काठमाडौ – युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा सुनारले आफ्नो एक वर्षे कार्यकालको विवरण सार्वजनिक गरेका छन्। आइतबार पत्रकार सम्मेलन गरी मन्त्री विकले विवरण सार्वजनिक गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिमण्डल हेरफेर गर्नेबारे छलफल चलिरहँदा मन्त्री विश्वकर्माले एक वर्षे कार्य विवरण सार्वजनिक गरेका हुन्।
मन्त्री विश्वकर्माले काठमाडौंको मूलपानीमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट मैदान २ वर्षभित्र पुरा हुने बताएका छन्। उनले मूलपानी मैदान निर्माणका सम्पूर्ण कार्य २ वर्षभित्रै पुरा हुने बताएका हुन्। यस्तै मन्त्री विश्वकर्माले १३ औं साग खेलकु्द नेपालको प्रतिष्ठासँग जोडिएकाले जसरी पनि निर्धारित मितिमै सञ्चालन हुने बताए। सागका लागि पूर्वाधार निर्माण तिव्र गतिमा भइरहेकाले प्रतियोगिता पछि नसर्ने उनले बताए।
मन्त्री विश्वकर्माले नेपालगञ्जमा सञ्चालन हुने ८ औं राष्ट्रिय खेलकुदका लागि पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको बताए।
मन्त्री विश्वकर्माले चालू आर्थिक वर्षभित्रै देशका विभिन्न भागमा ६ वटा रंगशाला, १९ वटा कभर्ड हल, ७ वटा क्रिकेट मैदान र विभिन्न ९० स्थानमा स्थानीय खेल मैदान निर्माणको कार्यलाई तीव्रता दिने योजना बनाइएको बताए। यसै वर्षदेखि ओलम्पिक खेलमा सहभागी ५९ खेलाडीलाई जनही मासिक रु तीन हजार र एशियन खेलमा पदक प्राप्त गर्ने १२ र दक्षिण एशियाली खेलकूदमा पदक जित्न सफल ८५ खेलाडीलाई मासिक रु पाँच हजारका दरले भत्ता उपललब्ध गराउन थालिएको उनले बताए।
एक वर्षको अवधिमा खेल सङ्घमा लामो समयदेखि रहेको विवाद समाधान गरी खेलकुदलाई एकताबद्ध र मर्यादित बनाउन विशेष पहल गरिएको बताउँदै उनले फुटबल, कराँते, जिम्न्याष्टिक, मोर्डन पेन्टाथलनको विवाद समाधान भएको र तेक्वान्दो, कुस्ती, क्रिेकट र नेपाल ओलम्पिक कमिटीमा रहेको विवाद तथा समस्या समाधानका लागि आवश्यक पहल भइरहेको जानकारी दिए।
८ पृष्ठ लामो प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री विश्वकर्माले काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रियस्तरका खेल पूर्वाधारहरु, ७ वटै प्रदेशमा आधुनिक सुविधा सम्पन्न रंगशाला निर्माण र ७ सय ५३ वटै स्थानीय तहमा खेलग्रामहरुको निर्माण कार्य लक्ष्यअनुरुप भइरहेको बताए।
चैत २ गते केपी शर्मा ओलीले युवा तथा खेलकुदमन्त्रीको रुपमा विश्वकर्मालाई नियुक्त गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४