काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले बहुलवादी राष्ट्र आफूहरुको पार्टीको एजेन्डा भएको बताएका छन्। निर्वाचन आयोगमा सनाखतका लागि पुगेका महतोले सञ्चारकर्मीसँग कुरा गर्दै बहुलवाद संविधानले नै स्विकारेकाले त्योअनुसार शासन, अधिकार र संविधानका लागि लड्ने बताएका हुन्।
बहुराष्ट्रको नजानेर विरोध गरिएको महतोको भनाइ थियो। उनले भने, ‘नेपाल एउटा देश हो। देशमा विवधता छ। नेसनालिटी बहुल छ। बहुल राज्य हो। त्योअनुसार, शासन, संविधान र अधिकार चाहिएको छ। एउटाको देश होइन के। विभिन्न नेसनालिटी बसेको छ।’ उनले देशलाई खण्डित गर्छ भनेर दुष्प्रचार गरिएको आरोप लगाए। उनले भने, बुझपचाउनेहरुले गरेको प्रचार हो। बुझपचाएका हुन्।’
बहुल राष्ट्र नयाँ कुरा नभएको महतोको भनाइ छ। उनले पार्टीको एजेन्डा जनताको पहिचान, अधिकार, राष्ट्रिय मुक्ति आन्दोलन भएको पनि बताए। ‘नेपाल सबै नेपालीको हो। चार जात छत्तीस वर्णको फूलबरी हो। सबै नेपालीको देशको मान्यता स्थापित गर्न लोसपा अगाडि बढ्छ’, उनले भने।
नेता महतोले आफूहरुको लाइन गणतन्त्र नै भएको बताए। ‘यो देशमा राजा छैन राजावादी कहाँबाट आउँछ? यो भूत भगाउनुस्। हामी गणतन्त्रवादी हौं’, उनले भने।
महतोले सरकारमा सहभागी हुन प्रस्ताव नआएको पनि जानकारी दिए। ‘सरकारमा जाने प्रस्ताव आएको छैन। आएको अवस्थामा अवस्था हेरेर उचित निर्णय गरिनेछ। सरकारलाई समर्थन गरिसकेका छौं। माग पूरा भए जान पनि सकिन्छ’, उनले भने।
महतोले भद्रगोल पार्टीबाट मुक्ति पाइएको टिप्पणी गरे। उनले पार्टीले छिट्टै पदाधिकारीको कार्य विभाजन गर्ने पनि उल्लेख गरे।
नेता शरदसिंह भण्डारीले रेशम चौधरीबाहेक १४ जना सांसद र कार्यकारिणी समितिका १७ जनाले सनाखत गरेको जानकारी दिए। सनाखत भयो। दल दर्ता निर्वाचन आयोगले दिने हो। आजै दिन्छ होला’, उनले भने।