काठमाडौं– एकीकृत माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ। भदौ ६ मा अध्यक्ष पुष्पकमल दाहालले परिपत्रमा गरी नेताहरूलाई जिम्मेवारी दिएका हुन्। नयाँ जिम्मेवारीअनुसार प्रवक्तामा कृष्णबहादुर महरा तोकिएका छन्। यसअघि प्रवक्तामा नारायणकाजी श्रेष्ठ थिए।
माओवादीले प्रदेश समिति, पार्टी विभाग, जिल्ला इन्चार्जसमेत तोकेको छ। प्रदेश नम्बर १ मा सुरेन्द्र कार्की इन्चार्ज तोकिएका छन्। अध्यक्षमा सुरेन्द्रकुमार राईलाई तोकिएको छ।
प्रदेश नम्बर २ को इन्चार्जमा गणेश शाह छन्। अध्यक्ष भने तोक्न बाँकी रहेको माओवादीले जनाएको छ। बागमती प्रदेशको इन्चार्ज हितमान शाक्य र अध्यक्षको जिम्मेवारी नारायण दाहालले पाएका छन्।
गण्डकी प्रदेश इन्चार्जमा हितराज पाण्डे र अध्यक्षमा हरि अधिकारीलाई तोकिएको छ। लुम्बिनीको इन्चार्जमा चक्रपाणि खनाल र अध्यक्षको जिम्मेवारी ओनसरी घर्तीले पाएकी छिन्।
कर्णालीमा इन्चार्जमा शक्ति बस्नेत र अध्यक्ष राजकुमार शर्मा तोकिएका छन्। यस्तै सुदूरपश्चिम प्रदेश इन्चार्जमा खगराज भट्ट छन्। यहाँ अध्यक्ष तोक्न बाँकी छ।
माओवादीले विशेष समिति इन्चार्जमा लीलामणि पोखरेल र अध्यक्षमा लेखनाथ न्यौपानेलाई तोकेको छ। प्रवास समिति इन्चार्जमा नारायणकाजी श्रेष्ठ र अध्यक्षमा ओम शर्मा तोकिएका छन्।
यस्तै अर्थ तथा योजना विभाग प्रमुखमा वर्षमान पुन, कृषि तथा भूमिसुधार प्रमुखमा हरिबोल गजुरेल, निर्वाचन विभागमा खिमलाल देवकोटा, विदेश मामला विभागमा सुरेन्द्र कार्की, संगठन विभाग प्रमुखमा जनार्दन शर्मा, राष्ट्रिय सुरक्षा विभागमा कृष्णबहादुर महरा तोकिएको माओवादीले जनाएको छ।
स्वास्थ्य विभागमा कल्पना धमला छिन् भने स्कुल विभाग इन्चार्जमा दाहाल र प्रमुखमा गिरिराजमणि पोखरेल छन्। सहरी विकास विभागमा देवेन्द्र पौडेल, स्थानीय तह विभागमा उर्मिला अर्याल छन्। भौतिक पूर्वाधार विभागमा हरि अधिकारी प्रमुख तोकिएका छन्।
माओवादीको नीति अनुसन्धान प्रतिष्ठानको प्रमुखमा रामचन्द्र झा र वन तथा वातावरण विभागमा शक्ति बस्नेत प्रमुख तोकिएका छन्।