काठमाडौं - एएफसी यू-२३ छनोट अन्तर्गत नेपालले शुक्रबार ओमानसँग पहिलो खेल खेल्दैछ। खेल नेपाली समयअनुसार बेलुका ७:४५ बजेदेखि दोहा स्पोर्टस सिटीको एस्पायर-४ मैदानमा सुरु हुदैछ ।
सन् २०२० को जनवरी ८ देखि २६ सम्म थाइल्याण्डमा हुने प्रतियोगिताका लागि छनोट चरणमा ११ समूह छन्। समूह ‘ए’ मा नेपालले ओमान, कतार र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नुपर्ने छ। ११ समूहबाट समूह विजेता र उत्कृष्ट पाँच उपविजेता गरी १५ टिम तथा आयोजक थाइल्याण्डले एएफसी यू-२३ फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन्।
खेलअघिको पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक बालगोपाल महर्जनले बलिया टोलीबिरुद्ध नेपालले दवाबरहित भएर खेल्ने बताए। ‘फिफा बरियाता, पूर्वाधार, प्रदर्शन सबै हिसावले ओमान र कतारजस्ता टिम हामीभन्दा बलिया छन्’, उनले भने, ‘हामीले हाम्रो शतप्रतिशत दिएर खेल्नेछौं। सकारात्मक नतिजाको अपेक्षा गछौं।’
प्रशिक्षक महर्जनले खेलाडीहरु स्थानीय नकआउट प्रतियोगितामा व्यस्त रहेका कारण लामो तयारी नभएको जानकारी दिए। प्रतियोगिताका लागि मंगलबार राति कतार आइपुगेको नेपाली टोलीले बुधबार र बिहीबार अभ्यास गरेको छ।
ओमानका प्रशिक्षक हमाद अजानीले टिममा नयाँ अनुहारको बाहुल्य रहेको र उनीहरु सकारात्मक नतिजाका लागि उत्साही रहेको बताए। ‘छोटो तयारीका साथ हामी प्रतियोगिताका लागि आएका छौं। हिजो मात्रै हाम्रो राष्ट्रिय टोलीका अफगानिस्तानबिरुद्ध ५-० को जित हासिल गरेको छ। टिममा धेरैजसो नयाँ अनुहार छन्। तर, पनि हाम्रा खेलाडीहरु उत्साही छन्, उनले भने।’ प्रशिक्षक अजानीले नेपाललाई कमजोर प्रतिस्पर्धीका रुपमा नलिएको प्रष्ट पारे।
बलियो टिम ओमानबिरुद्ध नेपालले स्वभाविक रुपमा रक्षात्मक खेल्नेछ। काउन्टर एट्याक र सेट पिस गोलको अवसरमा नेपालको ध्यान केन्द्रित छ । फिफा बरियातामा नेपाल १ सय ६१ औं स्थानमा छ। ओमान नेपालभन्दा ७१ स्थान माथि अर्थात ९० औं स्थानमा छ । यू-२३ को उमेर समूहमा नेपाल र ओमान पहिलोपल्ट आमने सामने हुँदैछन्। सिनियर टोलीमा परिचित भए पनि उमेर समूहको शीर्ष टोलीबीच भने नयाँ प्रतिस्पर्धी हुन्। सिनियर स्तरमा भने नेपाल र ओमानबीच १० खेल भएकोमा नेपालले एक खेल पनि जित्न सकेको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४