विराटनगर- नेपाली राष्ट्रिय महिला टिमकी स्ट्राइकर साबित्रा भण्डारी नेपालका लागि मुख्य हतियार हुन् । उनी पछिल्लो समय नेपाली राष्ट्रिय महिला फुटबल टोलीको नियमित तथा महत्वपूर्ण खेलाडी हुन् । नेपालमा आयोजना हुनै पाँचौ साफका लागि उनी अहिले पूर्ण रुपमा तयार रहेको बताइएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा भुटानलाई पराजित गर्दै सुखद सुरुवात गर्ने दाउमा रहेको नेपालको नजर साबित्रामा छ । खेल विराटनगरस्थित शहिद रंगशालामा नेपाली समय अनुसार दिउँसो ३ बजे सुरु हुनेछ ।
सन् २०१४ मा पाकिस्तानमा आयोजना भएको तेस्रो संस्करणको साफ च्याम्पियनसिपबाट साबित्राले राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् । उनले उक्त प्रतियोगितामा भुटानविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरिन् । डेब्यु खेलमा नै भुटानविरुद्ध एक गोल गर्दै आफ्नो अन्तर्राष्ट्रिय गोल यात्रा सुरु गरिन् ।

त्यसपछि २०१६ मा भारतका आयोजना भएको चौंथो संस्करणको साफ च्याम्पियनसिपमा सावित्राले ह्याट्रिक नै गरिन् । समूह ‘ए’मा रहेको नेपालले भुटानविरुद्ध आफ्नो पहिलो खेल खेलेको थियो । जुन खेल साबित्राका लागि भुटानविरुद्ध व्यक्तिगत दोस्रो खेल थियो ।
सोहि खेलमा साबित्राले दोहोरो ह्याट्रिक प्रहार गर्दै सनसनी मच्चाइन् । सोही दोहोरो ह्याट्रिक पछि उनी गोल मसिनका उपनामले चिनिन थालीन् । भुटानविरुद्धको खेलमा नेपालले ८-० ले जित निकाल्दा साबित्राले पाँचौ मिनेटमा नै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् ।
त्यस्तै नवौं मिनेट, २३ मिनेट, ३५ मिनेट, ७२ मिनेट र ७७ मिनेटमा गाले गर्दै आफ्नो दोहोरो ह्याट्रिक पुरागरिन् । उक्त च्याम्पियनसिपको तीन खेलमा ११ गोल गर्दै प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी बनीन् ।

१७ फेब्रुअरी २०१६, मा मलेसियासँग काठमाडौंमा भएको खेलमा उनले १ गोल गरेकी थिइन् । उनको गोलसँगै नेपाली महिला टिमले पहिलोपटक मलेसिया महिला टिमलाई हराएर एक नयाँ इतिहास रचेको थियो । साबित्राले हाल सम्म नेपालका लागि २३ खेल खेल्दै २२ गोल गरि सकेकी छिन् ।
टिममा सावित्रा भण्डारीसँगै अनिता बस्नेतले नेपालको अग्रपंक्तिमा सम्हाल्ने छन् । जसले विभिन्न अन्तराष्ट्रिय प्रतियोगिताको अनुभवसमेत लिइसकेका छन् । त्यस्तै मञ्जली योञ्जन, निरु थापा, दिपा राई लगायतका खेलाडी पनि नेपालका लागि मुख्य हतियार हुन् । यसपाली यी उत्कृष्ट खेलाडीको सहारामा नेपालले उपाधी उचाल्ने विश्वास लिइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४