गरेर अघि बढने बताइएको छ। नेताहरूका अनुसार आजको बैठकमा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित संरचनालाई २०७५ जेठ २ को अवस्थामा फर्काएर क्रियाशील गराउने तथा १० बुँदे सहमती कार्यान्वयन प्रस्ताव सम्बन्धि स्थायी कमिटीको निर्णय अनुमोदन गर्ने बताइएको छ।
यस्तै पार्टी सदस्यता बितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेसन बारे बैठकमा छलफल हुने तामाङले जानकारी दिए। बैठकले पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यहरूको कारबाही प्रक्रिया अगाडि बढाउने छ।