आफ्नै सैनिक सहकर्मी भरत गुरुङको हत्यामा संलग्न गंगाधर ढकालको बयानले एसएमजी (सर्ट मेसिन गन) चोरी गरेको अभियोगमा साढे दुई वर्षयता जेलमा सजाय काटिरहेका दुई सैनिक अमल्दार लवकुमार गुरुङ र सैनिक जवान सरोज तामाङले न्याय पाउने सम्भावना बढाएको छ। नेपाली सेनाले समेत यही बयानलाई केन्द्रमा राखेर दुई सैनिक थुनुवा प्रकरणको पुनः परीक्षण गरिरहेको छ।
त्यसैले ढकालको बयान नै जेल जीवन बिताइरहेका सैनिकका लागि न्यायको चावी बन्ने सम्भावना रहेको सैनिक स्रोतको दाबी छ।
साढे दुई वर्षअघि चितवनको कालिबहादुर गणमा Sterling 9M/m NKR 100792 नम्बरको एसएमजी गन हराएको थियो। त्यही ‘गन चोर’को खोजी गर्ने क्रममा सैनिकद्वय गुरुङ र तामाङलाई गणपति सरोज अधिकारीको नेतृत्वमा रहेको सेनाले सैनिक हिरासतमा राखेर उनीहरुलाई चार महिना चरम यातना दिएको थियो।
त्यतिबेला आफूहरुलाई चार महिना हिरासतमा राखेर आँखामा पट्टी बाँधेर, हातखुट्टामा हतकडी लगाएर मरणासन्न हुने गरी कुटपिट गरेर चोरी कबुल गर्न लगाएको यसअघिको शृंखलामा सरोजले कारागारबाटै नेपाल समयसँग भनेका थिए।
त्यतिबेला सेनाको आरोप थियो– हतियार लवकुमारलाई सरोजले दिएका थिए, अनि लवकुमारले उदयपुरमा बस्ने उनकी जेठीसासु तारा तामाङलाई। अनि ताराले लवकुमारका भाइ टाइचेन भनिने पवन गुरुङलाई।
यही आरोपबमोजिम कबुल गराउन सेनाले लवकुमार र सरोजसँगै उदयपुुर गाईघाट पुगेर तारा र पवनलाई समेत यातना दिएको थियो। ताराले सुनाएको यातनाको विस्तृत वृतान्त हामीले पाँचौं शृंखलामा प्रकाशित गरिसकेका छौँ। यही हतियार चोरीको प्रकरणमा तारा र पवनले समेत ११ महिना कारागारमा बस्नुपरेको थियो। त्यसपछि उनीहरुको संलग्नता पुष्टि नहुने भन्दै जिल्ला अदालत चितवनले रिहा गरेको थियो।
तर, हराएको भनिएको हतियार नभेटिए पनि लवकुमार र सरोज भने अहिलेसम्म जेलमै छन्, ‘गन चोर’को अभियोगमा।
यद्यपि जुन गन चोरेको अभियोगमा उनीहरु यतिबेला कारागारमा छन्, त्यो गन अर्कैको साथमा फेला परेपछि यतिबेला नेपाली सेनामा तरंग मच्चिएको छ। सेनाको कोर्ट मार्सल र अनुसन्धान क्षमतामाथि नै यतिखेर ठूलो प्रश्न उठिरहेको छ।
गत साउन ७ गते चितवनमा नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्या भएको थियो। र, त्यो हत्यामा संलग्न गंगाधर ढकालले जुन गन प्रयोग गरेका थिए, त्यो गंगाधर स्वयंले प्रहरीसँगको बयानमा साढे दुई वर्षअघि ०७५ साल जाडोको महिनामा कालीबहादुर गणबाट चोरेको बताएपछि हाल कारागारमा रहेका लवकुमार र सरोजले भोगेको अन्यायपूर्ण यथार्थ बाहिरिएको थियो।
एउटा हराएको गनले कसरी दुई निर्दोष सैनिकलाई जेल पुर्यायो, हामी शृंखलाबद्ध रुपमा लेखिरहेका छाै। साढे दुई वर्षअघि कालिबहादुर गणबाट हराएको गन र अहिले गंगाधरको साथबाट भेटिएको गन नम्बर पनि मिलेको छ ।
तर, यही ‘गन’ चोरी गरेको अभियोगमा दुई वर्षअघि कालीबहादुर गणमै मुकाम भएको समरी जनरल सैनिक अदालतले उदयपुर, गाईघाटका सैनिक अमल्दार लवकुमार गुरुङ र मोरङ सुन्दरहरैंचाका सरोज तामाङलाई सैनिक ऐन, २०६३ को दफा ४९ को खण्ड (क) र दफा ५२ को खण्ड (६) बमोजिम दोषी ठहर गरी लवकुमारलाई १० वर्ष र सरोजलाई ७ वर्षको कैद सजाय सुनाएको थियो। त्यतिबेला सैनिक अदालतका अध्यक्ष सहायक रथी, सहदेव खड्का थिए। लवकुमार र सरोज अहिले पनि जिल्ला कारागार चितवनमा सजाय काटिरहेका छन्।
लवकुमार र सरोजले न्याय पाउने आशा मारिसकेका थिए। तर, जब हतियार गंगाधरको चोरेको पुष्टि भयो, त्यसपछि फेरि एकपल्ट उनीहरुमा न्याय पाउने आशा जागेको छ।
उनीहरुलाई लागेको थियो– प्रहरीले गंगाधरको अनुसन्धान सकाएर जिल्ला अदालतमा मुद्दा दायर गरेपछि पक्कै न्याय मिल्ला। तर, प्रक्रिया उनीहरुले सोचेजस्तो भएन।
प्रहरीले हत्या र हतियार चोरी स्वीकारेका ढकाललाई गत मंगलबार कर्तव्य ज्यानसम्बन्धी, अवैध रुपमा हातहतियार राखेको तथा चोरी गरेको कसुरमा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दायर त गर्यो तर यो मुद्दाको फैसला जिल्ला अदालतले आफैंले भने गरेन। जिल्ला न्यायाधीश हेमन्त रावलको एकल इजलासले यो मुद्दाको मिसिल र गंगाधर दुवैलाई सैनिक अदालतमा बुझाउने आदेश दियो।
गंगाधर ढकालको बयान
जब यो मुद्दा जिल्लाबाट सैनिक अदालतमा पुग्यो, त्यसपछि धेरैलाई यतिखेर संशय थियो– अब लवकुमार र सरोजले न्याय पाउलान् त? कतै गंगाधरको बयानमै हेराफेरि हुने त होइन?
तर, हामीले जिल्ला सरकारी वकिल कार्यालय चितवनका जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्री समक्ष जिल्ला प्रहरी कार्यालय चितवनका अनुसन्धान अधिकारी प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले गंगाधर ढकालसँग लिएको त्यो बयानको विस्तृत कागज प्राप्त गरेका छाै, जसले अब लवकुमार र सरोजका विरुद्ध बयान हेरफेर हुने सम्भावना देखिँदैन। बरु गंगाधरको यो बयानले उनीहरुलाई न्यायमा बल पुग्ने देखिन्छ।
‘म काठमाडौंबाट घरमा छुट्टीमा चितवन आएको थिएँ। सो समयमा भरतपुरस्थित सेनाको ब्यारेकको चौबिस कोठीतिरको तारबाट रातको करिब १० बजेतिर छिरेर करिब २ घण्टाजति झाडीमा लुकेर बसेको थिएँ। करिब रातको १२ बजेपछि ड्युटीमा सेनाहरु अगाडि ढोकामा बसेको समयमा म पछाडिको झ्यालबाट हतियार राखेको ठाउँमा गएर उक्त बरामद भएको हतियार चोरेर लगेको हुँ,’ गंगाधरको यो बयान त हामीले यसअघिको शृंखलामै प्रकाशित गरिसक्यौँ।
महेन्द्र दल गणमा कार्यरत हुनुअघि गंगाधर भरतपुरको कालीबहादुर गणमा दुई वर्ष कार्यरत थिए। त्यतिबेलै गनका बारेमा आफूलाई जानकारी भएको उनले बयानमा बताएका छन्। हाल फेला परेको एसएमजी हतियार उनले चोरी गरेपछि लामो समयसम्म घरको टौवामुनि लुकाएर राखेको समेत उनले खुलाएका छन्।
सरकारी वकिलको कार्यालयमा पुनः बयान लिने क्रममा जिल्ला न्यायाधिवक्तासमक्ष प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले ढकालसँग साढे दुई वर्षअघि हराएको एसएमजी प्रकरणलाई जोडेर पनि प्रश्न गरेका थिए।
पुनः बयानको सवाल नं. १३ मा उनले सोधेका छन्ः (जस्ताको त्यस्तै)
‘तपाईंले भरत गुरुङलाई गोली प्रहार गरेपश्चात् गोली प्रहार गरेको हतियार आफूले लुकाएर जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. ८स्थित झाडीमा लुकाई राखेको छ भनी तपाई स्वयंले देखाएको स्थानबाट बरामद भएको Sterling 9M/m NKR 100792 लेखिएको हतियारका सम्बन्धमा काली बहादुर गण भरतपुर चितवनको प.स. ६१७५/का/१८/०७५/०७६/१०७, मिति २०७५/११/१९ गतेको पत्रको आधारमा सोही हाल बरामद भएकै नम्बरको हतियार चोरी गरेको सम्बन्धमा टाइचिन भन्ने पवन गुरुङ र तारा तामाङसमेतलाई हात हतियार खरखजाना कसूरमा मुद्दा दर्ता भई जिल्ला सरकारी वकिल कार्यलय चितवनमार्फत सम्मानित चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको पुरानो मिसिल अध्ययनबाट देखिएको हुँदा तपाईंको निज टाइचिन भन्ने पवन गुरुङ र तारा तामाङसँग चिनजान, नाता सम्बन्ध छ, छैन? उक्त हतियार तपाईंले निजहरु तारा तामाङ र टाइचिन भन्ने पवन गुरुङ मार्फत प्राप्त गर्नुभएको हो वा होइन? उक्त हतियार कालीबहादुर गणको कोतबाट अनाधिकृत रुपमा चोरी गरी निकाली तपाईंले प्रयोग गर्ने कार्यमा निजहरुको संलग्नता रहेको छ÷छैन? संलग्नता रहेको छ भने के कस्तो संलग्नता रहेको छ? खुलाई लेखाई दिनुहोस्।
जवाफमा उनले भनेका छन्ः (जस्ताको त्यस्तै)
मैले भरत गुरुङलाई गोली प्रहार गरी हत्या गर्न प्रयोग गरेको हतियार मैले कालीबहादुर गण भरतपुर ब्यारेक चितवनको कोतबाट चोरी गरी निकालेको हुँ। उक्त हतियार कालीबहादुर गणबाट चोरी गर्ने कार्यमा म बाहेक अन्य कोही कसैको संलग्नता छैन। उल्लेखित टाइचिन भन्ने पवन गुरुङ र तारा तामाङसँग मेरो कुनै नाता सम्बन्ध छैन, मैले निजहरुलाई चिन्दिनँ। के कुन आधारबाट निजहरु उपर हातहतियार मुद्दा दताई भई सम्मानित चितवन जिल्ला अदालतमा पेश भएको मलाई थाहा भएन।
त्यसपछि गंगाधरलाई फेरि सरोज र लवकुमारको नाम जोडेर अर्को सवाल गरिएको छः
सिपाही सरोज तामाङको सहयोगमा अमल्दार लवकुमार गुरुङले कालीबहादुर गाण्बाट एसएमजी हतियार निकाली कोठामा लगी राखेको हुँ भनि लेखाएको मिसिल संलग्न रहेको अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङले गरेको घटना विवरण कागजमा उल्लेख गरेको हुँदा यस सम्बन्धमा तपाईंको भनाई के छ? निजहरुसँग चिनजान छ/छैन? खुलाई लेखाई दिनुहोस्?
जवाफमा गंगाधरले भनेका छन्ः
मैले भरत गुरुङलाई गोली प्रहार गरी हत्या गर्न प्रयोग गरेको हतियार मैले कालीबहादुर गण भरतपुर ब्यारेक चितवनको कोतबाट चोरी गरी निकालेको हुँ। उक्त हतियार कालीबहादुर गणबाट चोरी गर्ने कार्यमा मबाहेक अन्य कोही कसैको संलग्नता छैन। निज अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङ मैले चिन्दिनँ।
बयानका क्रममा गरिएको सवाल नं. १३ र १४ ले गंगाधर र लवकुमार–सरोजबीच कुनै चिनजान नभएको देखाउँछ। त्यस्तै ११ महिना कारागारमा बिताएर अदालतबाट सफाइ पाएकी लवकुमारकी जेठीसासु तारा र भाइ टाइचिन भनिने पवन गुरुङको पनि गंगाधरसँग कुनै साइनो नरहेको उनले स्वयम् बयानमा स्वीकारिसकेका छन्।
यही दाबी लवकुमारको परिवार र सरोजले यसअघिदेखि नै नेपाल समयसँग गर्दै आइरहेको थियो।
नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलका अनुसार यतिखेर सैनिक मुख्यालयबाट एउटा टोली हतियार प्रकरणको आन्तरिक अनुसन्धानका लागि चितवनमै खटिएको छ। उनीहरु केही दिनमै प्रतिवेदन बुझाउने तयारीमा छन्।
तीन दिन अघिमात्रै कारागारमै पुगेर उनीहरुले सरोज र लवकुमारको समेत बयान लिइसकेका छन्। ‘गंगाधरको स्पष्ट बयानले लवकुमार र सरोजलाई न्याय मिल्ने सम्भावना बढेको छ,’ नेपाली सेनाका एक उच्च अधिकारी भन्छन्, ‘जिल्ला अदालतमा प्रमाणिकरण भइसकेको बयानपछि बाहिर हल्ला भएजस्तो गंगाधरको बयान फेरि फेराउने सम्भावना देखिँदैन, न गन नम्बर नै परिवर्तन गर्न मिल्छ। अब लवकुमार र सरोजलाई न्याय दिनु र उनीहरुलाई फसाउने अफिसरहरुमाथि कोर्ट मार्सल गरिनुको विकल्प देखिँदैन।’
(हामी निरन्तर फलोअपमै छौं। अर्को शृंखलाका लागि नेपाल समय हेर्दै गर्नुहोला)
शृंखलाको सातौं भाग
जेलमा रहेका 'निर्दोष' सैनिकका परिवार न्याय खोज्दै काठमाडौंमा, के भन्छ सेना?
करिब रातको १२ बजेपछि ड्युटीमा सेनाहरु अगाडि ढोकामा बसेको समयमा म पछाडिको झ्यालबाट हतियार राखेको ठाउँमा गएर उक्त बरामद भएको हतियार चोरेर लगेको हुँ। उक्त हतियार चोरेर घरको टौवामुनि लुकाएर राखेको थिएँ। मैले टौवा फेर्ने बेलामा अर्को ठाउँमा लुकाएर राख्ने गरेको र फेरि टौवा बनेपछि सोही स्थानमा लुकाएर राख्ने गरेको थिएँ। उक्त चोरी गरेको हतियार लुकाएको घरमा कसैलाई थाहा थिएन। …
शृंखलाको दोस्रो भाग:
जेलबाट सैनिक सरोजले भने- निर्दोष छौं, अब न्याय पाइएला कि!
एकपटक त हामीलाई आँखामा पट्टी, हातमा हतकडी लगाएर जंगलमा लगियो। फायरिङ गरियो। अनि भनियो– ‘तेरो साथी लबकुमार मर्यो।’ त्यसपछि बन्दुक कहाँ छ, अब तँ भन्, नत्र तलाई पनि मार्दिन्छु भन्दै मलाई धम्क्याइयो। त्यतिमात्रै होइन, तेरो श्रीमतीलाई दिल्ली लगेर बेच्दिन्छु, छोराछोरी बेच्दिन्छु, अनेक भनेर तर्साइयो। ...
शृंखलाको पहिलो भाग:
जेलभित्र रहेका दुई सैनिक निर्दोष, हराएको हतियार अर्कैले चोरेको ‘पुष्टि
दुई वर्षदेखि जेलमा रहेका दुई सैनिक जवानमाथि लगाएको अभियोग मिथ्या सावित भएको छ। चितवनस्थित नेपाली सेनाको कालीबहादुर गणको गणबाट १००७९२ नम्बरको सर्ट मेसिन गन ( एसएमजी ) चोरीको आरोपमा जेल परेका ती दुई सैनिक जवानहरु सोही नम्बरको हतियार अर्को व्यक्तिले चोरेको स्विकारेपछि उनीहरुमाथिको अभियोग बनावटी रहेको तथ्य बाहिर आएको हो।…