नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटेको नभई केही मानिस मात्र अलग भएको टिप्पणी गरेका छन्। यसले एकाध ठाउँमा असर गरे पनि अपूरणीय क्षति नहुने उनको दाबी छ।
वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी फुटाएर नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि बुधबार मात्र निर्वाचन आयोगमा निवेदन दिएका छन्। त्यसबारे प्रतिक्रिया दिएका अध्यक्ष ओलीले एमाले कमजोर नहुने दाबी गरेका छन्। उनले कोही चोइटिएर जाँदैमा एमाले नसिद्धिने दाबी गर्दै भने– हात्ती दुब्लाएर बाख्रो हुँदैन। प्रतिनिधिसभामा एमालेसँग अहिले पनि १०० भन्दा बढी सांसद रहेको र छिट्टै चुनाव आउने उनले बताए। ओलीले चुनावबाट एमाले झनै शक्तिशाली भएर उदाउने दाबी गरे।
नेता नेपालले एमाले कमजोर पार्ने बाहेक केही काम नगरेको ओलीको आरोप छ। लामो समय माधव नेपाल समूहमा रहेका, तर उनको नयाँ पार्टीमा नगएका नेताहरु एमालेमै रहेको उनले बताए। यस्तै एमाले अध्यक्ष ओलीले संसद छलेर छापामार शैलीमा अध्यादेश ल्याएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गरे। एमाले विभाजन गर्ने गलत बदनियतका साथ अध्यादेश ल्याएको र यो सर्वोच्च अदालतको फैसला विपरीत भएको उनको भनाइ छ।
यस्तै नेकपा एमालेका अध्यक्ष ओलीले भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नयाँ दल दर्ता गर्न माधवकुमार नेपाललाई साथ दिएका नेताहरुलाई एमालेमा फर्किन आग्रह गरेका छन्। अध्यक्ष ओलीले निर्वाचन आयोगमा माधव नेपालले बुझाएको सूचीमा आफू नरहेको घोषणा गर्न अप्ठेरो नमान्न पनि नेताहरुलाई आग्रह गरे। अध्यक्ष ओलीले कोही अलमल वा भ्रममा परेर गएको भए सम्झाउन पार्टीका नेताहरुलाई आग्रह गरे।
यता नेकपा एमालेले माधव नेपाल पक्षका १४ जना सांसदलाई गरिएको कारबाहीलाई सभामुखले चाडो सदर नगरे चुप लागेर नबस्ने चेतावनी दिएको छ।
बिहीबार सिंहदरवारमा सभामुख सापकोटालाई भेटेर नेकपा एमालेका सांसदहरुले नेपाल पक्षका १४ जना सांसदलाई तत्काल पदमुक्त गर्न माग गर्दै त्यसो नगरे चुप लागेर नबस्ने चेतावनी दिएका हुन्। नेपाल पक्षको नयाँ पार्टी औपचारिक रुपमा दर्ता हुनु अघि नै एमालेले कारबाही गरेका १४ सांसद्लाई पदमुक्त गर्न उनीहरुले माग गरेका छन्।
सभामुख सापकोटालाई भेटेपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा नेकपा एमालेका नेता विशाल भट्टराईले सभामुख सापकोटाले तत्काल कारबाही गर्छु भन्ने आश्वासन दिएको बताए। नेता भट्टराईले विलम्ब गरेर निर्वाचन आयोगमा दल दर्ता सकेपछि सूचना दिए त्यो गैरकानूनि, गैर संवैधानिक, वधनियत र नेकपा एमालेलाई जसरी पनि टुक्राउँछु भन्ने नियत देखिने बताए।
यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै सभामुख अग्नि सापकोटाको आलोचना गरेका छन्। अब सापकोटा सामु सभामुख पदमा रहिरहने कि माओवादी कार्यकर्ता बन्ने भनेर रोज्नुपर्ने बेला आएको ओलीको टिप्पणी छ। उनले सभामुखले पदीय दायित्व बेलैमा निर्वाह नगरे एमाले चुप लागेर नबस्ने चेतावनी समेत दिएका छन्। एमालेले तत्काल कारबाहीको निर्णय गर्न माग गरेपनि नेपाल पक्षका कारबाहीमा परेका सांसद्हरुले भने आफूहरुलाई कारबाही गर्न नमिल्ने भन्दै मंगलबार संसद सचिवालयका महासचिवको ध्याकर्षण गराएका थिए।
ओली नेपाल विवादकै अर्को प्रसंगमा नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित एमाले (समाजवादी) पार्टीलाई सहयोग गर्ने बताएका छन्।
पार्टी एकता अभियानको जुम मिटिङलाई बिहीबार सम्बोधन गर्दै नेता गौतमले बिहीबार यस्तो बताएका हुन्। पार्टी एकता अभियानलाई पनि तीव्र बनाउने बताएका गौतमले नेपाल नेतृत्वको नयाँ पार्टीलाई पनि सहयोग गर्ने सुनाए। केपी ओलीको पक्षमा लागेर अब पार्टीका लागि केही गर्न नसकिने उनको भनाइ थियो। एमालेको माधव नेपाल समूहले नयाँ पार्टी दर्ताको प्रक्रिया सुरु गर्दा भने उपाध्यक्ष गौतम खुलेका थिएनन्।
गौतम कहिले केपी ओलीतिर कहिले नेपालतिर लाग्दै आएका छन्। एमाले विवाद चर्केपछि उनले केही समयअघि एकता अभियान सुरु गरेका थिए। बीचमा भने उनको गतिविधि सुस्ताएको थियो। गौतमले २०५४ सालमा नेकपा एमाले विभाजन गरेर नेकपा माले गठन गरेका थिए। पछि उनी पुनः एमालेमै समाहित भएका थिए।
यता, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल नेतृत्वको नयाँ पार्टी दर्ता हुने बित्तिकै मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिएका हुन्। बिहीवार समाजवादी केन्द्र, नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष प्रचण्डले नेता नेपालले दर्ता गरेको नयाँ पार्टीको सनाखत भएको भोलिपल्टै मन्त्रिपरिषद् बिस्तार हुने दाबी गरेका हुन्। यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, नेता नेपाल र आफुविच बिहीवार बिहानको भेटमा समझदारी बनिसकेको पनि उनले जानकारी दिए।
केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र गणतन्त्र सिध्याउन अध्यादेश ल्याएको भएपनि वर्तमान सरकारको अध्यादेश ल्याउनु उद्देश्य लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्नु रहेको प्रचण्डको दाबी छ। अन्तरक्रियामा बोल्दै जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ समाजवादको मोडल खोज्नुपर्ने आवश्यकता रहेको बताए। नेताहरुले पुराना पार्टीको चुनाव चिन्ह छोड्न गाह्रो मानेको भन्दै उनले क्षणिक पार्टीगत र चुनावी स्वार्थ भन्दा माथि उठेर समाजवादी केन्द्र बनाउनुपर्नेमा जोड दिए।
चुनावी स्वार्थभन्दा माथि उठेर विश्व मानव जाति र देशका जनताको हितलाई केन्द्रमा राखेर समाजवादको नयाँ नीति तथा कार्यक्रम बनाउनुपर्नेमा डा भट्टराईको जोड छ।
यसैबीच सरकारले बागमति प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्माको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको छ।
बिहीबारको मन्त्रिपरिषद्को बैठकले विष्णु प्रसाईंलाई पदमुक्त गर्दै माधव नेपाल समूहका शर्माको नाम सिफारिस गरेको हो। राष्ट्रपतिबाट नियुक्त भएर सपथ खाएपछि उनले आफ्नो पद सम्हाल्ने छन्। नेपालले एमाले विभाजन गर्दै एमाले समाजवादी पार्टी दर्ताको लागि निवेदन दिएको भोलिपल्टै प्रधानमन्त्री देउवाले उनलाई पनि भागबण्डा सुरु गरेका छन्।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले अनुराधा कोइरालालाई पदमुक्त गर्दै विष्णु प्रसाईंलाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो।
मन्त्रिपरिषद् बैठककै अर्को प्रसंगमा सरकारले कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने भएको छ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए। यस्तै आजकै मन्त्रिपरिषद्को बैठकले गाईजात्रामा नेवार समुदायका लागि देशैभर बिदा दिने निर्णय गरेको छ।
भदौ ७ मा गाईजात्रा छ। यसअगाडि काठमाडौं उपत्यकाभित्र मात्र गाईजात्रामा बिदा हुने गरेकोमा नेवार समुदायका लागि देशैभर उक्त दिन बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए।
अब कोरोना संक्रमणको प्रसंग। पछिल्लो २४ घण्टामा ३,०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
११ हजार ९ सय ४६ पीसीआर परीक्षण गर्दा २ हजार ३२१ जना र ४ हजार ४९२ एन्टिजेन परीक्षण गर्दा ७ सय ५४ गरी ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ भने २ हजार १२६ जना निको भएका छन्।
बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ४२ हजार २२८ पुगेको छ। योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ४२९ पुगेको छ भने ६ लाख९१ हजार २२९ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ५सयजना रहेका छन्।
ब्रिटिस गोर्खा आन्दोलनबारे एउटा प्रसंग। भूतपूर्व ब्रिटिश गोर्खा संयुक्त संघर्ष समितिले तलव, भत्ता तथा सेवा, सुविधामा समानताको माग गर्दै बेलायतमा आमरण अनशन व्यक्तिहरुको जीवन रक्षाका लागि प्रदर्शन गरेको छ।
बेलायतमा रहेका भुतपूर्व ब्रिटिश गोर्खाले आफुहरुलाई समान काममा तलव, भत्ता तथा सेवा सुविधमा बेलायत सरकारले विभेद गरेको भन्दै समानताको माग राखि आन्दोलन गरिरहेको छ। १४ दिनदेखि आमरण अनशनमा बसेको भएपनि बेलायत सरकार र नेपाल सरकारले माग पुरा गर्न र जीवन बचाउन चासो नराखेको भन्दै संघर्ष समितिले काठमाडौंको माइतिघर मण्डलामा प्रदर्शन गरेको हो। भुतपूर्व ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका महासचिव एस.बि. घिसिङले नेपाली गोर्खालाई बेलायत सरकारले शोषण गरिरहेको बताए।
नेपाल सरकार र बेलायत सरकारले आफूहरुको माग सम्बोधन गर्न तत्परता नदेखाएसम्म आन्दोलन नरोकिने उनीहरुको भनाइ छ।
अब अन्तराष्ट्रिय समाचार। अफगानिस्तानको सत्ता कब्जामा लिएको तालिबानले भारतसँगको व्यापार बन्द गरेको जनाएको छ।
दुई देशबीच मालबाहक सवारी पाकिस्तानको मार्गबाट गुड्ने गर्छन्। भारतीय निर्यात संगठन महासंघले सवारीको आवागमन रोकिएको जनाएको छ। जसकारण लाखौं डलर बराबरको सामान आयात र निर्यात रोकिएको छ। अफगानिस्तानमा भारतले निकै ठूलो परिमाणमा निर्यात व्यापार गर्ने गरेको छ। भारतले अफगानिस्तानमा बाँध, विद्यालय र सडकहरूको विकासमा पनि अर्बौं डलर लगानी गरिरहेको छ। भारतले अफगानिस्तानबाट ठूलो मात्रामा ड्राइफ्रूट आयातसमेत गर्छ। भारत बाहेक पाकिस्तानले पनि अफगानिस्तानबाट ड्राइफ्रूट आयात गर्ने गरेको छ।
अफगानिस्तानको बदाम, किसमिस र पिस्तालगायत सामानको मुख्य क्रेता भारत हो। ड्राइफ्रूट आयातको हिसाबले अमेरिका, जर्मनी र हङकङ पछि भारत चौथो स्थानमा छ।
काबुलमा रहेको हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल भित्र गएको आइतबार यता १२ जनाको ज्यान गएको छ।
तालिबानका एक अधिकारीले नाम गोप्य राख्ने शर्तमा गोली लागेर वा भागदौडका कारण विमानस्थल र आसपासको क्षेत्रमा उनीहरुको ज्यान गएको समाचार संस्था रोयटर्सलाई बताएका छन्। अफगान अधिकारीले विमानस्थलको गेटमा रहेकाहरु, जोसँग यात्राका लागि चाहिने आवश्यक कागजात छैन उनीहरुलाई घर फर्किन सुझाव दिएका छन्।
तालिबानले कसैलाई पनि दुःख दिन या हानी पुर्याउन नचाहेको उनले बताएका छन्। तालिबानले गएको आइतबार अफगानिस्तानमा नियन्त्रण कायम गरेसँगै त्रासमा रहेका हजारौँ अफगानीहरु विमानस्थल गएका छन्। काबुल विमानस्थल अहिले पनि अमेरिकाको नियन्त्रणमा छ। तर त्यसआसपासका सडकहरु भने तालिबानले कब्जा गरेको छ।