विराटनगर- साविकको विजेता टोली भारत पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिपमा समूह ‘बी’को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । आइतबार भएको खेलमा श्रीलंकालाई ५-० गोाल अन्तरले पराजित गर्दै भारत समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो ।
भारतको जितका लागि खेलको चौथो मिनेटमा ग्रेस डांमेइले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाईन् । डि-बक्स भित्रबाट सन्जुले गरेको प्रहार करसर बारमा लाग्दै फर्केको बललाई ग्रेसले उत्कृष्ट गोल गरेकी हुन् ।
त्यसको तीन मिनेट नबित्दै सन्धिया रंगनाथनले गोल गर्दै अग्रता दोब्बर पारिन । उनले सन्जुको पासमा वन टच गोल गरेकी हुन् । ३६ औं मिनेटमा इन्दुमती कथिरेसनले गोल गर्दै अग्रता ३-० को परिन् । उनले सन्जुले प्रहार गरेको बल श्रीलंकाका डिफेन्डरले क्लियर गर्न खोज्दा फर्किएको बललाई गोलमा परिणत गरेकी हुन ।
पहिलो हाफको अन्तिम मिनेटमा संगीता बासफोरेले पेनाल्टीमा गोल गर्दै भारतलाई पहिलो हाफमा ४-० को अग्रता दिलाई । सन्जुले प्रहार गरेको बल रुसानी गुनावर्दनाले ह्यान्ड गरेपछी भारतले पेनाल्टी अवसर पाएको थियो ।
जुन अवसरलाई बासफोरेले खेर फालिनन् । दोस्रो हाफमा भारतले थप गोल गर्यो । ४७ औं मिनेटमा रातनबाला देवीले गोल गरिन् । उनले सन्धियाको पासमा गोल गरेकी हुन् ।
त्यस अघि खेलको १२ औं मिनेटमा सन्जुले डि-बक्स लाइनबाट गरेको प्रहार करसर बारको केहि माथिबाट बाहिरिएको थियो । २३ औं मिनेटमा करिब ३० याडबाट डलिमा चिब्बर्ले गरेको प्रहार श्रीलंकाकी गोलरक्षक आयोमी विजेरथ्नाले बचाउ गरिन ।
इन्जुरी समयमा सन्जुको पासमा रतन बालाजुले प्रहार गरेको बल श्रीलंकन डिफेन्डर सालुमिको खुट्टामा लगेर फर्कियो । ६२ औं मिनेटमा कप्तान आसलता देवीको प्रहारलाई गोलरक्षक आयोमीले उत्कृष्ट बचाउ गरिन् । खेलको अन्तिम मिनेटमा रत्नबालाको पासमा सन्जुको प्रहारलाई गाेलरक्षाक आयोमीले क्लियर गरिन् ।
यस खेलसँगै सेमिफाइनल समिकरण पुरा भएकोछ । अब फाइनल प्रवेशका लागि पहिलो सेमिफाइनल खेलमा नेपालले श्रीलंकाको सामना गर्ने छ । खेल बुधबार बिहान ११ बजे सुरु हुनेछ । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा भारतविरुद्ध बंगलादेश भिड्ने छ । दोस्रो खेल पनि बुधबार दिउँसो ३ बजे सुरु हुने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४