विराटनगर- नेपालले पहिलो पटक आयोजन गर्ने अवसर पाएको पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नै व्यवस्थापनप्रति गुनासा सुनाएका छन् । पहिलो त नेपालले पहिलो पटक साफ महिला च्याम्पियनसिप आयोजना गर्दै छ । त्यसमाथि पनि मोफसलमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नु आफैमा एक एतिहासिक क्षेण हो ।
तर, यस एतिहासिक प्रतियोगिताको उपहिलो दिन नै व्यावस्थापनप्रति भुटानका मुख्य प्रशिक्षक सुङ जियालीले प्रश्न उठाएका छन् । उनले व्यवस्थापनले गर्दा टिममा परेको असरबारे खुलेरै आलोचना गरे । उनले नेपालसँगको हारमा कुनै दुख व्यक्त गरेनन् । बरु नेपाली महिला टोलीको तारिफनै गरे । प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई ३-० गोलअन्तरले पराजित गरेको थियो ।
पराजित भएपछि पोष्ट म्याच कन्फ्रेन्समा पत्रकारसँग बोल्दै भुटानी प्रशिक्षक सुङ जियालीले व्यवस्थापन कमजोरीका कारण प्रतियोगिताको पुर्व सनध्यामा प्रशिक्षण गर्नु पर्ने अवस्थानमा दिनभरी होटेल खोज्नमै बितेको गुनासो गरेका हुन् ।

‘सोमबार दिनभर होटल खोज्दै दिन गयो । र त्यो पनि हाम्रा लागि व्यवस्थति बस्ने होटल भएन ।’ प्रशिक्षक सुङ जियालीले भने, ‘सोमबार होटेल खोज्दा खोज्दै दिन बितेपछि टिमले अभ्यास गर्नै पाएन । हाम्रो टिमले अभ्यासनै नगरी प्रतियोगितामा भाग लिएको हो । सोहि विभिन्न कठिनाईकै कारण नेपालसँगको नतिजा हार भएको हो ।’
त्यसो त, भुटानको टिम १० तारिख विहान काठमाडौंबाट विराटनगर आई पुगेको थियो । भुटानी टोलीको लागि बस्ने व्यवस्था भन्दै एन्फाले स्ट्रन स्टार होटलमा मिलाई दिएको थियो । तर होटल नराम्रो भएको भन्दै ११ तारिखमा भुटानी टिम होटल खोज्न लागि परेको थियो । ११ तारिखको बेलुका ५ बजे स्ट्रनबाट सरेर ह्यारिसन होटलमा भुटानी टिम सरेको थियो ।
भुटानी प्रशिक्षक सुङले यति ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा यस्तो व्यस्थापन लज्जास्पद भएको उनको दाबी छ । उनले भने, ‘मेरो लामो प्रशिक्षण करिअरमा यस्तो अवस्थाबाट गुज्रिनु परेको थिएन । जुन यस प्रतियोगितामा भोगे ।’ प्रशिक्षक सुङ जियालीले भने, ‘हाम्रो पहिलो जोड भनेको प्रशिक्षण हो जुन् हामीले बस्ने ठाउँ खोज्दैमा अभ्यास गर्न पाएनौं । यस्तो किसिमको व्यवस्थाले खेलाडीमा नकारात्मक असर परेको प्रस्ट देखिन्छ ।’
अपेक्षा अनुसार प्रदर्श भएन- प्रशिक्षक खड्का
आयोजक राष्ट्र नेपालले उद्घाटन खेलमा भुटानलाई ३-० गोलअन्तरले पराजित गर्दै प्रतिया्गितामा सुरुवात त सुखद नै गर्यो । तर, उक्त जितले मात्र प्रशिक्षक हरि खड्का खुशी भएनन् । खेलको अधिकांश समय भुटानलाई दबाबमा राखेपनि नेपालले तीन गोल मात्र गर्न सक्यो ।
खेल दौरान थुप्रै गोल गर्ने अवसरहरु सृजना गरे पनि बललाई गोल पोस्टमा दिशा दिन सकेनन् । खेलपछि पोष्ट म्याच कन्फ्रेन्समा प्रशिक्षक हरि खड्काले आफुले अपेक्षा गरेअनुसारको नतिजा नआएको बताए ।
‘मैले ६ गोलको अपेक्षा गरेको थिएँ तर पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । अब बंगालदेशको खेल हेरेपछि हामी रणनीति बनाउँछौं,’ प्रशिक्षक खड्काले भने ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४