नेपालगन्ज- आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा प्रदेश नम्बर ५ विजयी भएको छ । शुक्रबार खजुराको डि गाउँमा भएको खेलमा प्रदेश ५ ले एपीएफलाई ३-२ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।
प्रदेश ५ को जितका लागि पुर्ण बहादुर गुरुङ, विवेक पुन र सुज्जु सेनले समान एक एक गोल गरे । एपीएफका लागि आशिस लामा र प्रदिप लामाले एक एक गोल गरेका थिए । खेलमा सुरुवाती अग्रता भने एपीएफले लिएको थियो । सुरुवाती अग्रता जोगाउन नसक्दा एपीएफ प्रदेश ५ सँग पराजित हुन पुगेको हो ।
पहिलो हाफमा एपीएफलले २-१ को अग्रता लिएको थियो । तर, दोस्रो हाफमा थप दुई गोल खाँदै एपीएफ प्रदेश पाँचसँग पाजित हुन पुग्यो । खेलको १८ औं मिनेटमा एपीएफका आशिसले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछी खेलको २६ औं मिनेटमा प्रदिपले गोल गर्दै एपीएफको अग्रता दोब्बर पारेका थिए ।
तर, ८० मिनेट खेलाईएको खेलको पहिलो हाफको इन्जुरी समयमा प्रदेश ५ खेलमा फरर्कियो । इन्जुरी समयमा प्रदेश ५ का पुर्ण बहादुरले गोल गर्दै आफ्नो टोलीलाई खेलमा फर्काए ।
त्यसपछि दोस्रो हाफमा थप दुई गोल गर्ने क्रममा खेलको ४३ औं मिनेटमा विवेकले गोल गर्दै खेल बरबारीमा ल्याए । खेलको ७६ औं मिनेटमा सन्जुले गोल गर्दै प्रदेश ५ लाई महत्वपूर्ण जित दिलाए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४