काठमाडाैं - एएफसी यू–२३ च्याम्पियनसिपको पहिलो छनोट खेलमा नेपाल ओमानसँग १–० गोल अन्तरले पराजित भएको छ। कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरको मैदानमा भएकाे खेलमा नेपाल ओमानसँग पराजित भएकाे हाे।
पहिलो हाफको १३ औं मिनेटमा ओमानका लागि सलाह अल यायाहीको पासमा युुसुफ अल मलिकले गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोलले पछि परेको नेपालले दोस्रो हाफमा खेलमा फर्कन प्रयास गरेको थियो। नेपालका विमल घर्ती मगर र अञ्जन विष्टले गोल गर्ने प्रयास गरे पनि असफल हुँदा नेपाल छनोटको पहिलो खेलमा पराजित भयाे।
फिफा वरियतामा ७१ औं स्थान माथि रहेको ओमानविरुद्ध नेपाली टोली सबै पक्षमा कमजोर देखिएको थियो। फिफा वरियतामा नेपाल १ सय ६१ औं स्थानमा र ओमान ९० औं स्थानमा रहेको छ।
नेपालले अब दोस्रो खेलमा आइतबार आयोजक कतारसंग खेल्ने छ। यस्तै अन्तिम खेलमा नेपालले मार्च २६ मा अफगानिस्तानसंग खेल्नेछ । आगामी जनवरी ८ देखि २६ तारिखसम्म थाइल्याण्डमा आयोजना हुने फाइनल चरणका लागि छनोट खेल्न नेपाली टोली कतार पुगेको हो। छनोटको शीर्ष टोलीले थाइल्याण्डमा आयोजना हुने एएफसी यू-२३ च्याम्पियनसिप खेल्नेछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४