काठमाडौं– नेकपा एमालेले पार्टीको ह्विप उल्लंघन गरेका माधव नेपालसहितका १४ जना सांसदको नाम समावेश गरेर ल्याइएको सनाखत नबुझ्न निर्वाचन आयोगलाई दबाब दिएको छ। अग्नि खरेलसहितका एमाले नेताहरूले मंगलबार निर्वाचनमा आयोगमा पुगेर ह्विप उल्लंघन गरेका सांसदको नाम समावेश गरेर ल्याइएको सनाखत नबुझ्न आयोगलाई दबाब दिएका हुन्।
पार्टीले कारबाही गरेका सांसदको नाम समावेश गरेर ल्याइएको सनाखतले लोकतन्त्र कमजोर बनाउने उनको दाबी थियो। एमाले निर्वाचन विभाग प्रमुखसमेत रहेका खरेलले सनाखत प्रक्रियामा नेकपा एमालेलाई समावेश गर्न जरुरी रहेको बताए। उनले भने, ‘सरकारले एमाले फुटाउनका निम्ति अध्यादेश ल्याएको हो। त्यसैले एमालेलाई रोहबरमा राखेर काम गर्नुपर्छ।’
उनले पार्टीको ह्विप उल्लंघन गरेकाले उनीहरूलाई कारबाही भइसकेको छ। खरेलले भने, ‘तिनीहरुलाई कारबाही गरिनुपर्छ भनेका छौं र तिनीहरुको नाम पनि समावेश नगरियोस्, तिनीहरूलाई नाम समावेश गरेर उनीहरुलाई सनाखत गराउने प्रक्रियामा समावेश नगराइयोस्।’ यसले मुलुकको लोकतन्त्रलाई बलियो बनाउने दाबी उनको छ।
उनले निर्वाचन आयोग लोकतन्त्र बलियो बनाउने काममा लाग्ने विश्वास व्यक्त गरे। खरेलले भने, ‘सनाखत प्रक्रियामा नेकपा एमालेलाई पनि समावेश गर्न जरुरी हुन्छ, नेकपा एमाले दल फुटाउने उद्देश्यले जब निवेदन आउँछ भने जुन मूल दल हो, त्यसलाई फुटाउन आएका मान्छे त्यसका सदस्य हुन् कि होइनन्? संसदीय दलका ती सदस्य हुन् कि होइनन्? पार्टीका केन्द्रीय समितिका सदस्य हुन् कि होइनन्? भन्ने कुरो त्यो दललाई रोबरमा त राख्नुपर्यो नि त।’
खरेलले भने, ‘तिनीहरुलाई कारबाही गरिनुपर्छ भनेका छौं र तिनीहरुको नाम पनि समावेश नगरियोस्, तिनीहरूलाई नाम समावेश गरेर उनीहरुलाई सनाखत गराउने प्रक्रियामा समावेश नगराइयोस्।’ यसले मुलुकको लोकतन्त्रलाई बलियो बनाउने दाबी उनको छ।
नेकपा एमाले त्यागेर नेकपा एकीकृत समाजवादी दल गठनका सम्बन्धमा बुधबार निर्वाचन आयोगले नेताहरूको सनाखत गर्दै छ। सनाखत भएपछि आयोगले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको दर्ता प्रक्रिया अघि बढाउने छ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सनाखत गर्दा केन्द्रीय समितिका सदस्यहरुले नागरिकताको प्रमाणपत्र र मतदाता परिचयपत्रलाई आधार बनाइने बताए।
उनले संघीय संसदका सदस्यहरुको हकमा भने संघीय संसदबाट जारी परिचयपत्र लिएर उपस्थित हुनुपर्ने बताए। प्रवक्ता श्रेष्ठले निवेदनमा दर्ता भएका नामका व्यक्तिहरुलाई स्वयं उपस्थित भएर सनाखत गर्नुपर्ने र भारतमा उपचाररत नेता झलनाथ खनालको विषयमा भने आयोगले छलफल गरेर निष्कर्ष निकाल्ने बताए।
श्रेष्ठले भने, ‘केन्द्रीय समितिका सदस्यहरूले नागरिकताका प्रमाणपत्र वा मतदाता परिचयपत्र लिएर स्वयं उपस्थित हुनुपर्नेछ। त्यस्तै संघीय संसदका सदस्यहरुले संघीय संसदबाट जारी परिचयपत्र लिएर आउनुपर्नेछ। यो नै हामीले चिन्ने आधिकारिक कागजात हो।’
उनले आयोगबाट तोकिएको कर्मचारीको उपस्थितिमा सनाखत हुने अभ्यास रहेको बताए। उनले भने, ‘अहिले पनि त्यही हुन्छ। निवेदनमा संलग्न सबै व्यक्तिहरुलाई स्वयं उपस्थित भएर सनाखत गर्नका निम्ति जानकारी गराइसकिएको छ। तर झलनाथ खनालको सन्दर्भमा निर्वाचन आयोगले छलफल गरेर निक्र्योल गर्नेछ।’
निर्वाचन आयोगले दल दर्ताका निवेदन दिएको नेकपा (एकीकृत समाजवादी)लाई बुधबार बिहान साढे ११ बजेदेखि २ बजेसम्मको समय दिएको छ।