काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) दल दर्ताको प्रमाणपत्र लिएपछि उक्त पार्टीकी नेतृ रामकुमारी झाँक्रीले एउटा सकस पार गरेको बताएकी छन्। बुधबार बेलुका निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वमा नयाँ दल दर्ताको प्रमाणपत्र दिएपछि झाँक्रीले यस्तो बताएकी हुन्।
'यसलाई मैले एउटा सकर पार गरेको क्षणका रुपमा लिएकी छु,' पत्रकारसँग छोटो कुरा गर्दै झाँक्रीले भनिन्।
बुधबार बेलुका निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को दल दर्ता गर्ने निर्णय गरेको हो।
केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले)मा विवाद भएपछि नेता नेपालले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए। नेपाललाई झाँक्रीको साथ छ।
यस्तै उपेन्द्र यादव नेतृत्वको जसपाले कारबाही गरेपछि ठाकुर दलविहीन भएका थिए। आयोगले नेपाललाई नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी) र ठाकुरलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता भएको प्रमाणपत्र उपलब्ध गराएको हो।
सरकारले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश ल्याएपछि यी दुवै दल दर्ता गर्न सम्भव भएको हो। अध्यादेशमा कुनै पनि दल विभाजन हुनका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशतको सनाखत हुनुपर्ने व्यवस्था गरिएको छ। यसअघि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत सदस्यले मात्र दल विभाजन गर्न सक्ने प्रावधान राखिएको थियो।