काठमाडौं- माधवकुमार नेपालको नेतृत्वमा दर्ता प्रक्रियामा रहेको नेकपा (एकीकृत समाजवादी)लाई साथ दिएका पूर्वप्रधानमन्त्री झलनाथ खनालले केही नेताहरूले मध्यपन्थी धारको वकालत गर्दै केपी शर्मा ओलीको 'शरण'मा पुगेको टिप्पणी गरेका छन्।
आफूहरूलाई पहिले साथ दिएका तर अहिले आएर ओलीमा समाहित भएका १० नेताहरूप्रति कटाक्ष गर्दै नेता खनालले मध्यपन्थी अवसरवादको आयु भने लामो नहुने बताए।
'हाम्रो केन्द्रमा मध्यपन्थी जन्मियो। यो भनेको मध्यपन्थी अवसरवादको रूप हो। तर मध्यपन्थीको आयु लामो हुँदैन,' उनले भनेका थिए।
खनालले मध्यपन्थीहरू प्रदेश र जिल्ला हुँदै स्थानीय तहसम्म फैलिने भन्दै अबको भण्डाफोर अभियानलाई मध्यपन्थीविरुद्ध पनि हुनुपर्ने बताए।
नेता खनालले नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठकलाई दिल्लीबाट भर्चुअल रूपमा सम्बोधन गरेका थिए।
पुस ७ पछि नेपाललाई सघाउँदै आएका १० स्थायी कमिटी सदस्यहरू मंगलबार एमाले स्थायी कमिटी बैठकमा सहभागी भएका छन्।