जनकपुरधाम – जनकपुरमा जारी तेस्रो सहीद कप क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न खेलमा युनाइटेड क्रिकेट क्लबले भारत बिहारको पटनास्थित राजेश एकेडमी टिमलाई ६ विकेटले पराजित गरेको छ।
टस जितेर बैटिङ रोजेको पटनाले १९.४ ओभरमा आफ्नो सम्पूर्ण विकेट गुमाएर १ सय १९ रन बनाएको थियो। पटनातर्फ ब्याटिङ गरेका स्लोक कुमारले ४७ बलमा सर्वाधिक ४३ रन बनाएका थिए। स्लोकबाहेक पटनाका अन्य ब्याट्म्यानहरु वीरगंजका हसिम अन्सारीको आक्रमक बलिङ सामु निरिह भए। हसिम ३.४ ओभरमा जम्मा १७ रन खर्चेर ५ विकेट लिन सफल भएका थिए।
१ सय २० रनको लक्ष्य लिएर ब्याटिङ गर्न मैदानमा उत्रिएको वीरगंज १४.३ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पुरा गरेर जित हात पार्न सफल भएको छ। वीरगंजतर्फबाट ब्याटिङ गर्दै राजा सिंहले ३१, सुराज पटेल २०, सैफुल्लाह अन्सारी २५ र फैजल शाहले ५ रनको योगदान दिए। अन्सारी र शाह नटआउट रहे।
पाँच विकेट लिन सफल भएका वीरगंजका हासिम म्यान अफ द म्याच घोषित भएका छन्।
स्थानीय रंगभूमि मैदानमा जारी प्रतियोगितामा नेपाल तथा भारत गरी आठ टिम सहभागी छन्। सोमबार पहिलो सेमिफाइनल आयोजक जनकपुर क्रिकेट क्लब र युनाइटेड क्रिकेट क्लब वीरगंज र दोस्रो सेमिफाइनल सोनेट क्रिकेट क्लब कानपुर र राजपुताना रेजिमेन्ट दरभंगाबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो सेमिफाइनलमा खेल्ने दुबै टिम भारतका हुन्। यसअघि प्रतियोगिताबाट काठमाडौंै, विराटनगर र कलैया बाहिरिसकेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४