शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सरकारले पार्टीभित्र बदनियतका साथ हात हालेर प्रतिपक्षी फुटाउने अनैतिक काम गर्‍याे : ओली

सरकारले पार्टीभित्र बदनियतका साथ हात हालेर प्रतिपक्षी फुटाउने अनैतिक काम गर्‍याे : ओली

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नै देशको मूल पार्टी भएको दाबी गरेका छन्। नेकपा एमालेले बुधबार आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले केहीले अलमल्याउने कोशिस गरे पनि त्यसले ठूलो फरक नपार्ने बताए।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नै देशको मूल पार्टी भएको दाबी गरेका छन्। नेकपा एमालेले बुधबार आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले केहीले अलमल्याउने कोशिस गरे पनि त्यसले ठूलो फरक नपार्ने बताए।

‘म प्रधानमन्त्री हुँदा पनि अध्यादेश आएको थियो। तर १२ बजे राति चलिरहेको अधिवेशन अन्त्य गरेर दोस्रो दिन बिहानै जारी गर्ने काम मेरो नेतृत्वको सरकारले गरेको थिएन,’ उनले भने। आफूले संसद्को मर्मअनुसार मात्रै अध्यादेश ल्याएको भए पनि देउवा नेतृत्वको सरकारले त्यसो नगरेको उनको आरोप छ। ‘सरकारले राजनीतिक पार्टीभित्र बदनियतका साथ हात हालेर प्रतिपक्षी फुटाउने अनैतिक कार्य गरेको छ। यो उचित होइन,’ ओलीले भने।

अहिले कुनै पार्टी विशेषलाई फुटाउने गरी हतारमा अध्यादेश ल्याइएको भन्दै उनले आपत्ति जनाएका छन्। ‘संसदमा ४० प्रतिशत पुर्‍याएर अलग हुन पाउने सांसदको अधिकार हो। तर, यहाँ त्यसमा प्रहार भएको छ,’ उनले भने। संविधानको कार्यान्वयन र सांसदका अधिकारको कार्यान्वयनका लागि आफूले अध्यादेश ल्याउँदा विरोध गर्नेहरूले अहिले अध्यादेश ल्याउनु अचम्मको कुरा भएको उनले बताए। 

सदन विघटन भएका बेला देश र जनताका लागि अध्यादेश ल्याउन सकिने भए पनि सरकारले एमाले फुटाउनकै लागि  अध्यादेश ल्याएको उनले बताए। ‘तपाईंको कति प्रतिशत पुग्यो भनेर सोधेर सरकारले अध्यादेश ल्यायो,’ उनले भने।

आज नै माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता हुँदैछ। नेता नेपालसहितका उनका सहयोगीहरू सो प्रयोजनका लागि आवश्यक दस्तावेजका साथ सनाखत गर्न आयोगमा छन्। 

यसअघि नेपालसहितका नेताले आयोगमा नयाँ दल दर्ताका लागि आवेदन गरेका थिए। आयोगले आवेदन गरेका सबैलाई सनाखतका लागि आज बोलाएको थियो।

ओलीले नौ महिनादेखि संसदले कुनै काम गर्न नसकेको आरोप लगाए। पूरा विश्व रफ्तारका साथ विकास मार्गमा रहेको समयमा नेपालमा भने संसद् अनिर्णयको बन्दी बनेको बताए।

‘हिजो सरकारलाई काम गर्न दिइएन। आज देउवा सरकारले अघिल्लो सरकारका उपलब्धिलाई भत्काउने काममात्रै गरिरहेको छ। सरकारले बजेट रोकेको छ। पुनर्निर्माणका कर्मचारीको तलब रोकिएको छ,’ उनले भने।

उनले पुराना ठेक्का लागेका कामले मात्रै गति पाउने र अब नयाँ कामको ठेक्का नलाग्ने दाबी गरेका छन्। उनले नेपालमा किनमेलको राजनीति भएको समेत टिप्पणी गरेका छन्। सांसदलाई थुनेर अपहरणकारी काम भएको ओलीले बताएका छन्।

माधव नेपालले फकाइ–फकाइ मिठै खाना दिएर सांसदहरुलाई प्रलोभनमा पारेको आरोप लगाए। ‘१४ जनामाथि कारबाही गर्‍यौं, त्यो पार्टी नफुटोस् भन्नका लागि हो,’ ओलीले भने। ओलीले पार्टीले कारबाहीका लागि सिफारिस गरेका सांसदको नाम सूचनापाटीमा नटाँसेको भन्दै सभामुखमाथि आक्रोश पोखे। ‘सभामुख निष्पक्ष हुनुपर्नेमा पार्टी फुटाउने खेलमा सरकारसँग सामेल हुनुभयो। निष्पक्ष नरहन सक्ने सापकोटालाई कुर्सीमा बसिरहने नैतिकता छैन। यो क्रियाकलाप निकै दुखद् हो,’ उनले भने।

सूचना टाँस्ने अधिकार भएको व्यक्तिले एमालेले पार्टीबाट निकालेका सांसदको नामावलीमाथि विचाराधीन राख्ने अधिकार नभएको ओलीले बताएका छन्। सभामुखले पार्टी फोड्न राजनीति खेल्न खोजेको आरोप लगाए।

प्रकाशित: Aug 25, 2021| 12:37 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...