शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले त्यागेर नयाँ दल खोल्न लागेका नेताहरूको सनाखत आज, यस्तो छ आयोगको तयारी

एमाले त्यागेर नयाँ दल खोल्न लागेका नेताहरूको सनाखत आज, यस्तो छ आयोगको तयारी

सनाखत भएपछि आयोगले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको दर्ता प्रक्रिया अघि बढाउनेछ।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

काठमाडौं– नेकपा एमाले त्यागेर नेकपा एकीकृत समाजवादी दल गठनका सम्बन्धमा बुधबार निर्वाचन आयोगले नेताहरूको सनाखत गर्दै छ। सनाखत भएपछि आयोगले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको दर्ता प्रक्रिया अघि बढाउनेछ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सनाखत गर्दा केन्द्रीय समितिका सदस्यहरुले नागरिकताको प्रमाणपत्र र मतदाता परिचयपत्रलाई आधार बनाइने बताएका छन्। 

उनले संघीय संसदका सदस्यहरुको हकमा भने संघीय संसदबाट जारी परिचयपत्र लिएर उपस्थित हुनुपर्ने बताए। प्रवक्ता श्रेष्ठले निवेदनमा दर्ता भएका नामका व्यक्तिलाई स्वयं उपस्थित भएर सनाखत गर्नुपर्ने बताए।

श्रेष्ठले भने, ‘केन्द्रीय समितिका सदस्यहरूले नागरिकताका प्रमाणपत्र वा मतदाता परिचयपत्र लिएर स्वयं उपस्थित हुनुपर्नेछ। त्यस्तै संघीय संसदका सदस्यहरुले संघीय संसदबाट जारी परिचयपत्र लिएर आउनुपर्नेछ। यो नै हामीले चिन्ने आधिकारिक कागजात हो।’ 

उनले आयोगबाट तोकिएको कर्मचारीको उपस्थितिमा सनाखत हुने अभ्यास रहेको बताए। उनले भने, ‘अहिले पनि त्यही हुन्छ। निवेदनमा संलग्न सबै व्यक्तिहरुलाई स्वयं उपस्थित भएर सनाखत गर्नका निम्ति जानकारी गराइसकिएको छ।’

निर्वाचन आयोगले दल दर्ताका निवेदन दिएको नेकपा (एकीकृत समाजवादी) लाई बुधबार बिहान साढे ११ बजेदेखि २ बजेसम्मको समय दिएको छ। एमालेले भने नेताहरूकाृ सनाखत नगर्न आयोगलाई दबाब दिएको छ। यस्तै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई आयोगले बुधबार नै डाकेको छ। 

राजनीतिक दलसम्बन्धी ऐनमा यस्तो  छ प्रवाधान

५. दल दर्ता सम्बन्धी व्यवस्था: (१) दफा ४ बमोजिम दल दर्ता हुनको लागि दलको प्रमुख पदाधिकारीले केन्द्रीय समितिको निर्णयसहित देहायको विवरण तथा कागजात संलग्न गरी तोकिए बमोजिमको ढाँचामा आयोगसमक्ष निवेदन दिनु पर्नेछ:–

(क) दलको विधान,

(ख) घोषणापत्र,

(ग) झण्डा, चिन्हको नमूना,

(घ) कम्तीमा पाँचसय जना नेपाली मतदाताले दलको सदस्यता प्राप्त गर्न गरेको प्रतिबद्धता पत्र र निजहरुको नागरिकता वा मतदाता परिचय पत्रको प्रमाणित प्रतिलिपि सहितको हस्ताक्षर,

(ङ) खण्ड (घ) बमोजिम प्रतिबद्धता जनाउने व्यक्तिले अर्को दलको सदस्य नभएको भनी गरेको उद्घोषण पत्र,

(च) कम्तीमा एक्काइस सदस्य केन्द्रीय समितिको व्यवस्था, र

(छ) आयोगले आवश्यक ठानेका अन्य विवरण तथा कागजात ।

(२) उपदफा (१) बमोजिम प्राप्त भएको निवेदन उपर आयोगले आवश्यक जाँझबुझ गर्नेछ।

(३) उपदफा (२) को प्रयोजनको लागि आयोगले प्रस्तावित दलको प्रमुख पदाधिकारी वा केन्द्रीय समितिका सदस्यसँग छलफल गर्न, थप कुनै विवरण वा आवश्यक कागजात माग गर्न वा निजहरुको हस्ताक्षर तोकिएको ढाँचामा सनाखत गराउन सक्नेछ ।

(४) उपदफा (२) बमोजिम भएको जाँचबुझबाट प्रस्तावित दल संविधान र यस ऐन बमोजिम दर्ता हुन सक्ने देखिएमा आयोगले उपदफा (१) बमोजिम निवेदन परेको पैँतालीस दिनभित्र त्यस्तो दल दर्ता गरी दल दर्ता प्रमाणपत्र र दर्ता हुन नसक्ने भए त्यसको कारण खुलाई निवेदकलाई जानकारी दिनु पर्नेछ ।

(५) उपदफा (४) बमोजिम दल दर्ता गर्दा तोकिए बमोजिमको विवरणसहित दल दर्ता किताबमा अभिलेख गर्नु पर्नेछ ।

६. दल दर्ता हुन नसक्ने: (१) दफा ५ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कुनै अवस्थामा दल दर्ता हुन सक्ने छैन:–

(क) दलले संविधानको धारा २६९ को उपधारा (४) बमोजिमको शर्त पुरा नगरेको भएमा,

(ख) दलको नाम, उद्देश्य, चिन्ह, झण्डा, विधान, नियमावली तथा काम, कारबाही संविधानको धारा २६९ को उपधारा (५), धारा २७० को उपधारा (२) तथा यस ऐन प्रतिकूल हुने भएमा,

(ग) दलको सदस्यता प्राप्त गर्न नेपालका नागरिकलाई धर्म, जात, जाति, सम्प्रदाय, भाषा वा लिङ्गको आधारमा बन्देज लगाइएको, बञ्चित गरेको वा विभेद गरेको देखिएमा,

(घ) दलको विधानमा दफा ८ को उपदफा (२) बमोजिम उल्लेख हुनु पर्ने कुरा उल्लेख नभएमा,

(ङ) दलको नाम वा चिन्ह आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिन्हसँग मिल्ने भएमा,

(च) दलको नाम, उद्देश्य, चिन्ह वा झण्डा नेपालको धार्मिक वा साम्प्रदायिक एकतालाई खलल पार्ने वा विखण्डित गर्ने प्रकृतिको भएमा वा सार्वजनिक नैतिकता प्रतिकूल हुने भएमा,

(छ) दफा ५ को उपदफा (३) बमोजिम आयोगले माग गरेको विवरण वा कागजात उपलब्ध नगराएमा वा पदाधिकारी वा सदस्यको हस्ताक्षर सनाखत हुन नसकेमा ।

(२) उपदफा (१) बमोजिमको कुनै कारणबाट दल दर्ता गर्न नसकिने भएमा आयोगले त्यसको कारण खुलाई पन्ध्र दिनभित्र दल दर्ताको लागि सुधारसहितको विवरण आयोगमा पेश गर्न सम्बन्धित निवेदकलाई सूचना दिन सक्नेछ ।

(३) उपदफा (२) बमोजिमको अवधिभित्र त्यस्तो विवरण प्राप्त भएमा र आयोग त्यसमा सन्तुष्ट भएमा आयोगले दफा ५ को उपदफा (४) बमोजिम दल दर्ता गरी निवेदकलाई त्यसको प्रमाणपत्र दिनेछ र दल दर्ता हुन नसक्ने भएमा त्यसको कारण खुलाई निवेदकलाई जानकारी दिनेछ।


प्रकाशित: Aug 25, 2021| 08:39 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...