काठमाडौं – कलेज प्रिमियर लिगमा ट्रिटन कलेजले लगातार जित हासिल गर्दै सेमिफाइनल यात्रा तय गरेको छ। राजधानीमा जारी कलेज प्रिमियर लिग (सिसिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा ट्रिटनसँगै काठमाडौं विश्वविद्यालय (केयू) पनि प्रवेश गरेको छ।
टियु क्रिकेट मैदानमा बिहिबार ट्रिटनले अर्किड कलेजलाई ४४ रनले पराजित गर्दै समूह ‘ए’ को शीर्ष स्थानमा रहदै अन्तिम चारमा पुगेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको ट्रिटनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४२ रन जोडेको थियो। ट्रिटनका लागि आदील खानले ४९ रन जोड्दा प्रदिप ऐरीले ३७ रनको योगदान दिए। अर्किडका विज्ञान गौतमले २ तथा चन्द्रकान्त पौडेल र विजय विष्टले १–१ विकेट लिए।
ट्रिटनले दिएको १ सय ४३ रन्को लक्ष्य पछ्याएको अर्किडले २० ओभरमा ९ विकेट गुमाउँदै ९८ रनमात्र जोड्न सक्यो। उसका प्रवेश खड्काले २५ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले लामो इनिङ्स खेल्न सकेनन्।
यस्तै अर्को खेलमा काठमाडौं विश्वविद्यालयले त्रिचन्द्र कलेजलाई १९ रनले पराजित गर्दै अन्तिम ४ को यात्रा तय गर्यो।
टस जितेर पहिले ब्याटिङ गरेको केयूले २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ५२ रन जोड्यो। उसका प्रविन रिजालले ५१ रन जोड्दा रवीन जोशीले २९ रन बनाए। त्रिचन्द्रका दिलिप नाथले ३ विकेट लिए।
जवाफमा त्रिचन्द्रले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय २४ रन बनायो। उसका पुरन विकले ४७ तथा प्रज्वल शाहीले ३३ रन जोडे। केयूका रुपेश श्रीवास्तवले ४, इशान पाण्डे र सागर शर्माले २–२ विकेट हात पारे।
जितसंगै केयू समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४